जापानको अपूर्व संकट

जापानको अपूर्व संकट

हामी जब जापानको बारेमा सोच्छौं, एउटा सभ्य, सुसंस्कृत र समृद्ध समाजको छवि हाम्रो दिमागमा देखापर्छ । एउटा यस्तो सफल समाजको, जसले हरेक खालका प्रविधिमा दक्षता हासिल गरेको छ र रोबोर्ट बनाउने मामिलामा ऊ संसारमै अग्रणी स्थानमा रहेको छ । रोबोर्टले जापानी प्रविधि दक्षतालाई त देखाउँछ । यो उसको बाध्यता पनि बनिसकेको छ । जापानको जनसंख्या जुन तीव्रतापूर्वक कम भइरहेको छ, हाल त्यसलाई सबैभन्दा ठूलो आशा रोबर्टमै देखिरहेको छ । जब कि दीर्घकालीन हिसाबले त उसको समस्याको समाधान यी रोबोर्टमा पनि छैन । जापानको सांख्यिक विभागका अनुसार जापानको जनसंख्या यस समय १२ दशमलव ७ करोड छ, जुन विद्यमान दरबाट घटेको छ ।

यस शताब्दीको अन्तसम्ममा यो करिब ८ दशमलव ५ करोड रहनेछ । यसलाई हामी एउटा अर्को आँकडाबाट बुझ्न सक्छौं कि गत वर्ष जापानमा केवल ९ लाख ४६ हजार शिशु पैदा भएका थिए । जब कि भारतमा १५ दिनमै योभन्दा धेरै शिशुले जन्म लिन्छन् । सांख्यिक विभागले त यसभन्दा अगाडिको कुरा गरेको छैन तर केही विशेषज्ञले यस गणनालाई अगाडि बढाउँदा पत्ता लगाए कि यस दरबाट आगामी सन् २५०० सम्ममा त्यहाँ एक जना जापानी नागरिक पनि बच्नेछैनन् । अहिले जापानमा प्रसवयोग्य उमेरका एक महिलाले औसत १ दशमलव ४ शिशु मात्रै जन्माउँछन् । सिन्जो आबे यस औसतलाई बढाएर १ दशमलव ८ सम्म लैजान चाहन्छन् । तर विशेषज्ञको भनाइमा यसबाट समस्याको हल हुन सक्दैन । यसको एउटा ठूलो कारण के हो भने जापानमा प्रजनन गराउन सक्ने अवस्था पार गरिसकेका उमेरका जनसंख्या धेरै छन् ।

समस्याको एउटा पक्ष आर्थिक पनि हो, जापानको कार्यबल घटिरहेको छ । केही हदसम्म यसको भर्पाइ रोबोर्टबाट गरिररहेको छ । यो कोसिस पनि चलिरहेको छ कि महिलाहरू धेरै संख्यामा यस कार्यबलमा सामेल होऊन् । तर यसमा डर यो छ कि युवा महिलाहरू यदि ठूलो संख्यामा कार्यबलमा सामेल भएमा उनको प्रजनन दर झन् घट्नेछ । जापान कहिल्यै पनि एउटा खुला समाज रहेन । तमाम आर्थिक प्रगतिको बाबजुत उसले संसारभरको श्रमिकका लागि आफ्नो द्वार कहिल्यै पनि खोलेन । जनसंख्याको भारी संकटपछि विदेशी र विदेशी संस्कृतिबाट आउने नागरिकप्रति जापानको पूर्वाग्रह अहिले पनि उस्तै छ ।

एउटा सोच यो पनि हो कि यदि जापानमा यस्तो पूर्वाग्रह नभएको भए सायद त्यसबाट ती समस्याको सामना नै गर्नु पर्दैनथ्यो, जुन आज उसलाई हैरान बनाइरहेको छ । जनसंख्या विशेषज्ञको दृष्टिकोणमा जापानबाट हामी यो बुझ्न सक्छौं कि कुनै संस्कृतिद्वारा आफैंलाई एउटा भूगोलले र एक जातीयसम्म सीमित गर्ने कोसिसको परिणाम के हुन्छ ? पूर्वाग्रह भएको जापानी समाजले आफ्नो सांस्कृतिक विशिष्टतालाई अवश्य बचाएका छन्, तर अब उसको सम्भावना पनि सीमित भइरहेको छ । यो पनि सत्य हो कि जापानी संस्कृति र जापानी पहिचान बाँकी संस्कृति र पहिचानजस्तै मानव समाजको एउटा अद्भूत उपलब्धि हो, यसको संरक्षणका लागि पूरै संसार एकजुट हुनु आवश्यक छ ।

(भारतबाट प्रकाशित हिन्दूस्तानको सम्पादकीयबाट)