मछिनो झारको उद्योगबाट आम्दानी गर्दै, स्थानीयवासीलाई गाउँमै रोजगारी दिँदै (फोटो फिचरसहित )

युवराज रोइला

खोटाङ

आजभोली गाउँमा उमेर पुगेका युवा भेट्न मुस्कील छ । युवा गाउँमा नहुँदा दुख विमार पर्दा झन समस्या । आयआर्जन नहुँदा युवा हस्तीहरु विभिन्न खाडी मुलुकमा जानुपर्ने बाध्यता छ । आयआर्जन नहँदा घरखर्च धान्न पनि झन उत्तिकै मात्रामा समस्या छ । उमेर पुगेका युवा हस्तीहरु गाउँमा नहँदा गाउँमा बृद्ध बृद्धा मात्र भेटिन्छन् । यस्तै पीडा खोटाङ दिप्रुङ गाउँपालिका–६ छितापोखरीका स्थानीयले वषौँसम्म भोगे ।

एक छाक टार्न पनि साहुको मुख ताक्नु पर्ने, ऋण नै खोज्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउनका लागि छितापोखरीकै स्थानीय युवा युवराज तामाङ एक्लैले गाउँमै रोजगारी सिर्जना गरी आत्मनिर्भर बन्ने उपाय खोजे । उनले २० रोपनी जग्गा मासेर सतुवा, पाखनवेद, पदमचाल, चिराईतो, लोडसल्ला आदी जडिबुटीको खेती गर्न थाले । जडिबुटीबाट मनग्य आम्दानी हुन थाल्यो । जरिबुटीबाट आम्दानी भएको पैसाले उनले गाउँघरमा पाइने मछिनो प्रसोधन गरी तेल निकाल्नका लागि दुई वटा मेसिन किने । त्यसपछि गाउँमा पहिलो पल्ट २०७१ असोज बाट मछिनो उद्योग दर्ता गरे ।

उद्योगमा आएको मछिनो तौलदै कामदारहरु

छितापोखरी लेकाली क्षेत्र अन्तरगत पर्दछ । लेकाली क्षेत्र भएका कारण त्यस क्षेत्रमा ‘मछिनो’ भन्ने एक किसिमको झार प्रसस्त मात्रामा पाइन्छ । तामाङले आफ्नो गाउँ घरमा पाइने मछिनोलाई प्रशोधन गरी तेल निकालेर बेच्ने विचार गरी ‘मछिनो’ संकलन गर्न थाले । उनले गाउँघरमा भएको ‘मछिनो’ प्रतिकेजी ३ रुपैयाँ ५० पैसाका दरले किनेर तेल निकालेर बेच्न थाले । आफ्नो घुँ¥यानमा प्रसस्त भएको ‘मछिनो’ प्रतिकेजी ३ रुपैयाँ ५० पैसाको दरमा विक्रि हुन थालेपछि गाउँका मान्छेहरुले एक छाक टार्नका लागि साहुको मुख ताक्नु पर्ने अवस्था हट्यो ।

जसले गर्दा उनको उद्योगमा ‘मछिनो’ लिएर आउनेको घुँईचो लाग्न थाल्यो । उनको उद्योगबाट गाउँकै ५ जनाले प्रत्यक्षरुपमा रोजगारी पाए । जसमध्ये प्रतिमहिना ६ हजार ३ जनालाई र ७ हजार २ जनालाई खान र बस्न सहित दिएका थिए युवराजले । उद्योग स्थापनाको महिना दिन नपुग्दै व्यापार पनि राम्रै भयो । ‘मछिनो’बाट उत्पादन भएको तेल प्रतिकेजी २५ सयका दरले तामाङ काठ्माण्डौका विभिन्न डिपोहरुमा लगेर बेच्ने गर्दथे ।

तौल गरिएको मछिनोलाई स्वयम आफैँ हिसाब खातामा चढाउँदै उद्योगपति युवराज तामाङ ।

युवराजले मछिनो उद्योग सञ्चालन गरेको २०७५ असोजमा ४ वर्ष पुग्दैछ । अहिले उनको उद्योगमा काम गर्ने कामदारको संख्यामा पनि वृद्धि भएको छ । युवराज भन्छन्, ‘शुरुमा ५ जना कामदार राखेर शुरु गरेको थिए, अहिले ९ जना कामदार छन् ।’ तामाङका अनुसार, अहिले उनको उद्योगमा छिमेकी जिल्ला भोजपुरको सुनकोशी गाउँपालिका ९ कटुन्जेका १, खोटाङको खोटेहाङ गाउँपालिका ७ बड्कादियालेका ३, दिप्रुङ गाउँपालिका ५ छितापोखरीका १ र सोही गाउँपालिका ६ छितापोखीका ४ जनाले प्रत्यक्षरुपमा रोजगारी पाइरहेका छन् । जसमध्ये युवराजले प्रतिमहिना ७ जनालाई दश हजार र २ जनालाई ११ हजार खान बस्न सहित दिएका छन् । पछिल्लो दुई वर्ष यता तामाङको मासिक कमाई पनि बढेको छ । शुरुमा ५ जना कामदारलाई दिएर ३० हजार प्रतिमहिना कमाई गरेका तामाङको अहिले ९ जना कामदारलाई दिएर प्रतिमहिना ४० देखी ५० हजार सम्म कमाई हुने गरेको छ ।

यस्तै, उनले मछिनो बाहेक जडिबुटी बाट पनि मनग्य आम्दानी हात पार्ने गरेका छन् । सतुवा, पाखनवेद, पदमचाल, चिराईतो आदी जरिबुटी बाट वार्षिक एक देखी दुई लाख सम्म कमाई गर्ने गरेको उनि बताउँछन् । तामाङ सँग माहुरीका १० वटा घार, बंगुर फाम पनि छन् । उनले मह तथा बंगुर बाट पनि बार्षिक मनग्य कमाई गर्ने गरेका छन् । पछिल्लो समय नीजी जग्गा र स्थानीय सामुदायिक वनमा पर्याप्त रहेको ‘मछिनो’ कम हुँदै गएका कारण मछिनो उद्योग सञ्चालनमा केहि समस्या हुने गरेको छ । युवराज भन्छन्, ‘शुरुशुरुमा नीजी जग्गा र स्थानीय सामुदायिक वनमा पर्याप्त ‘मछिनो’ पाइन्थ्यो तर अहिले अलिक कम पाउन थालेको छ । जसले गर्दा उद्योग सञ्चालनमा केहि समस्या भएको छ ।’ उद्योगमा प्रतिदिन ५० देखी ६० जनाले मछिनो ल्याउने गरेका छन् । शुरुशुरुमा प्रतिकेजी ३ रुपैयाँ ५० पैसाको दरले किन्ने गरेको मछिनो उनले अहिले ७ रुपैयाँ प्रतिकेजीको दरले किन्ने गरेका छन् ।

उद्योगपति युवराज तामाङको परिवार ।

एक लिटर मछिनोको तेल निकाल्न १२०० केजी मछिनो आवश्यक पर्दछ । उनको उद्योगमा दैनिक २५ सय देखी ३ हजार केजी सम्म मछिनो आउने गरेको छ । शुरुशुरुमा २५ सय प्रतिलिटरको दरले विक्रि हुने गरेको मछिनोको तेल अहिले ४ हजार प्रतिलिटरको दरले विक्रि हुने गरेको छ । मछिनोको तेल हार्डजोर्नि तथा नसा सम्वन्धी समस्या भएकाहरुका लागि विशेष उपयोगी मानिन्छ । उनको उद्योगमा खिरौले, दमार मझौ, बासथला, धिप्लुङ र छिमेकी साकेला गाउँपालिका ३ खिदीका मानिसहरुले मछिनो ल्याउने गरेका छन् । आफ्नो घुं¥यानको बनस्पति विक्रि हुँदा स्थानियवासी पनि खुसी छन् । मछिनो बिक्रि गरेर आफ्ना छोराछोरीको पढाई खर्च धान्ने गरेको स्थानीय मिनराज तामाङले बताए । उनले भने, ‘छोराछोरीको पढाई खर्चबाट बचेको केही रकम बैङ्कमा जम्मा गर्ने गरेको छु ।’

मछिनोको तौल पश्चात तौल अनुसारको पैसा दिँदै उद्योगपति युवराज तामाङ । तस्बिर : युवराज रोइला

युवराजका तीन बहिनी छोरी र तिन भाई छोरा छन् । जसमध्ये जेठी १६ वर्षिया पवित्रा ९, माईली सुमित्रा ८ र कान्छि १२ वर्षिया सुस्मीता ६ कक्षामा पढ्छन् । यस्तै, जेठो १० वर्षिय सुजन ३, माईलो ८ वर्षिय श्रीलाङ २ र कान्छो ६ वर्षिय योगदान १ कक्षामा पढ्छन् । युवराज सँग उनका ९० वर्षिय बुबा पनि छन् । युवराजलाई गाउँ घरमा समेत उद्योगपतिको नामले चिन्ने गरेका छन् । आफूलाइ उद्योगपतिको नामले परिचीत गराउन पाउँदा र उद्योगपति भनेर बोलाएको सुन्दा आफुलाई आनन्दको आभास हुने युवराज बताउँछन् । उनि भन्छन्, ‘खेर गइरहेको मछिनोलाई नगदमा बदलेर स्थानीय समुदायहरुका मानिसहरुको आर्थिक जिविकोपार्जनमा टेवा पु¥याउन पाउँदा अझ बढी सन्तुष्ट छु ।’ आफुलाई उद्योगपतिको श्रीमतीको नामले गाउँ घरमा चिनाउन पाउँदा उनकी श्रीमती रमा पनि निकै खुसी छिन् । गाउँघरमा नै रोजगारी पाएकोमा गाउँघरका सम्पूर्णमा स्थानीयमा खुसी छाएको छ । तामाङ परिवारमा पनि खुसी छाएको छ ।