विश्वकप महाकुम्भ, आयोजक रसिया र साउदी अरेबिया भिड्दै

एजेन्सी
मस्को

 

विश्व फुटबलको कुम्भमेला २१औं संस्करणको रसिया विश्वकप फुटबल प्रतियोगिता युरोपियन राष्ट्र रसियामा आजबाट सुरु हँुदै छ । प्रतियोगिताको पहिलो दिन आयोजक राष्ट्र रुसले एसियन राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । खेल नेपाली समयानुसार राति ८ः४५ बजेपछि लुजानकी स्टेडियममा सुरु हुनेछ । उद्घाटन खेलमा कुनै पनि घरेलु टोली पराजित नभएको इतिहास छ । यो खेललाई विश्वकप फुटबलमा सबैभन्दा तल्लो वरियताको खेलको रूपमा हेरिएको छ । यसअघिका कुनै पनि संस्करणहरूमा तल्लो वरियताका टिमबीचको खेल उद्घाटनमा भएको थिएन । यसअघिका संस्करणहरूमा साबिकको विजेता टिमले अन्य कुनै टिमसँग उद्घाटन खेल खेल्ने तालिका रहँदै आएको थियो ।

दुवै टोली पहिलो खेलमा जित हात पार्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । घरेलु टोली रसियालाई घरेलु दर्शक र मैदानको साथ रहनेछ । घरेलु मैदानमा घरेलु टोलीले पराजित भएको कुनै पनि दर्शकले हेर्न चाहँदैन । त्यसैले घरेलु टोलीलाई निश्चित जितबाहेक कुनै विकल्प छैन । पहिलो खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई पराजित गर्दै घरेलु टोली रसिया दोस्रो चरणको सम्भावना जीवितै राख्ने लक्ष्यमा हुनेछ । सोभियत संघको नामबाट प्रतियोगिता खेलेर चौथो स्थान हात पारेको अहिलेको रसियाले (रसिया) को नामबाट विश्वकपमा तीनपटक सहभागिता जनाए पनि समूह चरण पार गर्न सकेको छैन । घरेलु
मैदानमा आयोजना हुने प्रतियोगिता नै रसियाका लागि समूह चरण पार गर्ने एक अवसर हुनेछ ।

रसियाका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसभले विश्वकपका लागि टोली पूर्ण रूपमा तयार भएको बताएका छन् । हामी साउदीविरुद्धको पहिलो खेलका लागि पूर्ण रूपमा तयार छौं । हामीलाई घरेलु मैदान र दर्शकको साथ र दबाब पनि छ ।’ खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा चेर्चेसभले भने, ‘विपक्षीको अवस्था हेरेर खेलको रणनीति तयार पार्नेछांै । पहिलो खेलमा सफलता हात पार्दै दोस्रो चरणको यात्रा बलियो बनाउनेछौं ।’ प्रशिक्षक चेर्चेसभले मैत्रीपूर्ण खेलहरूमा टिमको प्रदर्शन सन्तोषजनक नरहे पनि टिममा देखिएका कमीकमजोरीलाई सुधार गरेका कारण साउदीविरुद्ध जित निकाल्न टोली सक्षम रहेको बताएका छन् ।
यता एसियन पावर हाउस साउदी अरेबियाले पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्दै दोस्रो चरण पुग्ने लक्ष्यसहति मैदान उत्रने पक्का छ । १९९४ मा भएको विश्वकपबाट विश्वकप खेल्न सुरु गरेको साउदी अरेबियाको विश्वकपमा प्रदर्शन सन्तोषजनक नरहे पनि साउदीको यो विश्वकपमा नकआउट चरण पुग्ने लक्ष्य छ । पहिलो संस्करणमा नकआउट चरणमा प्रवशे गर्नु नै साउदीको सबैभन्दा ठूलो उपलब्धि हो । त्यही उपलब्धिलाई आत्मसात गर्ने उद्देश्यमा साउदी अरेबिया रहेको छ ।
रसिया र साउदी रहेको समूहमा इजिप्ट र उरुग्वेजस्ता बलिया टोलीहरू रहेका छन् । यी दुई टोलीबीच शुक्रबार खेल हुनेछ । रसियाले ५ असारमा इजिप्टसँग खेल्नेछ । ६ असारमा साउदीले उरुग्वेसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा ११ असारमा रुसले उरुग्वेसँग तथा साउदीले एजिप्टसँग खेल्नेछ ।