डोम जातिका पीडाः ५ बर्ष नकट्दै विवाह तर अझै चल्दैन पानी


रमेश तिमलसिना/ रौतहट-

‘विवाह वारी २० बर्ष पारी’ भन्ने नारा लागेको पनि करिब २ दशक बित्न लाग्यो । तर रौतहटको एउटा डोम बस्तीमा भने अहिलेपनि जन्मेको ५ बर्ष बित्न नपाउदै बिवाह गर्न बाध्य छन् ।
६ बर्ष कटेका अधिकाशं बालबालिकाहरुको बिवाह भइसकेको हुन्छ तर ति बालबालिकाहरुको श्रीमान÷श्रीमती को हुन कहा छन केही थाहा हुदैन । चन्द्रपुर नगरपालिका–८ का ६ बर्षिय अनिल मलिकको बिवाह भइसकेको छ तर उनको श्रीमती कस्ती छिन भन्ने उनलाइ याद छैन ।
उनले भने ‘मेरो बिवाह भैसकेको छ तर श्रीमती आफनै माइतमा छिन म आफनै घरमा छु’ । अलिनलाइ आफनो श्रीमतीको नाम किरण देबी भएको सम्म याद छ ।
उनका बाबु बुधन मालिकले छोरोको ३ बर्षको उमेर मै गौर नगरपालिका पथरा टोलको केटी संग बिवाह गरेको बताए । परम्परागत रुपमा छोरोको बिवाह गरेको बुधनको भनाइ छ । यस्तै गरुडा नगरपालिका–५ महमदपुर निवासी १० बर्षिय सन्जु देबीले पनि २ बर्ष अगाडी बिवाह भएको बताइन ।
बारा जिल्लाको रुपौलिया गाउमा बिजय मलीक संग बिवाह भएको तर श्रीमानलाइ बिवाह भन्दा यता नदेखेको सन्जु देबीको भनाइ छ । सन्जुले भनिन ‘मेरो बिवाह भयो तर केटो कस्तो छ ,के गर्छ केही थाहा छैन ।’
वाल बिवाहमा अध्यस्त डोम परिवारमा केही महिना अघि भने स्थानीयको दवावमा एउटा बवाह रोकियो । गरुडा नगरपालिका–५ महमदपुरमा ८ बर्षिय अर्जुन मलिकको विवाह गर्दा गदै रोकिएको हो । अर्जुनका बुबा अच्छेलाललाइ स्थानियले दबाब दिएपछि विवाह रोकिएको हो । डोम जातीको करिब ९५ प्रतिशत बालबालिकाहरुको बाल विवाह नै हुन्छ तर रोक्ने निकाय मौन छ । रौतहटमा करिब ६ सय घरपरिवार अर्थात २ हजारको संख्यामा डोम जातीहरु बस्ने गर्दछन । प्राय सबैले ३ बर्ष देखी १० बर्षको उमेर भित्र विवाह गरिसकेका हुन्छन । ति बालबालिकाहरु बिद्यालय पनि जादैनन ।
वाल विवाह मुक्त बनाउन दवाब समुह

डोम जातीमा बाल बिवाह बढी हुने भएको कारण डोम समुदायबाट नै वाल विवाह न्युनिकरण गर्ने लक्ष्यका साथ बाल विवाह मुक्त बनाउन स्थानिय उपेन्द्र मलिकको संयोजकत्वमा समुह गठन गरिएको छ ।
सो समुहले वाल बिवाह रोक्ने,डोम जातीका बालबालिकालाइ बिद्यालय पठाउन सक्रिय बनाउने,सरसफाइमा सक्रिय बनाउने,कुलतलाइ नियन्त्रण गर्ने र आय आर्जनको लागी सक्रिय बनाउने लगायतको कार्य गर्ने बाल अधिकारकर्मी भाग्य नारायण महतो जानकारी दिए । बाल विवाह न्युनिकरण मधेशमा ठुलो चुनौतीपुर्ण काम भएको महतोको प्रतिक्रिया छ ।
चन्द्रपुर—८ बाल विवाह मुक्त घोषणा
रौतहटको चन्द्रपुर नगरपालिका– ८ प्रदेश २ कै पहिलो वार्डको रुपमा बाल विवाह मुक्त घोषणा भएको छ । गत ६ जेठमा एक कार्यक्रमका बिच वाल विवाह मुक्त वार्डको रुपमा चन्द्रपुर —८ लाइ घोषणा गरेको सो बडा अध्यक्ष पासपत चौधरीले बताए ।
हामीले छोएको पानी चल्दैन
डोम जाती बाँसको समान बनाउछन । उनीहरुले बासका समानहरु पबित्र पर्व छठ देखी पुजा कोठामा सजाइन्छ । तर अझै चल्दैन ।
हामीले बनाएको छैटी, भकारी, बेरी, फुल राख्ने भाडो लगायतका समानहरु माथिल्लो जातका भन्नेहरुले पुजा कोठामा पुजा गर्छन तर हामीले दिएको पानी भने खादैनन,’ डोम जातिका हरुो सामुहीक गुनासो हो यो ।
‘आफुले बनाएको समान हुनेखाने तथा माथिल्लो जात भन्नेहरुले पुजा कोठामा लगेर सजाउछन तर आफुले छोएको पानी समेत नखाने समाजमा के काम गरु ?’ गडीमाइ नगरपालिका–८ बरियारपुर निवासी सायब मलिक भन्छन् ।
‘होटल गरु भने कोही पनि खान आउदैन,मासुको पसल गरु भने मासु लिन कोही आउदैन अब म के गरु ?’ उनको गुनासो छ । डोम जातीको पुखौली पेशा भनेको बासको छैटी, पंखा, बेरी, भकारी आदी समान बनाउने हो । ति सामान लोप हुदै गएपछि उनीहरुको पेशा पनि संकटमा परेको छ । यस्तै संकटमा छन चन्द्रपुर नगरपालिका – ८ बस्तीपुरमा बुधन मालिक आफुहरुले संगुर पाल्दै आएको भएता पनि समाजले छिछि र दुरदुर गरेपछि सुंगर पनि पाल्न छाडेको बुधनले बताए । ‘बस्ने बास छैन, रोजी रोटी छैन, केही गरु भने कसैले किनिदैन, खाइदिदैन ठुलो पिडामा छौ ’ उनले भने । बुधनले थपे ‘बिदेश जाऔ भने पनि पैसा छैन ,सापट माग्यो भने कसैले पनि नदिने भएपछि जिवन यापन गर्न नै कठिन छ’, उनको पीडा छ ।

यस्ता पिडा धेरै डोम जातीको छ ।‘डोम’ जात सबै भन्दा पिछडिएको जात त्यसमा पनि अति बिपन्न परिवारको रुपमा चिनिने जात हो । उनीहरुलाइ अधिकार के हो, शिक्षा के हो,बाल विवाह के हो अझै पनि थाहा छैन । बिहान कमाउने बेलुकाको छाक टार्ने र बेलुका कमाउने भोली बिहानको छाक टार्ने उनीहरुको नियती नै भइसकेको छ ।

समाजले उनीहरुलाइ अझै पनि छुवाछुतबाट मुक्त भएको स्वीकार्न सकेको छैन । उनीहरुको न त घर छ न त ठेगाना । जहा बस्छन त्यही घर । प्राय उनीहरु सार्वजनिक जमिनमा बस्दै आएका छन । बिभिन्न गैर सरकारी संस्थाले बिद्यालय बाहिर बालबालिका मुक्त, भर्ना अभियान, बाल विवाह मुक्त,बाल अधिकार लगायतमा मानब अधिकारका बारेमा बहस चलाएको भएतापनि ति समुदायलाइ केहीले छुन सकेको छैन ।