सबैको सहयोगभए कठिन काम पनि सहजः मन्त्री पण्डित

राजधानी संवाददाता
हेटौंडा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबैको सहयोग भए जस्तोसुकै कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिने बताएका छन् ।
प्रदेश ३ कै पहिलो बालमैत्री वडा घोषणा गर्न मकवानपुरको फाखेल आएका मन्त्री पण्डितले निरन्तरता र सहकार्यले नै मुलुकलाई परिवर्तन गर्न सकिने बताएका हुन् । उनले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्दै सुखी नेपाली, खुशी नेपाली र समृद्ध नेपाल निर्माणमा बालमैत्री अभियानलाई पनि सँगै लैजानु पर्ने उल्लेख गरे ।


भौतिक विकासले मात्रै नेपालका बालबालिकाहरु खुशी नहुने बताउँदै उनले भने–‘ भौतिक सँगैै सामाजिक, शैक्षिक, स्वास्थ र रोजगारीको क्षेत्रमा पनि विकास आवश्यक छ । बालबालिका सकारात्मक सन्देश दिन समाज पनि रुपान्तरण हुनु पर्दछ । बालमैत्री घोषणासँगै कार्यान्वयनको पाटोलाई पनि ध्यान दिनु जरुरी छ ।
मन्त्री पण्डितले बालमैत्री वडा घोषणाको कार्यविधि कार्यान्वयन र परिपालनाको लागी प्रतिवद्धता पत्रमा समेत हस्ताक्षर गरे । २०६३ सालदेखिको प्रयासबाट बालमैत्री घोषणा अभियानलाइ पुर्ण सार्थकता दिदै इन्द्रसरोवर गाउँपालिका–४ र ५ वडालाई बालमैत्री वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष जीवन लामाले बताए ।
बालमैत्री घोषणाका लागि गरेको प्रयासलाई सम्मान गर्दै इन्द्रसरोवर गाउँपालिकाले वडा नम्बर ४ का अध्यक्ष धनबिर स्याङ्तान र वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जनलाई पाँच÷पाँच लाख नगदसहित कदरपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका प्रमुख आत्माराम थापाले समितिको तर्फबाट इन्द्रसरोवर गाउँपालिका ४ र ५ मा बालबालिका स्रोत केन्द्र स्थापना गर्ने, दुवै वडाको असल सिकाइलाई देशभर प्रचारप्रसार गर्ने, दुवै वडाको बिषयमा अध्ययन अनुसन्धान गर्ने, प्राविधिक पृष्ठपोषण दिने र घोषणाको अभियान टिकाइ राख्ने वडा नीति निर्माणमा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संयुक्त बालमैत्री वडा घोषणा मूल समारोह समितिका संयोजक धनराज महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय सभाका सांसद बिरोध खतिवडा, प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे,जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालगायतको आतिथ्यता रहेको थियो ।