ऐतिहासिक सम्झौता

ऐतिहासिक सम्झौता

 

सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ताले विश्वमा उत्साह सञ्चार गरेको छ । परस्परविरोधी राष्ट्रका रूपमा कहलिएका अमेरिका र उत्तर कोरियाका प्रमुख एउटै मञ्चमा उपस्थित भएर हार्दिकता साटासान गर्छन् भन्नेमा केही महिना अघिसम्म धेरैले विश्वासै गरेका थिएनन् । तय भएर पनि झन्डैझन्डै तुहिएको वार्तामा निर्धारित मितिमै सहभागी भएर ट्रम्प र किमले यतिखेर विश्वलाई नै नयाँ सन्देश दिएका छन् । यसले विश्वमा शान्ति स्थापनाका लागि मार्ग प्रशस्त गरेको धेरैको अनुमान छ । वार्ताको शृंखलाले आगामी दिनमा निरन्तरता पायो भने पक्कै पनि विश्वमा शान्ति र मित्रताको नयाँ सन्देश प्रवाह हुनेमा कुनै शंका छैन ।

मंगलबार भएको वार्तामा दुई राष्ट्र प्रमुखबीच चार बुँदे सम्झौतासमेत भएको छ । सम्झौतामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका जनताको चाहनाअनुसार शान्ति तथा समृद्धिका लागि अमेरिकी र उत्तर कोरियाली नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ । त्यस्तै, कोरियाली प्रायद्वीपमा दिगो र स्थायी शान्ति स्थापना गर्न संयुक्त रूपमा प्रयास गर्ने वाक्यांशले अमेरिका र उत्तर कोरियाका राष्ट्रप्रमुख वास्तवमै शान्ति स्थापनाका लागि गम्भीर भएको प्रत्याभूति हुन्छ । दुवै राष्ट्रप्रमुखले सन् २०१८ को अप्रिल २७ मा भएको पानमुनजोम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, कोरियाली प्रायद्वीपलाई पूर्ण परमाणु निशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । युद्धबन्दी र युद्धका क्रममा बेपत्ता भएकाको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव शरीरका अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता व्यक्त गरिएको छ । अमेरिका र उत्तर कोरियाका राष्ट्रप्रमुख एउटै मञ्चमा सहभागी भएको यो पहिलो घटना हो । यी दुई शक्ति राष्ट्रले एउटै टेबलमा बसेर शान्ति स्थापनाका लागि प्रतिबद्धता जनाउनु ऐतिहासिक कदम हो । यसले वास्तवमै विश्वमा शान्ति स्थापनाका लागि नौलो पहलको आरम्भ भएको छ । सीमा जोडिएका विश्वका अरू पनि धेरै राष्ट्र छन् । तर झिनामसिना विषयले पानी बाराबारको स्थितिमा पुगेका, सानो विषयले ठूलो स्वरमा झगडा गरेर बस्नेका लागि मंगलबारको घटना आफैंमा आश्चर्यजनक मात्रै हैन, आशावादी हुने घटना पनि हो ।

युद्धबन्दी र युद्धका क्रममा बेपत्ता भएकाको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव शरीरका अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता व्यक्त गरिएको छ । अमेरिका र उत्तर कोरियाका राष्ट्रप्रमुख एउटै मञ्चमा सहभागी भएको यो पहिलो घटना हो । यी दुई शक्ति राष्ट्रले एउटै टेबलमा बसेर शान्ति स्थापनाका लागि प्रतिबद्धता जनाउनु ऐतिहासिक कदम हो । यसले वास्तवमै विश्वमा शान्ति स्थापनाका लागि नौलो पहलको आरम्भ भएको छ

वार्तामा अमेरिकाको जित भयो कि उत्तर कोरियाको ? हिसाब खोज्ने काम भयो भने परिणाम ननिस्कन सक्छ । तसर्थ यो संवाद दुवै राष्ट्रको जित हो भने दुवै राष्ट्रका लागि अवसर पनि हो । सम्झौता भएका चारबुँदे कार्यान्वयनमा दुवै राष्ट्रप्रमुखको भूमिका उत्तिकै हुन्छ । आज सहमति गर्ने तर आफैंले गरेको सहमति कार्यान्वयनमा पहल नगर्ने रोग धेरै राष्ट्रप्रमुखमा लागेको छ । अमेरिका र उत्तर कोरियाली राष्ट्रप्रमुखले पनि आफूले सम्झौता गरेका बुँदा अक्षरशः पालना गरेनन् भने आश्चर्य हुनेछैन । वार्ताको सुरुवात आफैंमा सुमधुर सम्बन्धका लागि एउटा आधार हो । आशा गरौं, दुवै राष्ट्र प्रमुखहरूले आफूले सुरु गरेको प्रयासलाई तार्किक निष्कर्षमा पु¥याउन भविष्यमा पनि इमानदारीपूर्वक पहल गर्नेछन् ।