काठ तस्करीको अभियोग लागेका डीएसपी निलम्बित

राजधानी समाचारदाता
काठमाडौं

सशस्त्र प्रहरी बलको गाडी प्रयोग गरी काठ तस्करी गरेको अभियोगमा सशस्त्रका एक जना नायब उपरीक्षक (डीएसपी) र तीन जना जवान निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका प्रमुख रामप्रसाद भण्डारी र जवान विनोद कट्टेल, मिलनकुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दीपेन्द्रकुमार कर्माकार रहेका छन् ।
डीएसपी भण्डारीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सिफारिसमा बुधबार साँझ गृह मन्त्रालयले निलम्बन गरेको हो । यसैगरी तीनै जवानलाई सशस्त्र मुख्यालयले निलम्बन गरेको हो ।

उनीहरूले गत २१ जेठमा सो गुल्मको बा१ग १६६९ नम्बरको ट्रकमा अवैध रूपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस मूलघाट धनकुटाको टोलीले नियन्त्रणमा लिएको थियो ।
सो घटनालाई लिएर पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह वाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भीर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायब उपरीक्षक कमलप्रसाद तिउसिना सदस्य रहेका छन् ।

प्रारम्भिक छानबिनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरूले कुनै पनि निकायमा कुनै जानकारीसमेत नगराई संगठनको मर्यादा र नीतिविपरीत कार्य गरेको देखिन आएपछि उनीहरूलाई निलम्बन गरी कारबाही गर्ने प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । छानबिन समितिले स्थलगत अध्ययन गर्नुका साथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरूको दोष देखिन आएको प्रतिवेदन दिएको छ ।
तत्काल उनीहरूलाई निलम्बन नगरिँदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२, को नियम ११६ को उपनियम १ को खण्ड ‘ख’ र ‘घ’ अनुसार निलम्बन गरी थप कारबाहीको प्रक्रिया सुरु गरिएको सशस्त्र मुख्यालयले स्पष्ट पारेको छ । सो घटनालाई सशस्त्र प्रहरी बलले गम्भीरताका साथ लिएकाले दोषीउपर कडा कारबाही गरिने पनि सशस्त्रले जनाएको छ ।