पुलिस लालबन्दी गोल्डकपको अन्तिम चारमा

श्रवण थापा

सर्लाही

रमपम झापा–११ लाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब सर्लाहीमा जारी लालबन्दी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले रमपम झापा–११ लाई १–० झिनो गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै नेपाल पुलिस क्लब फाइनल यात्राका लागि छनोट भएको छ । रमपम झापा–११ लालबन्दी गोल्ड कपको उपाधि होडबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा गोर्खा ब्वइज रुपन्देहीलाई पराजित गरेको पुलिसले लालबन्दी गोल्डकप जित्दै यस सिजनको उपाधि संख्या ३ पु¥याउने योजना जीवितै राखेको छ । यस पहिला नुवाकोट गोल्डकप जित्दै पुलिसले यो सिजनको उपाधि २ पु¥याएको थियो ।

खेल अवधिभर निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको ३९औं मिनेटमा पुलिसका रवि पासवानले गरेको गोल नै निर्णायक गोल बन्यो । साथै खेलको निर्णायक गोल गरेका पास्वान नै खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । यसैबीच २ नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशि रहेको लालबन्दी गोल्डकपको समूह ‘बी’ बाट फाइनल प्रवेशका लागि बिहीबार थ्री स्टार क्लब ललितपुर र सशस्त्र प्रहरी एपीएफबीच खेल हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ७ लाख, सिल्ड तथा मेडल र उपविजेताले नगद ३ लाख ५० हजार, सिल्ड तथा मेडल प्राप्त गर्नेछन् ।