डेरी उद्योगमा कृषिमन्त्रीको छापा, उपभोक्तामाथि खेलबाड गर्ने उद्योगमा सिलबन्दी

प्रेमबहादुर चन्द

काठमाडौं

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चत्रपाणि खनालले काठमाडौंका डेरी उद्योगमा छापा मारेका छन् । सोमबार बिहान राज्यमन्त्री रामकुमारी चौधरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकलगायतका टोलीको संयोजकत्व गर्दै काठमाडौंका विभिन्न डेरी उद्योगमा छापा मारेका हुन् । औद्योगिक क्षेत्रभित्र रहेका आधुनिक डेरी प्रोडक्ट लि. सामूहिक कृषक लिमिटेलको सुलभ दूध नामक डेरी, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्रबाहिरको पुष्प डेरी फर्ममा मन्त्री खनाल नेतृत्वको टोलीले अनुमगन गरेको हो ।

अनुमगनका क्रममा डेरी उद्योग सञ्चालकले उपभोक्ताको स्वास्थमाथि खेलबाड गरेको पाइएको थियो । डेरी उद्योगीले दूध बनाउनमा म्याद नखुलेको पाउडर प्रयोग गर्ने गरेको पाइएको हो । त्यस्तै, दूध उत्पादन प्रणाली अवैज्ञानिक भएको र उत्पादन स्थल अत्यन्त फोहोरसमेत रहेको पाइएको हो । मन्त्री खनालले अनुमगनका क्रममा प्रतिक्रिया दिँदै दूध उत्पादन स्थलमा डेरी उद्योगीले सरसफाइमा ध्यान नदिएको बताए । त्यस्तै, आधुनिक डेरी प्रोडक्टले असल उत्पादन प्रणाली प्रयोग नगरेको समेत अनुमगनमा पाइएको हो । दूधजस्तो संवेदनशील पदार्थको उत्पादनमा डेरीले पर्याप्त ध्यान दिन नसकेको अुनगमन टोलीको ठहर छ ।

अनुमगनका क्रममा मन्त्री खनालले खाद्य सम्प्रभुता ऐन अन्तिम अवस्थामा जाँदै गर्दा जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको बताए । ‘सरसफाइमा ध्यान दिन सकिएको छैन । लेबल नभएको पाउडर प्रयोग भइरहेको छ । उत्पादन र म्याद सकिएको मितिसमेत उल्लेख नगरेको पाउडरको प्रयोग भइरहेको छ’ उनले भने, ‘यो जनताको स्वास्थमाथि भइरहेको खेलबाड नै हो, ।’

मापदण्ड पूरा नगरेका डेरीको सम्बन्धमा गम्भीर छलफल गरिने र अहिलेका नियमलाई प्रभावकारी बनाएर बेथिति नियन्त्रण गरिने मन्त्री खनालको  प्रतिबद्धता

मापदण्ड पूरा नगर्ने उद्योगका चारवटा गोदाममा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले आधुनिक डेरीका तीनवटा गोदाम र पुष्प डेरीको एक गोदाम गरी चारवटा गोदाममा सिलबन्दी गरिएको बताए । ‘चारवटा पाउडर गोदाममा सिलबन्दी गरेका छौं’ महानिर्देशक कर्णले राजधानीसँग भने, ‘पाउडरका नमुनासमेत संकलन गरेर ल्याएका छौं परीक्षण गरेर आवश्यक कारबाही अगाडि बढाउनेछौं ।’

त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले डेरी क्षेत्रमा व्यापक हेलचेक्रयाइँ रहेको र अहिलेसम्म नियमनकारी निकाय मौन बस्नु दुःखद कुरा रहेको बताए । ‘यो हेर्दा पूरै सिलगर्ने अवस्था देखिएको छ’ उनले भने, ‘कहीं न कहीं नियमनकारी निकाय चुकेको छ र त्यसको पनि कडाइका साथ अनुगमन गर्छौं ।’ त्यस्तै, उनले डेरी उद्योगको क्षेत्रमा व्यापक कैफियत रहेको भन्दै डेरी उद्योगमा देखिएको कैफियतलाई मन्त्रीपरिषद्मा प्रस्ताव गरी प्रधानमन्त्रीसँग कुरा गरिने बताए । कुनै पनि मापदण्ड पूरा नगरेका यस्ता डेरीलाई के गर्ने भन्ने विषयमा गम्भीर छलफल गरिने र अहिलेका नियमलाई प्रभावकारी बनाएर तथा थप नियम बनाएर भए पनि यस्तो बेथितिलाई नियन्त्रण गरिने मन्त्रीले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खनालले सरकारको हातहतमा चलेको दुग्ध विकास संस्थान डीडीसीको समेत दुर्दशा रहेको प्रतिक्रिया दिए । विराटनगरमा अनुमगन गर्दा त्यहाँ बेथिति रहेको पाइएको र त्यहाँभन्दा काठमाडौंमा केही सुधार गर्न खोजेको बताए ।

अनुमगनका क्रममा शंकास्पद लागेका दूधका ३० वटा नमुनासमेत संकलन गरेको छ । नमुना संकलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्णले ३० वटै नमुनाको परीक्षण गरी विश्लेषण भइरहेको बताए । यसअघि मन्त्री खनालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरी व्यापारीहरूको वर्गीकरण गरेर कारबाही प्रक्रिया अघि बढाएका छन् ।

आरके ज्वेलर्समा छापा

३८ क्विन्टल सुन तस्करी प्रकरणको थप छानबिनको क्रममा रहेको सरकारले काठमाडौंमा रहेको आरके ज्वेलर्समा छापा मारेको छ । सुन तस्कारी प्रकरणको छानबिन गर्न गठन भएको विशेष अनुसन्धान समितिले काठमाडौंको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा सोमबार छापा मारेको हो ।

विशेष अनुसन्धान समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले दुवै पसलबाट ठूलो परिणाममा सुन बरामद गरेको अुनगमनमा सहभागी एक अधिकारीले बताए । सो ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।