मनसुनसँगै विपद् सुरु

मनसुनसँगै विपद् सुरु

रत्न प्रजापति

कृषिप्रधान मुलुकमा मनसुन अनिवार्य छ । त्यसैले, देशका सबै किसान रोपाइँका लागि मनसुनको पर्खाइमा हुन्छन् । तर जब मनसुन सुरु हुन्छ, खुसी सँगसँगै त्रास र चिन्ता पनि बढ्छ । किनभने मनसुन सुरु हुनु भनेको विपद्को पनि सुरु हुनु हो । मनसुन सुरु भए सँगसँगै विशेषगरी बाढी तथा पहिरोको समस्या पनि सुरु हुने भएकाले बाढी तथा पहिरोजन्य प्राकृतिक विपद्लाई मनसुनको पर्यायका रूपमा बुझ्न सकिन्छ । हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी तथा पहिरोको विपद्को पुनरावृत्ति हुँदै आएको छ । तैपनि यस्तो विपद्को रोकथाम गर्न अथवा यस्तो विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी र पूर्वसतर्कता अपनाउने सम्बन्धमा राज्यले पहल कार्ययोजनामै सीमित रहँदै भन्नुपर्ने अवस्था छ ।

आकाशमा कालो बादल मडारिने बित्तिकै पहाडको भिरालो पाखापखेराका बासिन्दादेखि तराईका नदी तथा खोलाका तटवर्ती क्षेत्रका बासिन्दामा त्रास छाउन थालिहाल्छ । कतिखेर पहिरोले पुर्ने अथवा बाढीले बगाउने वा डुबाउने हो भनेर त्रासैत्रासमा बाँच्नुपर्छ ती क्षेत्रका बासिन्दाले । ती क्षेत्रका बासिन्दामा बर्सेनि मनसुन सुरु हुनासाथ बाढी तथा पहिरोको सम्भावना बढ्ने हुँदा त्यसबारेमा सुरक्षित रहने वा सुरक्षित स्थानमा बस्नुपर्छ भन्ने पूर्वतयारी र पूर्वसतर्कताको चेतना भए तापनि आवश्यक स्रोत र साधनको अभावले जोखिम मोलेरै यथास्थानमा बस्नुपर्ने बाध्यता पनि धेरै नागरिकलाई छ । यही बाध्यताले गर्दा बर्सेनि बर्खायाममा बाढी तथा पहिरोजस्ता प्रकोपजन्य समस्याबाट उल्लेख्य परिमाणमा मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । यस्तो क्षति न्यूनीकरणको पहिलो उपाय पूर्वतयारी र पूर्वसतर्कता भए पनि आवश्यक स्रोत साधन र उचित विकल्पको अभावले गर्दा पूर्वतयारी तथा पूर्वसतर्कताको योजना असफल बन्दै आएको छ । कहिलेकाहीं व्यावहारिक कठिनाइको कारणले गर्दा पनि उच्च जोखिमको समयमा पनि स्थानीय बासिन्दाहरू आफ्नो थातथलो छोडेर सुरक्षित स्थलमा गएर बस्ने सम्भावना कम रहँदै आएको छ । जोखिम मोलेरै बस्नुपर्ने बाध्यताले गर्दा नै बर्सेनि बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिको विवरण सञ्चारमाध्यमका लागि सनसनीपूर्ण समाचारको विषय बन्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन सक्रिय भइसकेको जनाएको छ । विभागले गत जून ८ अर्थात् २५ जेठबाट मनसुन सुरु भएको जनाएको छ । गत वर्ष १२ जूनदेखि मनसुन सुरु भएकोमा यो वर्ष चार दिनअघि नै सुरु भएको विभागले जनाएको छ । यो वर्ष ११५ दिनसम्म मनसुन सक्रिय रहने विभागले जनाएको छ । यसअनुसार यो वर्षको मनसुन असोज महिनाको तेस्रो सातासम्म कायम रहनेछ । यो पूरै अवधि हाम्रा लागि विपद् जोखिमको समय हो । यो समयमा उच्च सतर्कता र जोखिम न्यूनीकरणको पूर्वतयारी गर्न सकिएन भने ठूलो मानवीय तथा भौतिक क्षति हुने सम्भावना हुन्छ ।

विगतका वर्षहरूमा पनि मनसुन सक्रिय रहेको अवस्थामा जोखिम न्यूनीकरण तथा पूर्वसतर्कता र पूर्वतयारीको काम प्रभावकारी हुन नसक्दा बाढी तथा पहिरोजस्ता विपद्ले भयावह रूप लिएको थियो र ठूलो परिमाणमा मानवीय तथा भौतिक क्षति भएको थियो । विपद् न्यूनीकरणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको कार्य प्रभावकारी हुन नसक्दा क्षति न्यूनीकरण हुन नसकेको विश्लेषण हुँदै आएको छ । विदेशीको दान पचाउने र सरकारको बजेट सिध्याउने उद्देश्यले प्रेरित भएर काम गर्दा विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीको कार्य प्रभावकारी हुन नसकेको हो । विपद् व्यवस्थापनको जिम्मेवारी बोकेका निकायको गैरजिम्मेवारीले गर्दा विपद्को जोखिम न्यूनीकरण अथवा विपद् व्यवस्थापनको कार्य प्रभावकारीविहीन बन्दै आएको र यसैको परिणामस्वरूप मानवीय तथा भौतिक क्षतिको सनसनीपूर्ण समाचारले निरन्तरता पाउँदै आएको हो । विपद्को जोखिम न्यूनीकरणको प्रयास कमजोर हुँदा विपद्बाटै बर्सेनि औसतमा ६ सय जनाको संख्यामा मानवीय क्षति हुने गरेको सरकारी तथ्यांक छ । सरकारी तथ्यांकअनुसार यसै वर्ष पनि प्रि–मनसुनकै क्रममा जेठको तेस्रो सातासम्ममा विपद्बाट १७५ जनाको संख्यामा मानवीय क्षति भइसकेकाले मनसुन पूर्णरूपमा सक्रिय भएको अवस्थामा क्षति अझै बढ्न सक्ने हुँदा जोखिम न्यूनीकरण तथा पूर्वतयारी र पूर्वसतर्कताको कामलाई निकै प्रभावकारी ढंगमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

विकासप्रति हामी यसरी लालायित भइरह“दा हामीले विकासले निम्त्याएको विनाशलाई बेवास्ता गरेका छौं । हरेक क्षेत्रमा विकासले निम्त्याएको विनाश ओझेलमा पर्दै आएको छ । एकातिर विकासले दिएको खुसीमा हामी रमिरहेका छौं भने त्यही विकासले नजानि“दो किमिसले निम्त्याएको विनाशको असरले हामी प्रभावित र प्रताडित भइरहेका छौं

हामी विकासका भोका छौं । हाम्रा जनप्रतिनिधि, राजनीतिक दलका नेता र सरकारी उच्च पदस्थहरूको पनि समवेत् नारा विकास नै भएको छ । यसरी जनता, नेता र सरकारको पनि मुख्य एजेन्डा विकास बनेकाले पछिल्लो समय विकासको प्रयासले तीव्रता पाएको छ । तर विकासप्रति हामी यसरी लालायित भइरहँदा हामीले विकासले निम्त्याएको विनाशलाई बेवास्ता गरेका छौं । हरेक क्षेत्रमा विकासले निम्त्याएको विनाश ओझेलमा पर्दै आएको छ । एकातिर विकासले दिएको खुसीमा हामी रमिरहेका छौं भने त्यही विकासले नजानिँदो किमिसले निम्त्याएको विनाशको असरले हामी प्रभावित र प्रताडित पनि भइरहेका छौं । विकासले निम्त्याउने विनाशको न्यूनीकरणमा ध्यान नदिँदा अथवा विकासको प्रयास र विपद्को जोखिम न्यूनीकरणबीच सन्तुलन र समन्वय कायम गरी कार्य गर्न नसक्दा विपद्को जोखिम निरन्तर बढिरहेको छ । राजमार्ग निर्माणमा विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखी काम नगर्दा हामीले कति सास्ती भोग्नुपरेको छ र कति मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको छ भन्ने कुराको ज्वलन्त उदाहरणका रूपमा पृथ्वी राजमार्गलाई लिन सक्छौं । त्यो राजमार्गमा झर्ने पहिरोका कारण हामीले बर्सेनि कति पीडा र क्षति बेहोरेका छौं भन्ने कुराको हामी आफैं साक्षी छौं । त्यसैले विकास र जोखिम न्यूनीरकणबीच सन्तुलन कायम राख्नुपर्ने टड्कारो आवश्यकताप्रति सम्बन्धित सबैको ध्यान पुग्न जरुरी छ । यो वर्षको पनि मनसुन सुरु भइसकेको र विपद्को जोखिम उच्च रहेकाले सबैलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले नै आग्रह गरेको अवस्थामा विपद् व्यवस्थापन अथवा विपद् न्यूनीकरणमा सम्बद्ध अन्य सबै सरकारी तथा गैरसरकारी निकायहरूले समन्वयात्मक ढंगले कार्य गरी विपद्को जोखिम र क्षति न्यूनीकरणको प्रयास गर्नुपर्छ । क्षति न्यूनीकरणको पहिलो उपाय नै पूर्वतयारी र पूर्वसर्तकता भएकाले यसतर्फ सबैको समन्वयात्मक जोड रहनु आवश्यक छ ।

हरेक वर्ष प्रायः उही ठाउँमा विपद् दोहोरिँदै आएको सन्दर्भमा त्यस्ता ठाउँका बासिन्दालाई पूर्वसतर्कता र विपद्को जोखिम न्यूनीकरणको पूर्वतयारीका लागि सचेत मात्रै बनाउने हो भने पनि धेरै हदसम्म क्षति कम गर्न सकिन्छ । यसका लागि सम्बन्धित निकायहरूको समन्वयात्मक तदारुकता आवश्यक हुन्छ । विभाजितभन्दा एकीकृत प्रयास मजबुत हुने हुँदा विपद्को जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनसँग सम्बद्ध सबै निकायले एकीकृत प्रयास गर्ने हो भने जतिसुकै उच्च जोखिम भए पनि त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । विपद्् व्यवस्थापनमा पूर्वतयारी तथा विपद्को जोखिम न्यूनीकरणमा जोड दिने हो भने विपद््बाट हुने झन्डै ९० प्रतिशत मानवीय क्षतिलाई कम गर्न सकिने विश्लेषण हुँदै आएको छ । विपद््पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा लाग्ने खर्च विपद््को पूर्वतयारी तथा विपद्को जोखिम न्यूनीकरणमा गरिने खर्चभन्दा निकै बढी हुन्छ ।
विपद्को जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनको लागि ऐन कानुनको व्यवस्था पनि गरिएको पाइन्छ । अद्यापि दैवी प्रकोप उद्धार ऐन २०३९, विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ कार्यान्वयनमा छ भने सरकारीस्तरमा केन्द्रीयलगायत जिल्लास्तरीय दैवी प्रकोप उद्धार समितिहरू पनि कार्यरत छन् । साथै थुप्रै गैरसरकारी संस्था पनि यस क्षेत्रमा कार्यरत छन् ।

पछिल्लोपटक ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४’ पनि जारी गरिएको छ भने ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति २०७५’ को मस्यौदा पनि तयार भएको छ । यी ऐनका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्ने, अन्तरनिकायगत कार्यक्षमता र कार्यशैली प्रभावकारी बनाउने र कार्यगत एकता र समन्वयसमेत गर्दै जाने हो भने विपद्को जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ । गृह मन्त्रालयले ‘मनसुन आपतकालीन कार्ययोजना २०७५’ पनि जारी गरेको छ । वर्षायाममा चट्याङ, बाढीपहिरो र हावाहुरीजस्ता प्रकोपका कारण प्रत्येक वर्ष ठूलो जनधनको क्षति हुने गरेको, मनसुनको समयमा विभिन्न प्रकोपका कारण हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनमा कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी निकायले मनसुनपूर्व विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाई तयारी अवस्थामा रहन आवश्यक देखिएकाले विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सम्बन्धित सरोकारवाला निकायबाट प्राप्त विवरणको आधारमा ‘मनसुन आपतकालीन कार्ययोजना २०७५’ बनाइएको उक्त कार्ययोजनामा उल्लेख गरिएको छ । यो कार्ययोजना पूर्णरूपमा कार्यान्वयन भए विपद्को क्षति न्यूनीकरणमा यथेष्ट सहयोग पुग्नेछ ।