झडपमा परी १० सैनिकको मृत्यु

कुन्दुज / एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ई जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतंककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् भने अन्य पाँच घाइते भएका छन् । सो प्रान्तका सरकारी अधिकारीले सोमबार सो जानकारी दिएका छन् । कला ई जालको आक टिपा इलाकामा रहेको सुरक्षा जाँच चौकीमा सोमबार बिहान सबेरै भएको आक्रमणपछि सुरक्षा अधिकारी र तालिवान आतंककारीबीच झडपमा परी १० सैनिकको ज्यान जानुको साथै अन्य पाँच जना घाइते भएका थिए ।

प्रान्तीय राजधानी कुन्दुज सहरको प्रान्तीय परिषद्का सदस्य सेयाद असादुल्लाह सदातले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । बाघलान र तखार प्रान्तको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा केही महिनायता सरकारी सुरक्षाबलसँग झडप गर्दै आएका छन् । यसैबीच, प्राप्त एक अर्को समाचारअनुसार अफगानिस्तानको गजनी प्रान्तमा सडक किनारमा राखिएको एउटा बम सर्वसाधारणको सवारीसाधनसँग ठोक्किएको छ । सो घटनापछि नागरिक हताहतको आशंका गरिएको छ ।