कांग्रेसका तीनवटै गुट ७ घण्टा एउटै मञ्चमा

महेश्वर गौतम / काठमाडौं

प्रमुख प्रतिपक्षी दल बनेपछि नेपाली कांग्रेसका संस्थापनसहितका तीनै गुटका शीर्ष नेताले मंगलबार एकै मञ्चमा ७ घण्टा बिताए । नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा एकै मञ्चमा लामो समय बिताएका शीर्ष नेताहरू मन्तव्यका क्रममा पालैपिच्छे एकअर्कामाथि खनिए र आरोप–प्रत्यारोपमा उत्रिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका पार्टी सभापति शेरबहादुर देउवामाथि सुरुबाट नै पार्टीलाई मनोमानी ढंगबाट चलाएको र विधि विधानलाई लत्याएको आरोप नेताहरूले लगाउँदै आएका थिए ।

त्यसैक्रममा मन्तव्य राखेका कांग्रेस महामन्त्री शशांंक कोइरालाले पहिले नै बोलेका ट्रेड युनियनका वर्तमान सभापति खिलानाथ दाहालको भनाइलाई नै लिएर ट्रेड युनियनको नेतृत्वमा कहिल्यै विवाद नभएको सन्देश दिँदै पार्टी पनि त्यसैगरी चल्नुपर्ने र जडीबुटीको सूत्र पार्टीमा पनि आवश्यक रहेको भन्दै धारणा राखे । उनले मन्तव्यका क्रममा पार्टीभित्र नेताहरूबीच तिक्तता देखापरेको र आउँदो निर्वाचनमा पार्टीका पक्षमा मत बढाउन एकता नै मूल मन्त्र रहेको भन्दै मन्तव्य सके ।

कोइरालापछि मन्तव्य राखेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले ट्रेड युनियनको नेतृत्वबाट पाठ सिकेर अघि बढ्दा पार्टी एक हुने धारणा राखे । उनले विगतको आरोप–प्रत्यारोपबाट पार्टी चल्न नसक्ने भन्दै एकताबद्ध ढंगबाट नै अघि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो मन्तव्य समापन गरे ।

निधिपछि मन्तव्यका लागि डाकिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीलाई एक बनाउने काम सभापतिको मात्रै रहेको भन्दै निधिकै धारणामा कटाक्ष गर्दै समर्थन जनाए । ‘निधिजीले भन्नुभो ट्रेड युनियनमा जस्तै सभापतिले नै कुनै गुनासो नआउनेगरी मिलाएर अघि बढ्नुपर्छ, पार्टीलाई एक बनाउने काम सभापतिकै हो, पार्टीलाई मिलाउन सभापतिको भूमिका रहन्छ, एकता उहाँकै भूमिकामा भर पर्छ, मलाई सजिलो भयो,’ सभापतिमाथि कटाक्ष गर्दै पौडेल सुरुमै खनिए ।

उनले न्याय र निष्पक्षताबाट मात्रै पार्टीभित्रको आन्तरिक एकता कायम हुने भन्दै मनोमानी ढंगबाट पार्टी सञ्चालन भइरहेको र विधि र विधानलाई सभापतिले लत्याएको समेत आरोप लगाए ।

‘पार्टीको नैतिक धरातललाई कमजोर बनाएर पार्टी एक भएको सन्देश दिन सकिँदैन, नैतिक धरातल बलियो बनाउन आचरण, चरित्र, निष्ठा र मूल्य मान्यतामा हिड्नुपर्छ,’ सभापतिमाथि नै खनिँदै पौडेलले भने ।

पौडेलपछि मन्तव्यका लागि डाकिएका कार्यक्रमका प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा पनि जवाफी शैलीमा नै प्रस्तुत भए ।

‘शेरबहादुरलाई गाली गरेर पार्टी सुध्रिन्छ ? मलाई गाली गरेर पार्टी बलियो हुन्छ ? गिरिजाबाबु र सुशीलजीसँग बोल्नसमेत सकिँदैनथ्यो, मसँग सक्नुहुन्छ, मेरोविरुद्धमा बोल्न पाइन्छ, बोल्नुस्,’ देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई जवाफ दिँदै भने ।

उनले सरकारको शैलीको विरोध गर्नुपर्ने समयमा आफ्नो विरोध गर्न नेताहरू लागेको भन्दै भने, ‘अहिले विरोध कसको गर्नुपर्ने हो ? मेरो विरोध गरेर पार्टी एक हुन्छ ? पार्टीमाथि चुनौती आएका बेला मलाई मात्र गाली गरेर हुन्छ ?’ पार्टीलाई विधानअनुसार चलाउनुप¥यो पनि भन्ने अनि भाग पनि खोज्ने भन्दै देउवाले पार्टी कि विधानअनुसार चल्ने, कि सहमतिअनुसार चल्ने भन्दै पुनः जवाफमै उत्रिए ।

‘पार्टी कि विधानअनुसार चल्छ कि सहमतिबाट, भाग पनि खोज्ने अनि विधान पनि हेर्ने ? आफूलाई आवश्यक पर्दा भाग खोज्ने नपर्दा विधान पल्टाउने ?’ आफूमाथिको आक्रमणको बचाउ गर्दै देउवाले भने ।

नेता सिटौलाले समेत मन्तव्यका क्रममा प्रतिपक्षको भूमिकामा कांग्रेस लत्रिएको भन्दै नेतृत्वको आलोचना गरे । उनले संसद्मा प्रतिपक्षले दह्रो रूपमा प्रस्तुत हुनुपर्नेमा नीति तथा कार्यक्रम र बजेटका सवालमा खुट्टा कमाएको भन्दै आलोचना गरेका थिए ।

नेता सिटौलाले नेतृत्व सामन्ती संकारबाट अघि बढेको भन्दै कांग्रेस सामन्तीहरूको पार्टी नभएको र मूल मान्छे सामन्ती हुँदा पार्टी गलत दिशामा जान सक्ने खतरा रहने धारणा राखेका थिए ।

युवा नेता गगन थापाले कांग्रेसलाई पुरानो ठाउँमा नभएर नयाँ ठाउँमा पु¥याउनुपर्ने अवस्था आएको भन्दै पार्टी सञ्चालनको तरिका बदल्नुपर्ने आवश्यकता रहेको भन्दै नेतृत्व शैलीको खण्डन गरेका थिए ।

त्यसअघि प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको नवीनताका लागि पार्टीभित्रको आन्तरिक एकता आवश्यक रहेको धारणा राखेका थिए ।

तर, सरकारका गतिविधिका विषयमा भने आफैंबीच कटाक्षमा उत्रिएका नेताहरू एकै स्वरमा उत्रिए । वरिष्ठ नेता पौडेलले संविधानमाथि जालझेल हुन थालेको र सत्ताको स्वादमा प्रदेश र स्थानीय तहको अधिकारलाई कटौती गरेर अधिकारको केन्द्रीकरण गर्नेतर्फ सरकार लागिपरेको बताए ।