प्रधानमन्त्रीको चीन भ्रमण, पुरानै सहमति कार्यान्वयनमा नयाँ उचाइ

टेनिस रोका
काठमाडौं

५ असारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीनको राजकीय भ्रमणमा पुराना सहमति कार्यान्वयन नै मुख्य एजेन्डा बनेको छ । विगतमा चीनसँग भएका सहमतिको कार्यान्वयनसहित केही नयाँ सम्झौता हुने प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजधानीलाई बताए ।
‘दुवै देशमा नयाँ सरकार गठन भएका छन् । सरकार शक्तिशाली पनि छन्,’ उनले भने, ‘दुवै देशले विगतमा गरेका सहमति र सम्झौता कार्यान्वयनका पक्षमा नै जोड दिनेछन् ।’

नेपालले चीनसँग रेल तथा यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई पनि भ्रमणमा प्राथमिकता दिने तयारी गरेको छ ।नेपालले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल जोड्ने विषयमा चीनको सहयोग अपेक्षा गरेको छ ।
चिनियाँ नाका नजिक सुक्खा बन्दरगाह निर्माण, तातोपानीमा निर्माणाधीन बन्दरगाहलाई ठूलो बनाउने र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माणलगायत विषय प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनसँग प्रस्ताव राखिनेछ ।
चीनले नेपालसमक्ष त्रिदेशीय अवधारणाको प्रस्तावअनुसार रेल र सडकमार्ग निर्माणका लागि बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अवधारणामा सहयोग गर्ने जनाउँदै आएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा चीनको राज्य परिषद्का प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीका साथ उनकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी लिसँग वार्ता गर्नुका साथै केही सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख पहिलो साता बेइजिङ पुगेर प्रधानमन्त्री ओलीको भ्रमण टुंगो लगाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले २३–२५ चैतमा भएको भारत भ्रमण लगत्तै संसद्मा एक महिनाभित्र चीन भ्रमण हुने जानकारी गराएका थिए ।