आर्मी र एनआरटीको विजयी सुरुवात

राजधानी समाचारदाता  / काठमाडौं

त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीले राजधानीमा मंगलबारबाट सुरु भएको तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा फराकिलो जितसहित विजयी सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम खेल मैदानमा मंगलबार भएको समूह ‘ए’ को पहिलो दिनको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले सरस्वती क्लबमाथि ४–० को फराकिलो जितसहित विजयी सुरुवात ग¥यो ।

आर्मीको फराकिलो जितमा आर्मीको सिनियर टिमकै महŒवपूर्ण सदस्य बनिसकेका दिनेश हेन्जनले २ गोल गरे । सेसेहाङ आङदेङ्वे र विवेक चौधरीले समान १ गोल गरे ।

एकपक्षीय बनेको खेलमा आर्मीले पहिलो गोलका लागि भने पहिलो हाफको इन्जुरी समय कुर्नुपरेको थियो । सेसेहाङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा उच्च प्रदर्शन गरेको आर्मीले थप ३ गोल गर्दा सरस्वती निरीहजस्तै बनेको थियो । ६८औं मिनेटम आर्मीका कप्तान दिनेश हेन्जनले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनायो ।

७५औं मिनेटमा वैकल्पिक खेलाडी विवेक चौधरीले गोल गर्दै आर्मीलाई ३–० को आरामदायी स्थितिमा पु¥याएको थियो । आर्मी यतिमा मात्र सीमित भएन । खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान हेन्जनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै आर्मीको जित पक्का गरे । सरस्वतीले भने कुनै पनि समय आर्मीको पोस्टमा आक्रमण गर्न सकेन ।

मंगलबारै भएको समूह ‘ए’ को पहिलो खेलमा न्युरोड टिम एनआरटीले मच्छिन्द्र क्लबमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो । एनआरटीले खेलमा पछि परेको स्थिति उल्ट्याउँदै ३–१ को महŒवपूर्ण जित निकालेको हो । एनआरटीको जितमा साहिल केसी र विशाल क्षेत्रीले गोल गरे ।

मच्छिन्द्रका लागि शरद राईले गोल गरे । खेलमा दबाब झेले पनि खेलको १५औं मिनेटमा मच्छिन्द्रले कप्तान शरद राईको गोलबाट अग्रता लिएको थियो । मैदानको मध्यभागबाट लविस थापाले दिएको लामो पासलाई शरदले अफसाइड बिटबाट गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, मच्छिन्द्रको त्यो अग्रता १५ मिनेटभन्दा बढी टिकेन ।

३०औं मिनेटमा साहिल केसीले एनआरटीका लागि साहिलले बराबरी गोल गरे । साहिलले विशाल क्षेत्रीको पासमा गोल गरे । त्यसको २ मिनेटपछि नै विशालले गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । डी–बक्समा विपिन थापाले मिलाइदिएको पासमा विशालले गरेको शक्तिशाली प्रहार पहिलो बारमा लाग्दै गोल हुन पुगेको थियो ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको एनआरटीले इन्जुरी समयमा निर्मल घिसिङले गोल गरेपछि ३–१ को जित निकाल्न सफल भयो । प्रतियोगिताअन्र्तगत बुधबार समूह ‘डी’ का दुई खेलहरू हुनेछ । पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच दिनको १ बजेर ३० बजे खेल हुनेछ । दोस्रो खेलमा फ्रेन्डस् क्लब कुपोन्डोलले सुदूरपश्चिम फुटबल क्लबको सामना गर्नेछ । खेल ४ बजेपछि सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिता असार २१ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै, व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।

साफका लागि महिला टिमको प्रारम्भिक छनोट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आसन्न अन्डर–१५ र अन्डर–१८ महिला साफ फुटबलका लागि प्रारम्भिक महिला टोलीको छनोट गरेको छ । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छनोट समितिले यू–१५ तर्फ ३८ जना र यू–१८ मा ३६ जनाको प्रराम्भिक टोलीको छनोट गरेको छ । छनोट समितिमा सुनिल कुमार श्रेष्ठ, बालगोपाल महर्जन, संजत सिंह, गंगा गुरुङ र अस्मिता खवास रहेका छन् ।

छनोट समितिले यसअघि जिल्ला, क्षेत्र र केन्द्र हुँदै प्रारम्भिक टिमको छनोट गरेको हो । यू–१५ साफ च्याम्पियनसिप भुटानको थिम्पुमा ९ अगस्टदेखि १८ सम्म हुँदै छ । यू–१८ पनि भुटानको थिम्पुमै सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुँदै छ ।