जोशी प्रधानन्यायाधीश सिफारिस

राजधानी समाचारदाता

काठमाडौं

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा जोेशीको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि गत ३० फागुनदेखि सो पद रिक्त छ । त्यसयता जोशीले कायम मुकायम प्रधानन्यायाधीशको कार्यभार बहन गर्दै आएका छन् ।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै र कारणवश रिक्त भए एक महिनाभित्र प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसद्मा पठाउने व्यवस्था छ । संसदीय सुनुवाइ समितिबाट पारित भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ ।

संसदीय सुनुवाइ समिति गठनका लागि संसद्को दुवै सदनका सांसदको प्रतिनिधित्व हुनु आवश्यक छ । तर, संसद्को संयुक्त बैठकले संयुक्त समिति बनाउनेगरी आफ्नो नियमावली पारित गर्न सकेको छैन ।

प्रधानन्यायाधीशका लागि सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भई काम गरेका जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम न्यायपरिषद्ले पठाएको थियो । उनीहरूमध्ये वरीयताक्रममा पहिलो नम्बरमा रहेका जोशीलाई सिफारिस गरिएको हो । उनलाई उच्च नैतिक चरित्र, इमानदारी र कार्यदक्षतासमेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको परिषद् सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बताए ।

‘परिषद्बाट जोशीको नाम सिफारिस भएको छ, संसदीय समितिले अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया सुरु हुनेछ,’ मन्त्री तामाङले भने । मंगलबार बसेको परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसमेत सिफारिस गर्ने भनिए पनि यसबारे निकट भविष्यमा अर्को बैठक बसेर निर्णय गर्ने जनाइएको छ । प्रमुख आयुक्त दीप बस्नेतले अवकाश पाएपछि अख्तियार कायम मुकायमको भरमा चल्दै आएको छ । हाल नवीन घिमिरे अख्तियारको कायम मुकायम प्रमुख छन् ।