एपीएफ च्याम्पियन

राजधानी समाचारदाता

काठमाडौं

विभागीय नेपाल एपिएफ क्लब दोस्रो संस्करणको एक्सेलसिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा  अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजत गर्दै प्रधानमन्त्री कपको च्याम्पियन बन्न सफल भएको हो । आर्मीले दिएको २ सय १० रनको मध्यम लक्ष्य एपिएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । एपिएफको जितमा अनिल कुमार साह र प्रदीप ऐरीले समान ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

रामो शुरुवात गरेको एपिएफका ओपनर सुवास खकुरेल व्यक्तिगत १२ रनमा रिटायर्ड हर्ड भएर मैदान बाहिरिएपछि प्रदीपले अनिललाई राम्रो साथ दिएका थिए । उनीहरुले पहिलो विकेटको लागि १ सय ३८ रनको साझेदारी गर्दै टिमको जितको आधार खडा गरेका थिए । प्रदीप ऐरी ६३ रनमा आउट भए । त्यसपछि थप ११ रन जोड्दा एपिएफले दोस्रो विकेटको रुपमा अनिल कुमार साहलाई गुमायो । राम्रो इनिङ्स खेलेका अनिलले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । पृथु बास्कोटाले ३२ रन बनाए  । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले १५ रन जोडे । करण केसी १५ तथा सुवास खकुरेल १४ रनमा नटआउट रहे । आर्मीका सोमपाल कामीले ३ विकेट लिए । विक्रम सोबले १ विकेट लिए ।

प्रधानमन्त्री कप च्याम्पियन एपिएफ टोली उपाधिसहित । तस्वीरः सत्यन श्रेष्ठ

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ९ रनको मध्यम योगफल तयार पारेको थियो । सुस्त शुरुवात गरेको आर्मीले २१ रन जोड्दा पहिलो विकेटको रुपमा सागर पुनलाई ५ रनमा गुमाएको थियो । सागर करण केसीको बलमा एलबिडब्लुको शिकार भए ।

अर्का ओपनर अनिल मण्डललाई १९ रनमा गुमाएपछि आर्मी केही धर्मराएको थियो । टिमको स्कोर ५६ रन हुदा आर्मीले महत्वपूर्ण ४ विकेट गुमाउदा आर्मी पुरै दवावमा आएको थियो । राजु रिजाल ६ तथा नरेश बुढाएरलाई २० रनमा आउट भए । त्यसपछि क्रिजमा आएका भीम सार्की र राजेश पुलामी मगरले आर्मीको इनिङ्स सम्हालेका थिए । उनले पाचौं विकेटका लागि राजेश पुलामी मगरसँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एपिएफ कप्तान बसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि भिमले ४८ बलमा दुई चौका र दुई छक्का हान्दै ४५ रन बनाए ।

भीम आउट भएपछि व्यक्तिगत २७ रनमा राजेश पुलामी मगर पनि आउट भएपछि आर्मी ४१ औं ओभरमा १ सय ३० रन ६ विकेटको नाजुक स्थितीमा पुगेको थियो ।  कप्तान बिनोद भण्डारी र सोमपाल कामीले सातौं विकेटका लागि ५७ रनको साझेदारी गरेपछि आर्मी दुई सय रन नजिक पुगेको थियो । करण केसीको बलमा पवन सर्राफले १४ रनको व्यक्तिगत स्कोरमा जीवनदान पाएपछि भण्डारीले आक्रमक इनिङ्स खेल्दै २५ बलमा चार चौका र १ छक्काको मद्दतमा ३५ रन जोड्न सफल भए । सोमपालले दुई छक्का र एक चौका प्रहार गर्दै ३६ रन बनाए । एपिएफका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । कप्तान बसन्त रेग्मी र भुवन कार्कीले २ विकेट हात पार्दा अमरसिंह राउटेला र पवन सर्राफले समान १ विकेट लिए । उपाधिसँगै एपिएफले २० लाख रुपैया प्राप्त ग¥यो । दोस्रो स्थानमा चित्त बुझाएको आर्मीले १०  लाख रुपैया पायो ।

आर्मीका सागर पुन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले १ लाख रुपैया प्राप्त गरे । एपिएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुसन भारी उत्कृष्ट बलर घोषित भए । उनीहरुले समान ५० हजार रुपैया पाए । प्रदेश नम्वर ४ का हरि बहादर चौहान इमर्जिङ खेलाडी घोषित भए । प्रतियोगिताको विजयी टिम तथा खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्यत्रय गंगाबहादुर थापा, शकुन्तला नगरकोटी, उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पहिलोपटक संघीय संरचनाअनुसार गत जेठ ११ गतेबाट शुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।