थ्री स्टार र फ्रेन्डस्को साँघुरो जित

राजधानी समाचारदाता

काठमाडौं

ललितपुरको रुस्लान थ्री स्टार क्लब र फ्रेन्डस् क्लबले राजधानीमा मंगलबारबाट सुरु भएको तेस्रो संस्करणको ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको दोस्रो दिन थ्री स्टारले सिनियर फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० को झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । थ्री स्टारको जितमा पहिलो हाफमा टिकाराज गुरुङले गरेको गोल नै निर्णायक बन्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टिमले आक्रामक फुटबल खेले पनि गोल गर्न सकेनन् । मनाङले दोस्रो हाफमा बराबरी गर्ने मौका खेर फाल्यो । पेनाल्टी पाए पनि मनाङले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । यस्तै फ्रेन्डस् क्लब कुपन्डोलले तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा साँघुरो जितसहित विजयी सुरुवात गरेको छ ।

थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबका खेलाडीहरू बलका लागि संर्घष गर्दै ।  तस्बिर : सत्यन श्रेष्ठ

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम खेल मैदानमा बुधबार भएको समूह ‘डी’को दोस्रो खेलमा फ्रेन्डस्ले सुदूरपश्चिम फुटबल क्लबमाथि १–० को झिनो जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएको हो । फ्रेन्डस्को झिनो जितमा सन्देश न्यौपानेले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको १०औं मिनेटमा फ्रेन्डस्ले सन्देश न्यौपानेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

अन्ततः त्यही गोल नै फ्रेन्डस्को जितमा पर्याप्त बन्यो । दुवै टोलीले गोलका केही सुन्दर मौकाहरू खेर फालेका थिए । पहिलो जितसँगै फ्रेन्डस्ले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबीच खेल हुनेछ । दोस्रो खेलमा सरस्वती युवा क्लबले एनआरटीको सामना गर्नेछ । प्रतियोगितामा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

२९ जेठबाट सुरु हुने प्रतियोगिता २१ असारसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछ ।