राजपा नेपालमा ६ अध्यक्षको ‘सिन्डिकेट’

सुभाष साह

काठमाडौं

संघीय संसद्को तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को पार्टी संरचना ‘भद्रगोल’ हुँदै गइरहेको छ । पार्टी ६ जना अध्यक्ष मण्डलका सदस्यको ‘सिन्डिकेट’ का आधारमा सञ्चालन भइरहेको छ ।

राजपा नेपाल ‘भद्रगोल’ हुनुका साथै अध्यक्ष मण्डलको ‘सिन्डिकेट’का कारण उसको प्रभाव कमजोर बन्दै गइरहेको छ । जनताका बीच पार्टी कमजोर एवं प्रभावविहीन बन्न थालेको छ । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर बनेको राजापा नेपालको पार्टी सञ्चालनका लागि विधानको अभावसमेत

भएको छ ।

पूर्ण विधान नभएपछि पार्टी विधिवत् रूपमा सञ्चालन हुन सकेको छैन । पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, अनिल झा, राजकिशोर यादवको सामूहिक निर्णयका आधारमा चलेको छ ।

केन्द्रमा ६ सदस्यीय अध्यक्ष मण्डल, राजनीतिक समिति, केन्द्रीय समितिको संरचना छ । तर राजपा नेपालको प्रदेश कमिटी अझै गठन हुन सकेको छैन । जिल्ला कमिटी भए पनि ६ पार्टीका बीचमा एकीकरण हुन सकिरहेको छैन ।

जिल्ला कमिटी पनि केन्द्रजस्तै भद्रगोल अवस्थाले सञ्चालन भइरहेको छ । यसैगरी, स्थानीय तहमा रहेका कमिटीहरूका साथै भ्रातृसंगठनहरू समेत वैधानिक रूपमा सञ्चालन हुन सकिरहेको छैन ।

पार्टी एकीकरण गर्दै गर्दा नेताहरूले एक वर्षभित्रमा पार्टीको एकता महाधिवेशन गर्ने बताए पनि महाधिवेशनको मिति अझै तोक्न सकिएको छैन । तोकिएको समयमा महाधिवेशन गर्न नसकिएपछि निर्वाचन आयोगले असार मसान्तभित्र पार्टीको महाधिवेशन गर्न निर्देशन दिएको छ ।

आयोगले ३२ असारभित्रमा महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएपछि राजपा नेताहरू अलमलमा परेका छन् । आयोगको पत्र पाएपछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अध्यक्ष मण्डलका सदस्यहरूसँग छलफल गरे पनि यसबारे कुनै निर्णय हुन सकेको छैन । राजपा नेपाल पार्टी विधानको धारा २२ को उपधारा १० अनुसार एक वर्षभित्र महाधिवेशन गर्ने जनाएको थियो ।

यसैगरी, राजपा नेपालले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारीसमेत छनोट गर्न सकेको छैन । विधान अभावका कारण संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक छनोट गर्न नसकिएको राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले बताए ।

विधान निर्माणका लागि पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा बनेको समितिले विधानको मस्यौदा निर्माण गरेर पार्टीमा बुझाए पनि पार्टीले त्यसलाई पूर्णता दिन

सकेको छैन । ‘हामी विभिन्न ६ पार्टी मिलेर राजपा नेपालको निर्माण गरेका छौं, त्यसमा पनि विधानको अभावनले भद्रगोल जस्तो देखिए पनि खासमा त्यस्तो छैन’ मण्डलले भने, ‘हामी विधानलाई पूर्णता दिँदै छिट्टै महाधिवेशन गर्ने तयारीमा जुटेका छौं ।’

कमजोर भएको जस्तो देखिए पनि वास्तवमा पार्टीभित्र त्यस्तो अवस्थामा पुगिनसकेको बताउँदै उनले पार्टी आफ्नो गतिकै आधारमा सञ्चालन भइरहेको बताए । अध्यक्ष मण्डलको सामूहिक निर्णयकै आधारमा पार्टी चलिरहेको उनले बताए ।

महाधिवेशन, पार्टी सञ्चालन, संसदीय दलको नेतालगायतका विविध महŒवपूर्ण विषयमा छलफलका लागि पार्टीको राजनीतिक समिति बैठक पटकपटक बोलाइए पनि स्थगित हुँदै आएको छ । पछिल्लोपटक बसेको अध्यक्ष मण्डलको बैठकले ४ असारमा राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको छ ।

राजपा नेपालका महासचिव अजय गुप्ताले पार्टी सञ्चालन तीव्र रूपमा अगाडि बढाउन छिट्टै नै महाधिवेशनको मिति तोकिने बताए । केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीहरू दुरुस्त बनाउनका लागि ४ असारमा बस्ने राजनीतिक समिति बैठकले महŒवपूर्ण निर्णय गर्ने उनले बताए । यसैगरी, संसदीय दलतर्फ छनोट गर्नुपर्ने पदाधिकारीसमेत सोही बैठकबाट टुंगो लगाउने उनले बताए ।

‘केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचना दुरुस्त बनाउँदै तीव्रता दिन महाधिवेशनको तयारी भइरहेको छ,’ गुप्ताले भने, ‘संसदीय दलमा छनोट गर्नुपर्ने पदाधिकारी पनि छिट्टै नै टुंगो लाग्छ ।’

पार्टीको सञ्चालन ६ अध्यक्षको सामूहिक निर्णयको आधारमा सञ्चालन भए पनि भोलिका दिनमा महाधिवेशनपश्चात् सोहीअनुसार तीव्र गतिमा हुने उनले बताए । पार्टीमा धेरै कुरा निर्माणाधीन अवस्थामा रहेकाले भद्रगोल जस्तो देखिए पनि वास्तवमा त्यस्तो नभएको उनले बताए ।

संसदीय दलको नेता बन्नका लागि पार्टीका अध्यक्ष मण्डलका संयोजक ठाकुर र सदस्य राजेन्द्र महतोले बन्न खोजेका छन् । यी दुईबीचको टकराबका कारण राजपा नेपालले संसदीय दलको नेता छनोट गर्न सकेको छैन । दलको नेता छनोट गर्न अध्यक्ष मण्डलको बैठक पटकपटक बसे पनि सर्वसहमत छनोट हुन सकेको छैन ।