बेल्जियम विजयी कोरिया पराजित

एजेन्सी

ब्रसेल्स

विश्वकप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा बेल्जियमको फराकिलो जित आत्मसात गर्दा एसियाली राष्ट्र दक्षिण कोरियाले भने हार बेहोरेको छ । घरेलु मैदानमा भएको खेलमा उत्कृष्ट खेलाडीहरूको साथ पाएको बेल्जियमले कोस्टारिकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो । कोस्टारिका माथिको प्राप्त ४–१ को प्रभावशाली जितले बेल्जियमले विश्वकपमा आफू प्रबल दाबेदार रहेको देखाएको छ । बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे । यस्तै, ड्राइस मर्टिन्स र मिसी बात्सुयीले समान १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने कोस्टारिकाले लिएको थियो । २४औं मिनेटमा ब्रायन रुइजले गोल गर्दै कोस्टारिकालाई सुरुवाती अग्रता दिलाए । तर, ३१औं मिनेटमा मर्टिन्सले बेल्जियमका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

५०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियमको अग्रता ३–१ मा पुग्यो । बात्सुयीले ६४औं मिनेटमा गोल गरेपछि बेल्जियमले ४–१ के प्रभावशाली जित निश्चित गरेको हो । बेल्जियम विश्वकपमा समूह ‘जी’ मा रहेको छ । बेल्जियमले पानमासँग खेल्दै विशवकपको सुरुवात गर्नेछ । यो समूहमा इंग्ल्याल्ड र ट्युनिसिया पनि छन् । यस्तै समूह ‘ई’ मा रहेको कोस्टारिकाले पहिलो खेलमा सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा ब्राजिल र स्वीट्जरल्यान्ड पनि छन् ।

सोमबार राति नै भएको अर्काे खेलमा सेनेगलले दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित ग¥यो । कोरियाका किम योङले ६७औं मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा सेनेगलले अग्रता लियो । दोस्रो हाफको इन्जुरी टाइममा कोनाटेले पेनाल्टीमार्फत सेनेगलको अग्रता दोब्बर पारेका थिए । विश्वकपमा सेनेगल समूह ‘एच’मा छ । दक्षिण कोरिया समूह ‘एफ’मा छ ।