सशस्त्रमा दुई डीआईजी पद खारेज, अब सबै जिल्लामा सशस्त्र प्रहरीको गुल्म

रोशन श्रेष्ठ
काठमाडौं

सरकारले सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी) को संख्या पनि घटाएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्रको डीआईजीको संख्या १८ बाट १६ मा झारेको हो ।

मन्त्रिपरिषद्को सोही बैठकले सशस्त्रको एआईजीको संख्या ६ बाट दुईमा झारेको थियो । सो बैठकले फाजिलमा रहेका पाँच एआईजीलाई फाजिलमै राख्ने र उनीहरूले अवकाश पाएपछि दरबन्दी स्वतः खारेज गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा एक र सातवटै प्रदेशमा सशस्त्र प्रहरीको बाहिनी स्थापना गर्ने निर्णयसमेत गरेको छ । हाल पाँचवटा प्रदेशमा मात्र सशस्त्रको बाहिनी छ । प्रदेश ३ र प्रदेश ५ मा भने सशस्त्रको बाहिनी छैन । सरकारले काठमाडौं उपत्यकाका लागि सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयलाई बाहिनीका रूप दिनेछ । यसअघि यो कार्यालय सशस्त्र प्रहरी बल महानगरीय कार्यालयका रूपमा चिनिन्थ्यो । एआईजी बस्ने यो कार्यालयको नेतृत्व अब डीआईजीले नै गर्नेछन् ।

सरकारको पछिल्लो निर्णयानुसार १६ डीआईजीमध्ये उपत्यका सुरक्षा कार्यालयमा एक जना र सातवटै प्रदशेमा एकएक जना गरी सात जना डीआईजी खटिनेछन् । यस्तै, आगामी दिनमा एकेडेमीको नेतृत्व पनि डीआईजीले नै गर्ने भएका छन् ।

यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालय, राष्ट्रिय सुरक्षा परिषद् र मद्दती सेवा निर्देशनालयमा एक–एक जना डीआईजी राखिने भएको छ । प्रशासन तथा मानवस्रोत विकास विभागमा दुई र कार्य तथा सीमा सुरक्षा विभागमा दुई जना डीआईजी राखेर १६ डीआईजीको व्यवस्थापन गरिने भएको छ ।

यसैगरी, सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बललाई पु¥याउने उद्देश्यले गुल्म स्थापना गर्ने निर्णय गरेको छ । हाल सशस्त्र प्रहरी बलको ३६ वटा मात्र गुल्म रहेको छ । यसैगरी, गण २७ वटा, सीमा सुरक्षा कार्यालय २१ र बीओपी ८७ वटा रहेको छ । सरकारले सीमा सुरक्षा कार्यालयलाई पनि गणमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

सरकारले तीनवटा एआईजीको पद कटौती गरेकोमा त्यसको सट्टा सशस्त्र प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक गरी एक–एकवटा विशेष पद पनि सिर्जना गरेको छ ।

यस्तै, सशस्त्रमा ३७ हजार १२४ जनशक्ति रहेकोमा पाँच घटाएर ३७ हजार ११९ जनशक्ति कायम गरिएको छ ।