ट्रम्प–किम वार्ताबारे विश्वको मिश्रित प्रतिक्रिया

तेहरान / एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ्ग उनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक शिखर वार्ताका विषयलाई लिएर संसारबाट मिश्रित प्रतिक्रिया आएको छ । केही देशले यो कुराकानीलाई ऐतिहासिक भएको बताउँदै स्वागत गरेका छन् भने केही देशले यसमा जनाइएको प्रतिबद्धताको आलोचना गरेका छन् ।
दक्षिण कोरियाले यो कुराकानीले शान्ति र आपसी सहयोगको नयाँ अध्यायको थालनी भएको टिप्पणी गरेको छ । तर, दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास अन्त्य गर्ने घोषणाबाट भने उसलाई रुष्ट बनाएको छ । दक्षिणसँगको संयुक्त सैन्य अभ्यास अन्त्य गर्नुपर्ने उत्तर कोरियाको प्रमुख मागमध्ये एक थियो ।

चीनले दुई देशका नेताबीचको कुराकानीले उत्तर कोरियाविरुद्ध लागेको प्रतिबन्धमा राहतको बाटो खुल्न सक्ने विश्वास व्यक्त गरेको छ ।  उता इरानले भने उत्तर कोरियालाई अमेरिकामाथि भरोसा नगर्न सुझाव दिएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग गरेको परमाणु सम्झौता गत महिना अन्त्य भएको घोषणा गरेका थिए । रुसले पनि यस्तै चेतावनी दिएको छ ।

ट्रम्प–किम शिखरवार्तालाई नजिकबाट नियालिरहेको जापानले भने यसलाई एक सुरुवात मात्रै भएको बताएको छ । शिखरवार्ताको ठीक अघि जापानी प्रधानमन्त्री शिन्जो आबेले अमेरिकाको भ्रमण गरी उत्तर कोरियासँगको वार्ता र आफ्नो सुरक्षा चासोका विषयमा ट्रम्पसँग छलफल गरेका थिए ।
दक्षिण कोरियास्थित बेलायती राजदूत रहेकान वारविक मौरिसले उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको शिखर वार्तामा हस्ताक्षर भएको चार बुँदे सहमतिमा स्पष्टताको कमी रहेको टिप्पणी गरेका छन् ।
यस्तै अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले किम जोङ्ग उनसँग ट्रम्पले गरेको वार्ता कुनै ठोस नतिजा आएपछि मात्रै सफल या असफल भन्न सकिने जनाएका छन् । यस्तै एक वरिष्ठ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले उत्तर कोरियाका माध्यमबाट चीनले अमेरिकासँग खेल्न कोशिस गरिरहेको टिप्पणी गरेका छन् । उनले दक्षिण कोरियासँग अमेरिकी सैनिक फिर्ता बोलाउने कुनैपनि सम्झौताको विरोध गरेका छन् ।

दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

यसैबीच, सिंगापुरमा सम्पन्न अमेरिका र उत्तर कोरियाका नेताहरुबीचको शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारले आशावादी देखिएको समाचार छापेका छन् । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाले सिंगापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन हुने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।
ती पत्रिकामा बुधबार छापिएका शीर्षकले सो वार्ताको प्रशंसा गर्दै त्यसमा भएको अमेरिका र उत्तर कोरिया सम्झौताको कार्यान्वयनमा दक्षिण कोरियाली नागरिकले खुसी व्यक्त गरेका बताइएको छ । सिंगापुर वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ्ग उनले कोरियाली प्रायद्वीपलाई पूर्णरुपमा निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए । उनको सो प्रतिवद्धताको दक्षिण कोरियाली सञ्चारमाध्यमले प्रशंसा गरेका हुन् ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्णनिशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरेका छन् । दुई नेताबीच भएको यो पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्प उत्तर कोरियाली नेताले यसअघि गत अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपतिसँग गरेको सहमतिको कार्यान्वयनमा पनि सहमति जनाएका थिए ।

दक्षिण कोरियाली अखबारले अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गरेको र एक्लाएक्लै वार्तामा बस्न पाएको अवसरको सदुपयोग गर्नुपर्ने उल्लेख गरिएको छ । यस वार्ताको सफलताबाट विश्वले दुई कोरियाबीच पनि एकताको अपेक्षा गरेको दक्षिण कोरियाली अखबारका बुधबारका शीर्षकमा दिएका छन् ।
समाचारमा त्यस्तो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ, भनिएको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा रहेको अखबारका शीर्षकमा उल्लेख गरिएको छ ।

त्यस्तै, सन् १९५३ मा कोरिया विभाजन भएपछि आजका दिनसम्म जुन पीडा दुई देशको रुपमा दुई देशका अधिकांश नागरिकले भोगेका छन् त्यस पीडाको अन्त्य यस शिखर वार्ताले गरिदिने अपेक्षा दक्षिण कोरियाली नागरिकले पनि गरेका समाचारमा जनाइएकोे छ । यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो भन्ने आसय यस शिखर वार्ताका क्रममा विश्वव्यापीरुपमा आएको पनि दक्षिण कोरियाका सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प र किम वार्ताको स्वागत

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ । ट्रम्प र किमबीच भएको अभूतपूर्व वार्ताको क्रेमलिनले स्वागत गरेको हो । यसरी प्रत्यक्ष उपस्थित भई दुई नेताबीचको वार्ता स्वागतयोग्य भएको क्रेमलिनका प्रवक्ता दमित्रि पेस्कोभले पत्रकारहरुलाई बताए ।
मंगलवार सिंगापुरमा उत्तर कोरिया र अमेरिकी नेताबीच भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निम्तो नेता किम जोङ उनले स्वीकार गरेका छन् । सिंगापुरमा दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले किमलाई ह्वाइट हाउसमा भ्रमणको निम्तो दिएको थियो । साथै किमले पनि ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका छन् ।
भ्रमणको निम्तोले दुई नेताबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ । तर केही आलोचकहरूले भने उत्तर कोरियाली नेताका लागि यो प्रचारबाजीको अर्को मौका भएको पनि बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको प्रयत्क्ष भेटवार्ताको विश्वले नै स्वागत गरेको छ । यस वार्ताले कोरियाली प्रायद्वीपमा द्वन्द्व समाप्त हुने अपेक्षा गरिएको छ । यस वार्ताको सफलताले दुई कोरियाबीच वर्षौदेखि छुट्टिएका दाजुभाइ, दिदीबहिनी र परिवारजनको पुर्मिलनको सुनौलो आशा पलाएको छ ।