स्थानीयतहरुमा जताततै भरिभराऊ, सदरमुकाम दिक्तेलबजार भने सुनसानमा

युवराज रोइला

खोटाङ

देश संघीयतामा प्रवेश गरे सँगै सक्रिय भएका स्थानीय तह र त्यहाँ वरपरको चहल पहल बढेर गएको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ । तर जिल्लाको स्थापनाकाल देखि बर्षौ सम्म रौनकमा रहेका सदरमुकामहरुको तडक भडक भने घट्दै गईरहेको छ । पछिल्लो समय खोटाङ सदरमुकाम दिक्तेल सुनसान बन्दै गईरएको छ । ब्यापार ब्यबसाय घट्दो क्रममा छ भने होटल ब्यबसायीहरु मारमा परेका छन् ।

सुनसान खोटाङको सदरमुकाम दिक्तेलबजार । तस्बिर : युवराज रोइला / राजधानी

‘करिब करिब ३० प्रतिशत जति व्यापार घट्यो । पहिले बिभिन्न सरकारी काम काजले गाउँगाउँबाट आउनेहरुले किनमेल गर्थे । मान्छेको भिडभाड हुन्थ्यो । अहिले त सुनसान छ । हुने पनि भयो सबै काम गाउँमा हुने भए पछि सदमुकाम किन आउन । गाउँमै अफिस मात्रै होईन सडक पनि पुगेका छन । यहाँ पाईने सबै चिज उतै पाईन थाल्यो ।’ खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले भने । ‘अचम्मै संग ब्यापार खस्कियो । गाउँ चम्केका छन बजार सुनसान हुन थाल्यो ।’

ब्यापारीलाई भन्दा बढि मार होटल ब्यबसायीलाई परेको छ । अधिकांश होटेलहरु बन्द हुने अवस्थामा छन् । केहि होटेलहरु बन्द गर्ने या सञ्चालन गरिरहने दोधारमा रहेका छन् । ‘पहिला पहिला यो सिजनमा भ्याई नभ्याई हुन्थ्यो । अहिले त सुनसान छ । सरकारी कार्यालय सबै गाउँतिर गए । गैर सरकारी कार्यालय पनि गाउँपालिका तिर बस्न थाले । आज भोलि निरन्तर तालिम हुन्थ्यो । कोठा भरिभराउ हुन्थ्यो ।’ दुर्गा होटल एण्ड लजका प्रोपाईटर अर्जुन राउतले भने । ‘बिषेश गरि जिल्लामा सबै भन्दा बढि मार होटल ब्यबसायलाई नै परेको छ । दैनिक जसो बिभिन्न तालिम वा कार्यक्रम संचालन गर्ने कृषि, पशु, स्वास्थ्य, महिला बिकास, शिक्षा जस्ता कार्यालयहरु गाउँपालिका तिर हिडे पछि हामी सकसमा परेका छौँ । हाम्रो व्यापार ७० प्रतिशत घटेको छ ।’

होटल र किराना पसल मात्र होईन सबै प्रकारका ब्यापार ब्यबसाय खस्कदै गएको छ । ‘ब्यापार घट्ने त सामान्य नै भयो । अधिकार सहितको स्थानिय तह भए संगै सबै सरकारी सुबिधा गाउँ पुगेका छन । गाउँगाउँमा सडक छन । आवश्यकीय कुराहरु घर छेउमा पाईने भएपछि यहाँको चहल पहल कम हुनु सामान्य भएको श्रेष्ठ बुक्स एण्ड स्टेसनरीका प्रोपाईटर रुद्र श्रेष्ठले बताए । अरु क्षेत्रमा जस्तै स्वास्थ्य ब्यवसायमा पनि स्थानीय तहले असर गरेको छ । विशेषगरि निजी मेडिकल र अस्पतालहरु पनि केहि समय यता सुनसान जस्तै बनेका छन् । करिब करिब ५० प्रतिशत ब्यापार खस्केको छ । नियमित आउनेहरु त आएकै छन तर गाउँगाउँबाट आउनेको संख्या जिरो जस्तै भएको छ । मेडिकल मात्रै हैन सबै क्षेत्रका ब्यबसाय सुनसान छन् ।

अहिले ब्यबसायीलाई आहत भए पनि जनतालाई भने राहत पुगेको छ । सानो सानो कामले पनि सदरमुकाम धाउनु पर्नेहरु घरगाउँमै सेवा पाए पछि मख्ख छन् । सदरमुकामका घरहरु सुनसान बनेसंगै स्थानीय तह केन्द्र बरपरका घरहरु भरिभराउ छन् । सदरमुकाममा मात्र देखिने पक्की घरहरु स्थानीय तहका केन्द्रमा बनन थालेका छन् । पुराना कच्ची घरहरु रंग रोगन गरेर ब्यबसायी मैत्रि बनाईदै छन् । घर जग्गाको भाउ आकासिएको छ । दिनभरी ग्राहकको प्रतिक्षामा बस्नेहरुलाई भ्याई नभ्याई छ । गाउँगाउँमा साना ठूला कच्ची सडक निर्माण भएका छन् । यातायातको पहुँच पुगेको छ । यातायातको सहायताले स्थानीयवासीहरु तराईसम्म सहज यात्रा गर्न थालेका छन् ।