थ्री स्टार लालबन्दी गोल्डकपको सेमिफाइनलमा

श्रवण थापा

सर्लाही

रुस्लान थ्री स्टार क्लब सर्लाहीको लालबन्दीमा जारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लालबन्दीको राधाकृष्ण खेल मैदानमा मंगलबार भएको खेलमा थ्री स्टारले कास्की–११ को चुनौती पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा थ्री स्टार बाजी मार्न सफल भयो । कास्कीका बिमल बस्नेत र विश्व अधिकारीले गोल गर्न सकेनन् । बिमलको प्रहार दोस्रो रोजाइका गोलरक्षक पूर्ण चेम्जोङले रोक्दा विश्वको प्रहार बाहिएिको थियो । यसअघि नियमित समयको खेलमा कास्कीले २–० को अग्रता जोगाउन सकेन । थ्री स्टार खेलको १६ मिनेटभित्र नै २–० ले पछि परेको थियो । खेलको ९औं मिनेटमा कास्की ११ कासान्ता गुरुङले हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए । डी बक्सभन्दा बाहिर प्रहार गरिएको बललाई शान्ताले हेड गर्दै गोल गरेका थिए ।

१६औं मिनेटमा उत्तम गुरुङले गोल गरेपछि थ्री स्टार पहिलो हाफमै २–० ले पछि परेको थियो । तर, पछि परेको स्थितिमा पनि दबाब झेल्दै उत्कृष्ट प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा २ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमा नै विदेशी खेलाडी अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्कने संकेत दिएका थिए ।

४९औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । उच्च प्रदर्शन गरेका थ्री स्टारका मिकछेन तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

अब थ्री स्टारले सेमिफाइनलमा बिहीबार नेपाल एपीएफको सामना गर्नेछ । बुधबार झापा–११ र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।