गुट व्यवस्थापनमा पौडेल–सिटौला

महेश्वर गौतम / काठमाडौं

१३औं महाधिवेशनका बेला फरकफरक गुटबाट सभापतिमा उम्मेदवारी दिएका नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यतिबेला गुट व्यवस्थापनका पक्षमा उभिएका छन् ।

भिन्न कित्तामा उभिएका वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला पार्टी कमजोर बनेपछि एकै मञ्चमा देखिँदै आएका छन् । सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाल विद्यार्थी संघ काठमाडौंले गरेको ‘अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा नेताद्वयले कार्यकर्ताबाट आन्तरिक एकताका लागि दबाब आएको खुलाए ।

पौडेलले भने, ‘अब पार्टीलाई पुरानो अवस्थामा पु¥याएर हुँदैन, नयाँ अवस्थाअनुसार लैजान म तयार छु ।’ सिटौलाले चाकरी गर्नेहरूको समूहले कांग्रेसलाई धरापमा पारेको टिप्पणी गर्दै भने, ‘अब नयाँ शिराबाट जानुपर्छ ।’

नेतृत्व, नीति, रणनीति र व्यवहारमा पार्टीमा परिवर्तन आवश्यक रहेको बताएका सिटौलाले थपे, ‘बुद्धिजीवीहरूबाट समेत पार्टीलाई बलियो बनाउने दिशामा धेरै राय लिएको छु, सबैको चिन्ता पार्टीलाई कसरी चाकरी प्रवृत्तिबाट मुक्त गराउने भन्नेमा लागेको छु ।’ युवा नेता गगन थापाले गएको महाधिवेशनमा फरक रूपमा उम्मेदवारी घोषणा गरेकै स्थानमा आन्तरिक एकताका पक्षमा यो कार्यक्रम भएको बताए ।

‘जहाँबाट कृष्ण दाइले सभापति र मैले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका थियौं, त्यहीं आज एक ठाउँ उभिएका छौं, यो सामान्य कुरा होइन, पार्टीको आवश्यकताले सबैलाई एक ठाउँ ल्याएको छ, यसले इतिहास लेख्छ,’ थापाले भने ।

थापाको विचरालाई इंगित गर्दै पौडेलले भने शंका व्यक्त गरे । कार्यक्रममा नेताहरू एक भएको सन्देश दिनका लागि कार्यकर्ताहरूले उठेर हात समाउन गरेको आग्रहमा समेत पौडेलले आनाकानी गरेका थिए ।

‘१३औं महाधिवेशनका बेला भएको गल्तीको परिणाम अहिले पार्टीले भोगिरहेको छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भन्छन्, मलाई अझै शंका छ, त्यही भएर उठ्न मन लागेन,’ पौडेलले व्यंग्य गरे ।

कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिको नेतृत्व शैली गलत भएको भन्दै आक्रोश पोखे । पार्टी विधिसम्मत तरिकाबाट नचलेको भन्दै विधि स्थापित गर्ने बेला आएको उनको तर्क थियो ।

सिंहले दुई कम्युनिस्ट शक्तिहरू एक भएको अवस्थामा पार्टीभित्र चुनौती थपिएको धारणा राख्दै कांग्रेसको सुधार नेताहरूबाटै हुनुपर्ने जिकिर गरे । ‘दुई कम्युनिस्ट शक्तिहरू मिले, हामी यही तरिकाले उनीहरूसँग लड्न सक्दैनौं, अब कांग्रेस सुधार्न नेताहरू नै कस्सिनुपर्छ,’ सिंहले थपे, ‘यसको विकल्प छैन, नेताले शैली र विधि स्थापित गराउने हो ।’

सरकारबारे टिप्पणी गर्दै युवा नेता थापाले लोकतान्त्रिक गणतन्त्र नेपालको संघीयस्वरूपमा वर्तमान सरकार र सरकार नेतृत्वबाटै खतरा देखा पर्न थालेको बताए ।

उनले संघीय संरचनाविरुद्ध पूर्वराजा, चित्रबहादुर केसी तथा पुष्पकमल दाहालबाट नभएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा भएको बताए ।

कार्यक्रममा नेताहरू अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, विद्यार्थी नेताहरू कुन्दनराज काफ्ले, दीपक भट्टराई, नेविसंघ काठमाडौं सभापति मनोज वैद्यसहितले आन्तरिक एकताका पक्षमा लाग्न नेताहरूलाई सुझाव दिए ।

गएको महाधिवेशनका बेला दोस्रो चरणको निर्वाचनमा भने सिटौला समूहले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको थियो । देउवालाई सहयोग गरेका नेता केबी गुरुङले पनि देउवालाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।