छ महिनामा १५ बलात्कार

पाँचथर / रास– जिल्लामा पछिल्लो छ महिनामा १५ वटा जबरजस्ती करणीका घटना भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक शिक्षा केन्द्र (इन्सेक) पाँचथरले बुधबार आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को पूर्व समीक्षा कार्यक्रममा यो तथ्याङ्का सार्वजनिक गरिएको हो ।

सो अवधिमा १० बालिका र पाँच महिलामाथि जबरजस्ती करणी भएको इन्सेकका पाँचथरका प्रतिनिधि मंगल बेघाले बताए । बेघाका अनुसार जबरजस्ती करणीका अधिकांश घटनामा आफन्त र छरछिमेकीको संलग्नता पाइएको छ । उक्त तथ्यलाई हेर्दा बालिका तथा महिलाहरू आफ्नै मान्छेबाट असुरक्षित हुने गरेको पाइएको हो ।

समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी दुई ओटा घटनामध्ये एक राज्य पक्ष र एक गैरराज्य पक्षबाट भएको उल्लेख छ । बालअधिकारसम्बन्धी १२ वटा घटनामा एक राज्य पक्षबाट र बाँकी ११ ओटा गैरराज्य पक्षवाट भएको देखिएको छ । यसैगरी, महिला अधिकारसम्बन्धी १२ ओटा घटनामा एक राज्य पक्ष र ११ ओटा गैरराज्य पक्षवाट भएका छन ।

प्रतिवेदनमा मलुकको संघीयता कार्यान्वयनको चरणमा गएसँगै स्थानीय सरकारवाट सेवा प्रवाह हुँदा समुदायले स्थानीय स्तरमा नै सुविधा प्राप्त हुनु र जिल्ला स्थित कार्यालयहरूवाट घुम्ती शिविर सञ्चालन मार्फत स्थानीय स्तरमा नै सेवा प्रवाह हुनुलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ । यसैगरी, महिला तथा बालिकाहरू बलात्कार, बलात्कार प्रयास जस्ता जघन्य अपराधवाट पीडित हुनु, विद्यालयमा अध्ययन अध्यापनका क्रममा विद्यार्थीमाथि कुटपिट हुनु र मातृभाषाको पठनपाठन क्रमशः घट्दै जाने क्रमलाई सुधार गर्नु पर्ने पक्षका रूपमा उठाइएको छ ।