गोरेको सम्पत्तिमाथि छानबिन सुरु

राजधानी समाचारदाता

काठमाडौं

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चूडामणि उप्रेती (गोरे) को सम्पत्तिमाथि छानबिन सुरु गरेको छ । साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका प्रमुख अभियुक्तसहित तीन जनामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान सुरु गरेको हो ।

विभागले यसअघि सुन तस्करीबाट आर्जित सम्पत्तिमाथि अनुसन्धान गर्न सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे, अभियुक्त भुजुङ गुरुङ र डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई काठमाडौं झिकाएको थियो । काठमाडौं झिकाएपछि विभागले तीनै जनाको प्रारम्भिक बयान लिइसकेको छ । अब उनीहरूको सम्पत्ति खोजी गरिने विभागका निर्देशक विनोद लामिछानेले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत १९ वैशाखमा मोरङ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा २०४४÷०५ सालदेखि नेपालमा सुन तस्करी हुने गरेको विषय उल्लेख गरेको छ । विभागले गोरेसहित भुजुङ र छिरिङको सम्पत्ति खोजी गर्न सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को दफा (१५) बमोजिम छुट्टै समितिसमेत गठन गर्ने जनाएको छ । विभागले सुन तस्करी प्रकरणका प्रतिवादीमाथि सुरु गरेको अनुसन्धानअन्तर्गत आफन्तको सम्पत्तिलाई समेत रोक्का राख्ने तथा नियन्त्रणमा लिन सक्नेछ ।  सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को दफा (१८) को उपदफा (१) बमोजिम सम्पत्ति रोक्का राखी वा नियन्त्रणमा लिई अनुसन्धान गर्ने विभागका निर्देशक लामिछानेले बताए ।

निर्देशक लामिछानेले सुन तस्करीका प्रतिवादीका आफन्तले तस्करीबाट आर्जिक सम्पत्तिबाट लाभ पाएको देखिएमा उनीहरूमाथि समेत कारबाही हुने बताए । ‘प्रतिवादीले अपराध कर्मबाट आर्जन गरेको सम्पत्तिबाट तेस्रो पक्षले पनि जानीजानी लाभ लिएको देखिएमा उनीहरू पनि कारबाहीको दायरमा आउँछ,’ लामिछानेले भने, ‘तेस्रो पक्षका रूपमा प्रतिवादीका आफन्त, तस्करीको नेटवर्कमा रहेका अन्य व्यक्ति पनि हुन सक्छन् ।’ यद्यपि, प्रतिवादीले अपराध कर्मबाट आर्जित सम्पत्तिबारे आफन्तहरूले कुनै जानकारी नै प्राप्त नगरी अञ्जानवश त्यसको लाभग्राही बनेमा भने कारबाही नहुने कानुनी व्यवस्था छ ।

मोरङ अदालतमा तस्करीको विषमया अनुसन्धान भइरहेको छ । अदालतले पुनः फिर्ता गर्ने सर्तका तत्कालका लागि काठमाडौं जान अनुमति दिएको हो । गोरेसहित ल्याइएका तीनै जना हाल काठमाडौंको केन्द्रीय कारागारमा राखिएको प्रहरीले जनाएको छ ।