नेपाली किसान अभाव झेल्दै, नेपाल भित्रिएको डिएपी मल भारत जाँदै

तुलसी भण्डारी
वीरगन्ज

नेपाली किसानका लागि अहिले धानको सिजनमा डिएपी मलको हाहाकार भए पनि कृषि सामग्री कम्पनी प्रा.लि.कै कर्मचारीको अवैध आर्थिक लाभका कारण नेपाल आइपुगेको मल भारततर्फ अवैध ढंगले गइरहेको खुलासा भएको छ । भारतको बिहारका किसानहरुले समेत डिएपी मलको अभाव खेपिरहेको मौका छोपी कम्पनीको केन्द्रका जिम्मेवार दुई कर्मचारी र क्षेत्रीय कार्यालय वीरगन्जका केही कर्मचारीको गढजोडमा नेपाल भित्रिएको मल भारतसम्म पुगिरहेको खुलासा भएको हो । कृषि सामग्री कम्पनीमा मलको आपूर्ति, ढुवानी र बिक्री गरी तीन किसिमको सिन्डिकेट चलाउँदै आएका कर्मचारीकै मिलिभगतमा नेपाली किसानले मल नपाउँदा पनि बल्ल नेपाल भित्रिएको मल उतै फर्किएको कम्पनीका एक जिम्मेवार कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

वीरगन्ज क्षेत्रीय कार्यालयबाट काठमाण्डौ, धुलिखेल, नारायणघाट, भक्तपुर, सर्लाही, महोत्तरी लगायत २ नम्बर सेक्टरमा पठाउनु पर्ने डिएपी मल अहिले बारा, रौतहट, महोत्तरी र सर्लाहीका केही सहकारीलाई सयौं बोरा उपलब्ध गराई उतैबाट सीमा पार गराइदै छ उनले भने । भारतीय किसानहरुसँग पनि अहिले तेस्रो मुलुकबाट नेपालमा भित्रिएको जस्तो मल नभएपछि उनीहरुले २ हजार बोराको रकम उपलब्ध गराई खरिद गरिरहेको ती कर्मचारीले उदाहरण दिए । सर्लाही, बारा, रौतहट र महोत्तरी स्थित सीमाबाट डिएपी मल सीमा उपार गइरहे पनि त्यसै जिल्लाका किसानले समेत डिएपी मलको अभाव खेपिरहेको उनको तर्क छ । यो बिक्रीको सिन्डिकेटमा केन्द्रका प्रवन्ध संचालक अमरराज खैर, खरिद महाशाखा प्रमुख बिष्णु प्रसाद पोख्रेल र वीरगन्ज स्थित क्षेत्रीय कार्यालयका प्रमुख अजयबाबु श्रीवास्तव, स्टोरकिपर पुरुषोत्तम सिंह र सिताराम तिम्सिनाको गढजोड रहेको उनको दावी छ । नेपाली किसानको हातमा पु¥याउने सहकारीलाई भने वीरगन्जस्थित कृषि सामग्री कम्पनीले ४०⁄५० बोराभन्दा बढि उपलब्ध गराएको छैन । उनीहरुको चंगुलमा काम गर्ने केही सीमित सहकारीलाई भने गाडीका गाडी डिएपी मल उलपब्ध गराउँदै आएको क्षेत्रीय कार्यालयकै कर्मचारीले पनि स्वीकारे ।

सीमित सहकारीलाई डिएपी मल दिंएको ट्रक वीरगन्ज स्थित कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयबाट बाहिरिने तरखर गर्दै ।

भैरहवामा पहिले नै सकिसकेको डिएपी मल वीरगन्जमा पनि अन्तिम अवस्थामा पुगेको छ । अब तुरुन्तै पनि डिएपी मल आउनु वाला छैन । कृषि मन्त्रीलाई भित्री कुरा सबै थाहा हुँदैन । केही कुरामा अल्मल्याएर कृषि सामग्री कम्पनीले ३ किसिमको सिन्डिकेट चलाउने गरेको छ । पहिलो ग्लोबल टेन्टरलाई परपर धकेली समय बढाउँदै जीटुजी प्रकृयामा जाने । यदि ग्लोबलबाट मगाउनु पर्ने भए । मलको भाउ बढि भएको समयमा टेण्डर खोली, मगाउने समयमा आलटाल गरी केही बहाना बनाएर दाम खटेको समयमा मात्र मगाउने । यसो गर्दा बीचको मार्जिन अवैध पोल्टामा पार्ने । दोस्रो सिन्डिकेट भनेको नेपाल आइसकेपछि ढुवानीमा प्रबन्ध संचालक सहितको मिलिभगतमा कर्मचारीहरुद्वारा नै संचालन गरेको पशुपति ढुवानी सेवालाई जसरी पनि पारी उसैमार्फद ढुवानी गराएर त्यसमा पनि अवैध लाभ लिने । उदाहरणको लागि अघिल्लो लटमा ५ दिन समय हुँदा दर्ता भएको पशुपति ढुवानी सेवालाई दिएको जिम्मेवारी काफी छ । यो पटक भने अनेक प्रयास गर्दा पनि उसलाई पार्न नसकेको ।

अन्तिम सिन्डिकेट भनेको बिक्रीका समयमा बजारमा मलको अभाव बनाई आफ्नो अवैध धन्दामा साथदिने नजिकका सहकारीलाई दिएर ब्लाकमा मल बिक्री गरी त्यसबाट आउने बीचको मार्जिनमा भागबण्डा गर्ने । यो कृषि सामग्री कम्पनी भित्रको पुरानो रोग हो । यो रोग कुनै मन्त्रीले पनि पत्ता लगाउन सकेका छैनन् । यसैमा उनीहरु रमाउने हो । यसको सबै प्रप ञ्च मिलाउने काम प्रबन्ध संचालकबाट हुन्छ ति कर्मचारीहरुले बृतान्तै बताए । यस्तो कुरा बताउने कर्मचारीको एउटै शर्तमा हाम्रो नाम बाहिर नआओस् भन्ने । अहिलेका मन्त्रीले अलि बढि एक्सनमा काम गरेकोले सधैंको नेपाली किसान मारमा पर्ने काम बन्द हुने मात्र हाम्रो अपेक्षा हो उनीहरुले भने ।

मातहतका कर्मचारीले लगाएको आरोप सत्य नभएको वीरगन्जका प्रमुख श्रीवास्तवले दावी गरे । केन्द्रबाट के भएको छ सो थाहा छ्रैन । तर हामीबाट यस्तो खासै नभएको उनको भनाइ छ । सूचना दिने कर्मचारी भने मिडियाले साथ दिए अझ ठोस कुरा दिन्छौं भन्न पछि परेनन् । यो कुरा मन्त्री तहबाट श्रोत फायल मगाएर हेरे पनि धेरै कुरा खुल्दछ उनीहरुले थपे । नेपाली किसानलाई उक्त तिन सिन्डिकेटकै कारण यो बर्ष डिएपी मलको हाहाकार हुन्छ हुन्छ कृषि सामग्रीकै कर्मचारीले ठोकुवा गरे ।