ऐतिहासिक ट्रम्प–किम शिखर वार्ता आज, केसीएनएसले भन्यो– यो बदलिँदो युगको सुरुवात हो

एजेन्सी  / सिंगापुर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको ऐतिहासिक शिखर बैठक आज (मंगलबार) सिंगापुरमा हुँदै छ । ट्रम्प र किमबीचको शिखरवार्ता सिंगापुरका सेनटोसा द्वीपमा रहेको होटल कापेल्लोमा मंगलबार बिहान स्थानीय समयानुसार ९ बजे हुन लागेको हो । मंगलबार हुने यो शिखर वार्ता कुनै पनि अमेरिकी बहालवाला राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेट गरेको पहिलो अवसर हुनेछ । यो शिखर वार्ताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । दुवै देशका नेता शिखर वार्ताका लागि आइतबार नै सिंगापुर पुगिसकेका छन् ।

अमेरिकाले यो वार्ताका लागि उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्नुपर्ने अडान राख्दै आएको थियो । सोहीअनुसार उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम स्थगित गरिसकेको छ ।

उता, उत्तर कोरियाले भने वार्तामा उठाउने विषय हालसम्म पनि प्रस्ट भइसकेको थिएन । तर, उत्तर कोरियाले सोमबार मात्रै वार्ताका एजेन्डासमेत तय गरेको छ । उत्तरले ट्रम्पसँगको शिखर वार्तामा ‘पूर्ण रूपमा शान्ति स्थापना गर्ने तरिका’का विषयमा ट्रम्पसँग छलफल गर्नेछ । किमले पुरै संसारले यो वार्तालाई गम्भीरतापूर्वक हेरिरहेको उल्लेख गरेका छन् भने ट्रम्पले यो शिखर सम्मेलनले सकारात्मक परिणाम दिने अपेक्षा गरिएको उल्लेख गरेका छन् । उत्तर कोरियाको सरकारी समाचारपत्रमा प्रकाशित सम्पादकीयमा समेत यो शिखर बैठकमा अमेरिकासँग सामान्य सम्बन्ध स्थापित गर्ने विषयमा छलफल हुने उल्लेख गरेको छ ।

सरकारी समाचारपत्र ‘रोडोंग सिनमुन’ले आफ्नो सम्पादकीयमा प्योङयाङले अमेरिकासँग सम्बन्ध सुधारको दिशामा काम गर्ने उल्लेख गरेको छ । सम्पादकीयमा भनिएको छ, ‘भलै कुनै देशसँग हाम्रो सम्बन्ध पहिलेदेखि नै खराब रहँदै आएको छ, तर हाम्रो मान्यता भनेको त्यो देशले हाम्रो स्वतन्त्रताको सम्मान गर्छ भने वार्ताका माध्यमबाट त्यो देशसँगको सम्बन्ध सामान्य बनाउने कुरामा हाम्रो विश्वास छ ।’

यस्तै, उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेको वक्तव्यमा दुवै देशले कोरियाली प्रायद्वीपमा निश्चित र लामो समयसम्म स्थापित हुने शान्ति प्रक्रियाका बारेमा कुराकानी हुने उल्लेख गरेको छ । यस्तै, कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने र अन्य साझा मुद्दामा समेत छलफल हुने जनाएको छ । केसीएनएसले यो बदलिँदो युगको सुरुवात भएको उल्लेख गरेको छ ।

बीबीसीका उत्तर अमेरिकी सम्पादक जोन सोपेलले आज हामी जुन वार्ताको पर्खाइमा छौं, त्यो पारम्परिक राजनीतिको बाटोबाट कहिल्यै पनि सम्भव नहुने बताउँछन् ।

उनी भन्छन्, ‘हामी यहाँसम्म पुग्नुमा पनि राष्ट्रपति ट्रम्पले परम्परागत कूटनीतिक तरिकालाई तोडेर नयाँ बाटो अपनाएकाले नै सम्भव भएको हो ।’ जोनले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि कुनै तयारी नगरेको पनि बताएका छन् ।

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण कसरी हुन्छ र कुन प्रक्रियाको पालना गरिनेछ भन्ने अहिलेसम्म तय भइसकेको छैन । यस्तै, यसको बदलामा अमेरिकाले उत्तर कोरियामाथि लगाएको आर्थिक प्रतिबन्ध कहिले हट्छ र उसको सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ भन्ने पनि जटिल विषय रहेको छ ।

यद्यपि, यो वार्ताको प्रक्रियालाई सकारात्मक रूपमा लिइएको छ । सिंगापुरमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार बिहान मात्रै ट्वीट गर्दै यो शिखरवार्तालाई लिएर आफू धेरै उत्साहित बनेको बताएका छन् । सिंगापुरमा हुने यो वार्तालाई लिएर विश्वभरका विभिन्न सञ्चारमाध्यम सिंगापुर पुगेका छन् । ती सञ्चारमाध्यमले किम र ट्रम्प कहाँ बसे भन्नेदेखि सिंगापुरका नेताहरूसँगको भेटसम्मलाई कैद गर्न भ्याएका थिए ।

सकारात्मक प्रयास : विश्व समुदाय

यसैबीच, सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाका शीर्ष नेताहरूबीचको यो शिखर वार्तालाई सकारात्मक प्रयासको रूपमा विश्व समुदायले प्रतिक्रिया दिएका छन् । विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रूपमा आÏना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरूको ठहर छ ।

यस वार्ताले कोरियाली प्रायद्वीप, एसिया तथा यति मात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस् भन्ने कामना पनि विश्वका नेता, विभिन्न संघसंस्था र देशले गरेका छन् ।