ब्याजदरमा बैंकर्स संघको एकाधिकार तोडियो

काठमाडौं / रास— निक्षेपको ब्याजदरमा नेपाल बैंकर्स संघको एकाधिकार तोडिएको छ । ब्याजदर निर्धारण गर्ने काम बजारको भएको भन्दै ब्याजदरमा रहेको एकधिकार आइतबार बसेको संघको बैंठकले तोड्ने निर्णय गरेको हो ।

संघको सो निर्णय सोमबारदेखि बैंकहरूले कार्यान्वयनमा ल्याएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघले यसअघि निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि नलाने गरी भद्र सहमति गरेको थियो । तर, सो सहमतिअनुसार सबै बैंकले नियम पालना नगरेकाले आफ्नै सहमति तोड्न संघ बाध्य भएको हो । संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘ब्याजदर बजारले निर्धारण गर्छ, त्यसैले खुला गरेका हौं ।’ साथै अहिले सरकारले विकास खर्च वृद्धि गरेसँगै बजारमा लगानी योग्य पुँजी (तरलता) पनि केही सहज हुन थालेकाले ब्याजदरलाई खुला छोड्नुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । बजेट पनि आएको र मौद्रिक नीति पनि आउने तयारीमा रहेकाले यस्तो अवस्थामा ब्याजदरलाई खुला छोड्नु उपयुक्त हुने ढुंगानाको तर्क छ । आइतबार सबै वाणिज्य  सीईओ तथा प्रतिनिधिबीच भएको छलफलमा ब्याज नबढाउने गरी भएको सहमतिलाई कार्टेलिङ भएको भन्ने आरोप लागेपछि पूर्वसहमति तोड्दै ब्याजदर खुला गरेको संघको भनाइ छ ।

बैंकर्स संघ पनि नियामक निकायजस्तै हुन लागेको भन्ने आरोप पनि बैंकर्स संघलाई छ । संघका सबै निर्णय मान्नैपर्छ भन्ने छैन । ब्याजदर निर्धारणमा बैंकहरू स्वतन्त्र हुन्छन् भन्नेलगायतका आवाज संघमा पटकपटक उठ्ने गरेका थिए । ब्याजदरको विषयमा बैंकर्सबीच धेरैपटक किचलो भएको थियो । सो किचलोबाट उन्मुक्ति पाउने गरी संघले ब्याजदरको सीमा खारेज गरेको जनाएको छ ।

यसअघि संघले ११ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति गरेको भए पनि गोप्य रूपमा बढी ब्याजदरमा निक्षेप तान्ने होड बैंकहरूमा चलेको थियो ।

संघले ११ प्रतिशत ब्याजदर खारेज गरेपछि एनआईसी एसिया बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याज १२ प्रतिशतमा पु¥याएको छ । यसअघि एनआईसी एसियाले ब्याजदरमा बैंकहरूबीच भएको सहमति तोड्दै ब्याजदर वृद्धि गरेको थियो । जसका कारण सो बैंकसंँग कुनै पनि कारोबार नगर्ने गरी कारबाही गरिएको थियो । सोही कारण ब्याजदर घटाएर पुनः ११ प्रतिशतमा झारेको थियो भने सीईओ लक्ष्मण रिसालले राजीनामा दिएका थिए । सिभिल बैंकले पनि सोमबार २२२ दिने मुद्दती निक्षेपमा १२ दशमलव २२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । संघले ब्याजदरसम्बन्धी सहमति खारेज गरे पनि बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्न स्वतन्त्र भएका छन् । बैंकहरूले स्वतन्त्र रूपमा ब्याजदर वृद्धि गर्न पाउने भएपछि अब ब्याजदर १३ प्रतिशत पुग्ने अध्यक्ष ढुंगानाले बताए । निक्षेपको ब्याजदरको सीमा खारेज भएसँगै अब कर्जाको ब्याजदर पनि बढ्ने भएको छ । बैंकहरूले आफूखुसी कर्जाको ब्याजदर बढाएको गुनासो ऋणीबाट पटकपटक आउने गरेको थियो । ब्याजदर खुला भए पनि कर्जा थप महँगिदै छ । अहिले बैंकहरूले पुरानो ऋणको ब्याज साढे १४ प्रतिशतसम्म पु¥याएका छन् ।

निक्षेपको ब्याज बढेपछि बैंकहरूको आधार दर बृद्धि हुने हुँदा कर्जा थप महँगो हुने भएको हो । बैंकहरूले व्याज वृद्धि गर्दा निक्षेपकर्ता लाभान्वित हुन्छन् भने ऋणीहरू थप मर्कामा पर्ने चिन्ता बढेको छ । तर, ब्याजदर करिडोर लागू भएकाले अस्वभाविक रूपमा ब्याजदर नबढ्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेले बताए ।