एक खेलाडीमा टिकेको पोल्यान्ड

एजेन्सी / मस्को

पोल्यान्डलाई वान म्यान टिमका रूपमा लिइन्छ । यसको पछाडि कारण छन् । उदाहरणका लागि फिफा वल्र्ड कप छनोट चरणमा पोल्यान्डले २८ गोल गरेको थियो । जसमध्ये १६ गोल स्टार रोबर्टाे लेवान्डोस्कीले गरेका थिए । २९ वर्षीय रोबर्टाेले राष्ट्रिय टिमबाट ९४ खेलममा ५३ गोल गरेका छन् । उनी पोल्यान्डको सर्वाधिक गोलकर्ता पनि हुन् । फिफा विश्वकप २०१८ मा पोल्यान्डले उनीसँग ठूलो आशा राखेको छ ।

पछिल्लो तीन सिजनबाट विश्वको उत्कृष्ट स्ट्राइकर छनोट गर्ने हो भने लेवान्डोस्कीबिनाको सूची पूर्ण हुनेछैन । बार्यन म्युनिखका स्ट्राइकरले सन् २०१७÷०१८ को सिजनमा टिमका लागि ४० भन्दा बढी गोल गरेका छन् । जर्मनीको बुन्डेस लिगामा २९ गोलका साथ उनी टप स्कोर रहेका छन् ।

त्यसैले पनि हुन सक्छ, उनलाई मानिसहरूले गोल्डेन बुटका लागि ‘ड्राक हर्क’का रूपमा व्याख्या गर्छन् । उनकै प्रदर्शनका कारण पोल्यान्ड अन्तिम १६ मा पुग्ने अड्कलबाजी गरिरहेका छन् । विश्वकपका समयमा आफ्नो समर्थक टिमको विषयमा बढाइचढाइ कुरा गर्नुलाई सामान्य रूपमा लिइन्छ । तर, उनको विषयमा बढाइचढाइ गफ गर्नुपर्ने देखिँदैन । पछिल्ला केही सिजनमा उनको रेकर्डलाई अध्ययन गर्दा उनीबाट गरिएको भरोसा खेर जाने देखिँदैन ।

२९ वर्षीय यी खेलाडी खुट्टा र टाउँकोको माध्यमबाट गोल प्रहार गर्न उत्तिकै सिपालु मानिन्छन् । त्यसैले पोल्यान्डको खातामा एउटा मात्र स्टार छ, जसको जादुमा टिम टिकेको छ भन्दा फरक पर्दैन ।

विश्वकपमा पोल्यान्ड

अहिलेसम्म सहभागी   ७ पटक

पहिलो पटक सहभागी  १९३८

तेस्रो स्थान    १९,७४,१९,८२