शिखर वार्ताका लागि ट्रम्प–किम सिंगापुरमा

सिंगापुर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । उत्तर कोरियाली नेता किम आफ्नो टोलीसहित सिंगापुर पुगेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्प एयर फोर्स वानमार्फत सिंगापुर पुगेका हुन् ।

ट्रम्प र किमबीचको शिखरवार्ता कुनै पनि उत्तर कोरियाली नेतासँग बहालवाला अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको पहिलो औपचारिक वार्ता हुनेछ । दुई नेताबीचको शिखरवार्ता मंगलबार (भोलि) सिंगापुरका सेनटोसा द्वीपमा रहेको स्टार होटलमा हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई शान्ति स्थापनाका लागि ‘एकपटकको प्रयास’को संज्ञा दिँदै यसअघि दुवै राष्ट्र अज्ञात स्थानमा रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले किमसँगको शिखर वार्तापछि उत्तर कोरियाले परमाणु हतियार परित्याग गर्ने विश्वास व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि आइतबार सिंगापुर आइपुगेका उत्तर कोरियाली नेता किम जोङ उनलाई स्वागत गर्दै सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णन् । वार्ताका लागि ट्रम्प पनि आइतबारै सिंगापुर पुगेका छन् । तस्बिर : एपी÷रासस

दुई नेताबीच पछिल्ला १८ महिनाको अवधिमा उतारचढावपूर्ण सम्बन्ध रहँदै शिखर वार्तासम्म आइपुगेको हो । दुवै नेताहरू सन् २०१७ भरि नै अपमानजनक शब्द प्रयोग गर्दै एक अर्कामाथि आणविक हमलाको धम्की दिइरहेका थिए ।

तर, सन् २०१८ को सुरुवातसँगै दक्षिण कोरियासँग उत्तरले सुरु गरेको सम्बन्ध सुधारको प्रयत्नसँगै अमेरिकासँग पनि आमनेसामुने वार्ताको वातावरण बनेको हो । वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुर पुग्दा त्यहाँका विदेशमन्त्री भिभियन बालाकृष्णले स्वागत गरेका थिए ।

त्यसलगत्तै सिंगापुरका प्रधानमन्त्री लि सीएन लुंगसँग भेट गरेका थिए । शिखरवार्ताअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि लिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

किम जोङ–उन तीनवटा विमानसहित सिंगापुर पुगेका थिए । विश्लेषकहरूले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता रद्द गरेपछि किमले पुनः वार्ताको वातावरण तयार पारेर संसारलाई आफ्नो नेतृत्व क्षमताको परिचय दिएको टिप्पणी गरेका छन् ।

कतिपयले भने किमले परमाणु हतियार परित्याग नगर्ने बताएका छन् । विश्लेषकले अमेरिकासहित कोरियाली प्रायद्वीपमा सबै शक्तिले हतियार परित्याग नगरेसम्म किमले पनि हतियार नछाड्ने उल्लेख गरेका छन् । उनले हाल आएर आफ्नो देशको अर्थव्यवस्थाको सुदृढीकरण र अन्तर्राष्ट्रिय लगानीका लागि वातावरण बनाउन चाहेको उल्लेख गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले २४ मे २०१८ मा किमलाई पत्र लेखेरै शिखर वार्ता रद्द गरेको जानकारी दिएका थिए ।

तर, त्यसको एक दिनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग उत्तर कोरियाली नेता किमले भेट गरेको केही घण्टामै ट्रम्पले पुनः निर्धारित मितिमा नै वार्ता गर्ने बताएका थिए ।

खर्च १ करोड ५० लाख डलर

अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर वार्ताका लागि १ करोड ५० लाख डलर खर्च हुने भएको छ । सिंगापुरका प्रधानमन्त्री लुंगले शिखर वार्ताका लागि हुने यो खर्चको आधा त सुरक्षा व्यवस्थाका लागि मात्रै हुने बताए ।

लिले सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि सो खर्च बेहोर्नु उचित भएको बताए । उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व नै सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो ।वासिंगटनले यो वार्तामा परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने आशा गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको वार्ताको परिणाम आफूले १ मिनेटभित्रै थाहा पाउने बताएका छन् ।