उपभोग्य वस्तुको मूल्य अकासियो

मधुजंग पाण्डे

काठमाडौं

सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तुत गरेको बजेटमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएका छन् । जसका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्य अकासिएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । आगामी आवको बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि अहिलेदेखि नै काठमाडौं उपत्यकालगायत मुलुकभरका व्यापारीले दैनिक उपभोग्य वस्तु दाल, चामल, खाने तेल र तरकारीको भाउ अस्वाभाविक रूपमा बढाउन थालेपछि उपभोक्ताको भान्सा महँगिएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि न्यून आम्दानी हुने, ज्याला÷मजदुरी गरेर घरव्यवहार चलाउने र विद्यार्थी बढी मर्कामा परेका छन् । बजेट भाषण लगत्तैदेखि व्यापारीले आफ्नो गोदाम एवं पसलमा स्टक रहेको खाद्यवस्तुमा पनि मन लागेजति मूल्य बढाएर बेच्न थालेका छन ्। सोही बेलादेखि नै दैनिक उपभोग्य वस्तुहरूको मूल्य प्रतिकेजी ८ देखि ३० रुपैयाँसम्म बढेको स्वयं व्यवसायीहरू नै बताउँछन् ।

बजेटपछि क्रमशः बढ्दै आएको दैनिक उपभोग्य वस्तु दालको मूल्य अहिले प्रतिकेजी १० रुपैयाँ वृद्धि भएको छ । यसैगरी, खाने तेल प्रतिलिटर २० देखि ३० रुपैयाँ र चामलम २५ केजीका प्रतिबोरा १ सयदेखि १६० रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । बजेटअघि प्रतिलिटर १२० रुपैयाँमा बिक्री भएको खाने तेलको मूल्य अहिले प्रतिलिटर १४० रुपैयाँ नाघेको छ । यसैगरी, प्रतिकेजी ९० देखि १ सय रुपैयाँमा पाइने दालको मूल्य एक्कासि बढेर १ सयदेखि ११० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी, २५ केजीका प्रतिबोरा १५ सय रुपैयाँमा पाइने मनसुली चामलको मूल्य बढेर प्रतिबोरा १६ सयदेखि १७ सय रुपैयाँसम्म पुगेको किराना तथा खुद्रा व्यापार संघले जनाएको छ ।

किराना तथा खुद्रा व्यापार संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले आगामी आवको बजेट सार्वजनिक भएकै दिनदेखि नै थोक विक्रेताहरूले एक्कासि मूल्य बढाएर सामान पठाएकाले अहिले उपभोक्ताको भान्सा निकै महँगिन पुगेको बताए । अहिले दैनिक उपभोग्य वस्तुमा प्रतिकेजी १० देखि २० प्रतिशतसम्म मूल्य वृद्धि भएको जानकारी गराउँदै संघका अध्यक्ष बज्राचार्यले भने, ‘ठूला व्यापारीले मूल्य बढाएर पठाएपछि साना व्यवसायीले स्वतः बढाउनुको कुनै विकल्प नै छैन । साना व्यवसायीले पनि आफ्ना पसल बन्द गरी बस्दा राम्रो हुने उनको भनाइ छ । उनले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा तोरी, दाल तथा गेडागुडीमा लगाउँदै आएको भन्सार महसुलदर बढाइएकाले पनि अहिले बजार भाउ केही अकासिएको हुन सक्ने बताए । सरकारले यस बजेटमार्फत तोरीको तेलमा दिँदै आएको ४० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता सुविधा हटाइएको छ भने तोरीको गेडा आयातमा लिँदै आएको एक प्रतिशत भन्सार महसुल वृद्धि गरेर पाँच प्रतिशत पु¥याइएकाले अहिले उपभोक्ताको भान्सा महँगिएको उनले बताए ।

नेपाल चामल तेल दाल उद्योग संघका महासचिव सुबोधकुमार गुप्ताले पनि सरकारले सार्वजनिक गरेको बजेटको प्रभावका कारण अहिले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए । उनले सरकारले अप्रशोधित दाल तथा गेडागुडीमा लिँदै आएको भन्सार महसुलदर पाँच प्रतिशतबाट बढाएर १० प्रतिशत पु¥याएकाले अहिले बजारमा त्यसको प्रभाव पर्न थालेको बताए । यो अवधिमा हरियो तरकारी बन्दाको मूल्य प्रतिकेजी २५ रुपैयाँबाट ४५ रुपैयाँ, मूला प्रतिकेजी २५ रुपैयाँबाट ४५, भन्टा प्रतिकेजी ३५ रुपैयाँबाट ५५, काउली प्रतिकेजी ७५ रुपैयाँबाट ८५, करेला प्रतिकेजी ३५ रुपैयाँबाट बढेर ५५ रुपैयाँमा बिक्री भइरहेको छ । यसैगरी, लौका प्रतिकेजी ४५ रुपैयाँबाट ५५, घिरांैला प्रतिकेजी ४५ रुपैयाँबाट ६५, सिमी प्रतिकेजी ४५ बाट ६५ रुपैयाँ पुगेको छ ।

सरकारी निकायको फितलो बजार अनुगमनका कारण खाद्यान्न, तरकारी, फलफूल, पेयपदार्थ, तेल, मासु, पानी, औषधिलगायत हरेक वस्तु तथा सेवामा अधिक मूल्य र गुणस्तरहीन सामान बेच्ने क्रम बढ्यो

गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य वृद्धिदर निकै अकासिएको छ । गत वर्ष १३.१ प्रतिशतले घटेको तरकारीको मूल्य वृद्धि यो वर्ष १३.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्यवस्तु, तरकारी मात्र नभएर दुग्धजन्य पदार्थ एवं मासु र अन्डाजस्ता खाद्य वस्तुको मूल्य वृद्धि पनि निकै बढेको छ । यसैगरी, फलफूलको भाउ पनि गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले पनि बजेट भाषणपछि अहिले बजारमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको बताए । उनले सरकारी निकाय महँगी नियन्त्रण गर्न निकै असफल देखिएको बताए ।

सरकारी नियमनकारी निकायको फितलो बजार अनुगमनले हाल दैनिक उपभोग्यवस्तुबाट उपभोक्ता ठगिएका छन् । खाद्यान्न, तरकारी, फलफूल, पेयपदार्थ, तेल, मासु, पानी, औषधिलगायत हरेक वस्तु तथा सेवामा धेरै मूल्य र गुणस्तरहीन सामान बेच्ने क्रम जारी छ । सरकारी निकायले दैनिक उपयोग्य वस्तुअन्तर्गत पानी, दुग्धजन्य पदार्थ, औषधि, मिठाइ, मासु, खाद्यान्न, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, होटललगायतमा अनुगमन गर्दै आए पनि परिणाम प्रभावकारी नभएको आमउपभोक्ताको गुनासो छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि बल्ल दैनिक उपभोग्य वस्तुको बजार भाउ विश्लेषण सुरु गरेको छ । विभागले आगामी आवको बजेट सार्वजनिक भएपछि बजार भाउ अकासिएको जनगुनासो आएपछि बजार भाउ विश्लेषण सुरु गरेको हो । मूल्य विश्लेषणको प्रारम्भिक चरणमा व्यापारीले आफूखुसी एउटै वस्तुको फरकफरक मूल्य कायम गरी बिक्री गर्दै आएको फेला परेको विभागले जनाएको छ । विभागले विभिन्न थोक र खुद्रा पसलबाट विभिन्न ब्रान्डका तोरीको तेल, सनफ्लावर तेल, सोयाबिन तेल, घिउ, दाल, चामल र गेडागुडीको खरिद र बिक्री बिल संकलन गरेको छ ।

बजर भाउ बढेको बारेमा जानकारी लिन मूल्य विश्लेषण सुरु गरिएको विभागले जनाएको छ । अनुगमनको क्रममा करिब तीन दर्जन पसलबाट लिइएको मूल्यसूचीअनुसार दैनिक उपभोग्य वस्तुको मूल्य पसलपिच्छे फरकफरक भेटिएको उसको दाबी छ । बजार अनुगमन प्रतिवेदनअनुसार पनि फेमिली तोरी तेल १३० देखि १७० सम्ममा बिक्री भइरहेको छ । बजेटपछि व्यापारीले धारा तोरी तेल प्रतिलिटर १९० देखि २१० रुपैयाँ, शक्ति भटमासको तेल ११५ देखि १३० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।