माओवादी केन्द्र पुर्नगठन अभियानमा किराती, पदाधिकारी छनौट

राजधानी समाचारदाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठकले पदाधिकारी चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकता प्रति असन्तुष्ट पक्षहरुको नेतृत्व गर्दै आएका गोपाल किरातीले माओवादी पुर्नगठन अभियानमा जुटेका हुन ।

बुधबार बसेको आयोजक समितिको बैठकले पदाधिकारी छनौट गरिएको छ । आयोजक समितिको संयोजक रहेका गोपाल किरातीलाई अध्यक्ष चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा भविश्वर पराजुली, र तिलक थापामगर, महासचिवमा कर्णजित बुढाथोकी र सचिवमा राजन तिम्सिनालाई चयन गरिएको पार्टीले जारी गरेको बिज्ञप्तमा उल्लेख गरिएको छ ।

महाधिवेशन आयोजक समितिमा ७०१ जना, पोलिटब्यूरोमा १७५ जना तथा ४३ जनाको केन्द्रीय सचिवालयको गठन गरिएको अध्यक्ष किरातीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग तथा विकासमा जोड दिने, वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्तमा आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपयोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले महान जनयुद्वद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिने निर्णय भएको बताए ।

बैठकले राष्ट्रियता, जनवाद र जनजीविकाबारे ११ बुँदे तथा राजनीतिक तथा संगठनका विषयमा अध्यक्ष गोपाल किरातीले प्रस्तुत गरेको पाँचबुँदे निर्णय पारित गर्दै महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई निरन्तरता दिने घोषणा गरेको छ ।