म्याद नाघेको सात महिनापछि, बल्ल पिलर उठाउने काम शुरु

युवराज रोइला

खोटाङ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ । १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको म्याद नाघेको सात महिनापछि एकतर्फको पिलर उठाउने काम थालिएको हो ।

लामो समय अलपत्र परेको साप्सु खोला पुलको पिलर ढलान गरिँदै । तस्बिरः युवराज रोइला /राजधानी

नेपाल सरकार स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड, ३० लाख, ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुलको म्याद २०७४ साल कार्तिकमै सकिएको जिल्ला प्राबिधिक कार्यालयले जनाएको छ । पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले कामचोर ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम पनि समावेश गरेर गृहमन्त्रालय पठाएको छ । पछिल्लो समय काम चोर निर्माण कम्पनीको नाम गृहमन्त्रालयमा सिफारिस भएपछि ठेकेदारलाई काम गर्न बाध्यत्मक परिस्थिति सिर्जना भएको छ ।

अलपत्र रहेको लामो समयपछि जेठ २ गते यता पुलको लफ्याङतर्फको पिलरको दुई लेयर ढलान गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि बिराज आचार्यले बताए । प्रतिनिधि आचार्यले राजधानी दैनिक सँग कुरा गर्दै भने, ‘पुलको एकातिरको पिलर उठाउने काम अन्तिम चरणमा पुगेको छ । अबको १५ दिनमा पिलर उठाउने सकिन्छ । बाँकी अर्कोतिरको पिलर उठाउने काम मौसमले साथ दिए असारको अन्तिम सात सक्ने तार्गेट राखिएको छ ।’

२०७३ मंसिर २२ गते तत्कालिन सांसद ९हाल प्रतिनिधिसभा सदस्य० बिशाल भट्टराईले पुल शिलान्यास गरेका थिए । पुल शिलान्यासकाक्रममा पेटी ठेकेदार श्याम पोखरेलले ७ महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए । तर, म्याद गुज्रिदा समेत पुल निर्माणको काम सन्तोषजनक हुन नसकेको भन्दै ठेकेदारको आलोचना हुने गरेको छ । पुल निर्माणको काम अलपत्र पारेको भन्दै सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको विरोध हुने गरेको छ । तत्कालिन जिबिस र प्राबिधिक कार्यालयले खबरदारी नगर्दा समेत ठेकेदारले पुल निर्माणको काममा ढिलाई गरेको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए ।

पुल नहुँदा हरित सडक उपयोग बिहिन

पुल नबन्दा २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक प्रयोगमा समस्या भएको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम ९¥याप०ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोग बिहिन बनेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरबको योजना हो । बाटोमा पर्ने साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना गर्न कठिनाई भएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए । गाउँपालिकामा एसबीआई बैंकको शाखा कार्यालय स्थापना गर्ने भनिए पनि पुल अभावमा शाखा कार्यालय स्थापनामा बैंक पछि हटेको गाउँपालिका प्रमुख खड्काले बताए ।