बाजपेयी अस्पताल भर्ना

नयाँ दिल्ली / एजेन्सी– भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ ।

९३ वर्षीय पूर्वप्रधानमन्त्री बाजपेयी बिरामी भएको खबर पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आईका अध्यक्ष राहुल गान्धीलगायतका भारतीय नेताहरूले बाजपेयीलाई अस्पतालमा नै पुगी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री मोदी र गान्धी दुवै जना अस्पतालमा नै पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । उनीहरूले पूर्वप्रधानमन्त्री बाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

ड्रविडा मसन्नेत्र काजागाम (डीएमके) का अध्यक्ष एमके स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडुले पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन् ।

स्टालिनले बाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा उल्लेख गरेका छन् ।

स्टालिनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयी बिरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ । उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु । मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनु हुनेछ ।’

मुख्यमन्त्री नाइडुले पनि आजै बाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गरेका छन् । उनले भनेका छन्, ‘म पूर्वप्रधानमन्त्री बाजपेयीजीको स्वास्थ्यमा शीघ्र लाभ होस भनी भगवानसँग प्रार्थना गर्दछु ।’

अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले एक विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिइरहेको बताएका छन् ।

प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ । सबै मुख्य मापदण्डहरू स्थिर छन् । उहाँ संक्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ ।’ बाजपेयी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन् ।