कटारी नपाद्वारा सडक निर्माणमा रोक

ईश्वर तामाङ

उदयपुर

 

सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी– घुर्मी सडक खण्डमा पर्ने उदयपुरको कटारी नगरपालिका–१३ स्थित गहुँबारी–ठाँटीमा गुणस्तरहीन काम भएको भन्दै कटारी नगरपालिकाले सडक निर्माणको काममा रोक लगाएको छ ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले निर्माणाधीन सडक कालोपत्रे र रिइन्फोर्स सिमेन्ट कङ्क्रिट (आरसिसी) ढलानको काम गुणस्तरहीन भएको भन्दै नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको हो ।  इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी कटारी, उदयपुर उद्योग वाणिज्य संघ र नगरपालिकाका प्राविधिकसहितको टोलीले अनुगमन गर्दा गुणस्तरहीन भएको ठहर गर्दै काममा रोक लगाएका हुन् ।

मिर्चया–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी बीचको गहुँबारीदेखि ठाँटी भन्ज्याङ सम्मको १ दशमलब २ किलोमिटरको कालोपत्रे तथा ४९७ घनमिटर आरसिसी ढलानको काम मापदण्ड अनुसार नभएको अनुगमन टोलीको ठहरसँगै थप काम गर्न रोक लगाइएको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताइन् ।

अनुगमन टोली संयोजक राउतले नगरपालिकाका इन्जिनियर र प्राविधिकले परीक्षण गर्दा कालोपत्रे र आरसिसी ढलान दुवैको काम मापदण्डभन्दा कमजोर देखिएकाले अर्को निर्णय नभएसम्मका लागि काम नगर्न निर्देशन दिएको जानकारी दिइन् ।

हामीले इन्जिनियर, प्रशासक, प्रहरी, जनप्रतिनिधि र उद्योग वाणिज्य संघ पदाधिकारी लिएर अनुगमन गर्दा कालोपत्रे र ढलान दुवैको काम मापदण्ड मिचेर बनाएको भेट्यौं’ उपप्रमुख राउतले भनिन् ‘नगरवासीबाट पटक पटक गुनासो आएकाले सर्वपक्षीय टोली ल्याएर अनुगमन गर्दा काममा खोट भेटिएकाले हाललाई काम रोक्न निर्देशन दिइएको हो । इप्रका कटारीका प्रशासकीय अधिकृत सुनिल पौडेलले कालोपत्रे र ढलानको काम गुणस्तरहीन भएको पाइएको बताए ।

स्थानीयको गुनासो आएपछि यस अघि पनि नगर प्राविधिक र उद्योग वाणिज्य संघ प्रतिनिधिसहितको टोलीले सडकको काम अनुगमन गरेको र त्यत्तिबेलै काम गुणस्तरहीन देखेपछि सुधारेर गर्न सुझाएको उनले बताए । तर, अर्को पटक अनुगमन गर्दा पनि सुधार नदेखिएकाले काम रोक्नु परेको उनको भनाइ छ । ‘साता दिन अघि हेर्दा राम्रो थिएन त्यसैले सुधार गर्न सुझाएका थियौं’ अधिकृत पौडेलले भने ‘तर, अहिलेसम्म नसुध्रेको भन्दै जनताले बोलाएपछि नगरपालिकाको नेतृत्वमा अनुगमन गर्न आयौं, अहिले पनि उस्तै देखियो ।

पटक पटक हुने दुर्घट्नाले वर्षेनी आधा दर्जन यात्रुको मृत्यु हँदै आएको सो खण्डको  ठाँटी भन्ज्याङमा सडक फराकिलो पार्ने योजना अनुसार भन्ज्याङलाई दुवैतर्फबाट ग्राउडिङ (रिटेनिङ) वाल लगाएर केही चौडा बनाइएको छ भने भन्ज्याङवारि कालोपत्रे र आरसिसी ढलानको काम थालिएको छ । १ दशमलब २ किलोमिटर कालोपत्रे र सय मिटर आरसिसी ढलानको काम भइरहेको भन्ज्याङको पारिपटि सय मिटर आरसिसी ढलानको काम सकिने तरखरमा छ ।

सडक डिभिजन कार्यालय लाहानबाट भइरहेको कालोपत्रेको जिम्मा अम्बे कन्स्ट्रक्सन जनकपुरले लिएको छ भने आरसिसी ढलानको जिम्मा विकास निर्माण सेवा सिराहाले लिएको सडक कार्यालयले जनाएको छ । तर, कालोपत्रे र आरसिसी ढलान दुवै काम गुणस्तरहीन भएको जनप्रतिनिधि, स्थानीय व्यापारी र सर्वसाधारणको गुनासो आएपछि इलाका प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघसँगै कटारी नगरपालिकाले कान ठाडो पारेका हुन् ।