बेमौसमी तरकारी खेती हुन छाड्यो

रुद्र सुवेदी

नेपालगन्ज

जलवायुमा आएको परिवर्तनका कारण बेमौसमी खेती गर्दै आएका किसानहरू मर्कामा परेका छन् । खजुरा गाउँपालिका–२ केगाउँका तरकारी किसान गेहेन्द्रप्रसाद धितालले जलवायुमा आएको परिवर्तनको असर सिधै आफूहरूले बेहोर्नु परेको गुनासो गरे ।

उनले भने, ‘हिजोका दिनमा साउनमा रोपेर असोजमा बजारमा ल्याउने गरी बेमौसमी तरकारी खेती गरिन्थ्यो तर आज भने अवस्था बदलिएको छ । साउनको साटो भदौ अन्तिममा रोपेर कात्तिक अन्तिममा मात्र बजारमा ल्याउन सकिन्छ, त्यति बेलासम्म सबैको तरकारी तयार भइसकेको हुन्छ ।’

उनले जलवायुमा आएको परिवर्तनको कारण खेतीचक्र नै परिवर्तन भएर करिब डेढ महिना पर धकेलिएको जस्तो भएको बताए । एक बिघा आफ्नो र १० कट्ठा जमिन भाडामा लिएर साढे एक बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

उनले बर्सेनि ४÷५ लाख  आम्दानी गर्दै आएकोमा पछिल्ला दिनहरूमा भने आम्दानी बिस्तारै घट्दै गएको बताए । कपास विकास समिति खजुरामा जागिरे जीवन बिताउँदै आएका धितालले बेमौसमी तरकारी खेतीले जागिरको भन्दा पनि तेब्बर आम्दानी दिने भएपछि जागिर छाडेर तरकारी खेतीमा होमिएका उनी अहिले भने भनेको जस्तो आम्दानी हुन छाडेपछि चिन्तित छन् ।

उनले भने, ‘बदलिँदो परिस्थिति अनुसारको खेतीचक्रलाई आवश्यक पर्ने बीउबिजन उत्पादन गर्नतर्फ राज्यले ठोस कदम चाल्न जरुरी देखेको छु ।’ उनले पहिलाको जस्तो बेमौसमी समयमा खेती गर्न सकिने बीउबिजन राज्यले उत्पादन गर्नैतर्फ ध्यान दिन आवश्यक रहेको औंल्याए ।

खजुरा गाउँपालिका–३ का अर्का किसान पदमबहादुर रानाले जलवायु परिवर्तनको कारण व्यावसायिक तरकारी खेती र परम्परागत खेतीचक्र नै परिवर्तन भएका कारण आफूहरूजस्ता किसान मर्कामा परेको बताए । बेमौसमी भनेर गरेको खेती मौसमी समयमै बजारमा आउने भएपछि उनले आफूहरूको व्यावसाय धरापमा परेको बताए ।

शिक्षकको जागिर छाडेर व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका रानाले भने, ‘हिजो हामीले बैमौसमी भनेर गरिँदै आएको तरकारी खेती अहिले जलवायुमा आएको परिवर्तनका कारण मौसमी खेतीजस्तै भएको छ । हिजो रोप्ने समयमा रोपे त्यो बीउ नै नउम्रने, उम्रिए पनि फल नदिने फल दिए पनि बिरुवा हेर्दैमा रोगी जस्तो अरठ्ठो जस्तो देखिने गरेको छ ।’

उनले किसानलाई आवश्यक परेको बेला पानी नपर्ने, हावा हुरीले त्यत्तिकै नोक्सान गर्ने भएको कारण अबका दिनमा वैकल्पिक व्यवसाय खोज्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको बताए ।

उनले भने, ‘बदलिँदो परिस्थिति अनुसारको खेतीचक्रमा फिट हुने गरी बीउबिजन उत्पादन र अनुसन्धान गर्नतर्फ राज्यले ठोस योजनाका साथमा लाग्न जरुरी छ ।’ उनले तरकारी बेचेरै वर्षभरिमा ४ देखि ६ लाखसम्म आम्दानी गर्ने गरेको भए पनि पछिल्ला दिनहरूमा जलवायु परिवर्तनका कारण तरकारी खेतीमा समेत ह्रास आएका कारण आम्दानी पनि क्रमशः घट्दै गएको बताए ।

जिल्लामा रहेका थुप्रै व्यावसायिक किसानहरूका लागि जलवायुमा आएको परिवर्तनअनुसारको खेतीचक्रका लागि आवश्यक पर्ने बीउबिजन उत्पादन हुन नसकेको कारण व्यवसाय नै धरापमा रहेको छ ।

यसैबीच जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणालीका शिवनन्दन झाले आफूहरूले किसानको मागअनुसारको उनीहरूलाई वातावरणमा आएको परिवर्तनको बारेमा जानकारी दिनका लागि किसान मोबाइल एप र किसान सिम वितरण गरेको बताए ।

उनले भने, ‘किसान सिम र किसान एपमार्फत किसानलाई मौसमको बारेमा जानकारी दिने, पानी पर्ने÷नपर्ने संकेत दिने र तापक्रमको जानकारी दिने जस्ता जानकारीमूलक कुराहरू आदान–प्रदान मात्रै नभएर किसानका समस्याको बारेमा विज्ञको सल्लाहसमेत उपलब्ध गराउने गरिएको छ ।’