ट्रेड युनियन कांग्रेसको महाधिवेशन लम्बिने

राजधानी समाचारदाता
काठमाडौं

नेपाली कांग्रेस आबद्ध नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ ।  महाधिवेशन प्रतिनिधि विवादका कारण बुधबार सुरु हुने भनिएको बन्दसत्र सुरु हुन नसकेपछि महाधिवेशन लम्बिने भएको हो । महाधिवेशनको मंगलबार उद्घाटन भएको थियो ।

होटल क्षेत्रका प्रतिनिधिका विषयमा विवाद हँुदा महाधिवेशनको बन्दसत्र सुरु हुन नसकेको प्रतिनिधिहरुले बताएका हुन । तर वर्तमान महासचिव महेन्द्र यादवले भने सबै विवादको टुंगो लागिसकेको र बुधबार समय अपुग भएका कारण बिहिबार विहानबाट बन्दसत्र सुरु हुने बताए ।

बन्द सत्र नै लम्बिए पछि महाधिवेशनका लागि तोकिएको २९, ३० र ३१ गतेको मिति र समय तालिका प्रभावित हुने भएको छ । जारी महाधिवेशनमा देशभरबाट १ हजार ३ सय ५० प्रतिनिधि सहभागी भउका छन ।
जारी महाधिवेशनले ट्रेड युनियन काँग्रेसको नयाँ कार्यदिशा सहित नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि वर्तमान सभापति खिलानाथ दाहाल र कांग्रेस पूर्व सांसद समेत रहिसकेका पुष्कर आचार्य चुनावी मैदानमा छन ।