कर्मकाण्डी अनुगमन

कर्मकाण्डी अनुगमन

 

लमजुङका अधिकांश औषधी पसल नियमविपरीत सञ्चालन भइरहेको खबरले स्थानीयबासीलाई झस्काएको छ । औषधी व्यवस्था विभागको टोलीले जिल्लाका विभिन्न भागमा गरेको छड्के अनुगमनका क्रममा औषधी पसलहरू नियमविपरीत सञ्चालनमा रहेको पाइएको हो । जिल्लाको बेंसीसहर, सुन्दरबजार, मध्येनेपाल, भोटेओडार, सिउँडीबजार, पाउँदीलगायतका स्थानमा रहेका विभिन्न औषधी पसलमा अनुगमन गरिएको थियो । जसमध्ये धेरैजसो पसलले कानुनबमोजिमका प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएको हो । यस्ता कतिपय पसलहरूमा लागू तथा मनोद्विपक औषधी बिक्री भइरहेको, औषधी बिक्रीको अभिलेख दुरुस्त नरहेको, दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ ।

कुनै पनि औषधी बिक्री वितरण अत्यन्त संवेदनशील काम हो । यो प्रत्यक्ष स्वास्थ्यसँग गाँसिएको हुन्छ । यसमा थोरै मात्र लापरवाही हुँदा पनि जोकसैको जीवन तलमाथि पर्न सक्छ । मानवीय क्षतिको सम्भावना निम्तिन सक्छ । प्रतिबन्धित औषधीहरू खुलेआम बिक्री वितरण हुँदा त्यसले मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्ने त छँदैछ, यसबाट समाजमा अनेक विकृति विसंगतिसमेत फैलन सक्छ । विश्वासकै भरमा कतिपय सेवाग्राही औषधी पसलमा पुग्छन् र औषधी किन्ने गर्छन् । रोग निको हुने आशाले निःसंकोच औषधी प्रयोग गरिरहेका हुन्छन् । उसले रत्तिभर पनि यस्ता पसलप्रति शंका गरेको हुँदैन । तर यस्ता औषधी पसलहरू समेत अनियमित तरिकाले सञ्चालनमा रहेको पाइनु र जथाभावी औषधी बिक्री वितरण भइरहेको देखिनु जनविश्वासमाथिको चरम खेडवाड नै हो ।

प्रतिबन्धित औषधीहरू खुलेआम बिक्री वितरण हुँदा त्यसले मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्ने त छँदैछ, यसबाट समाजमा अनेक विकृति विसंगतिसमेत फैलन सक्छ । विश्वासकै भरमा कतिपय सेवाग्राही औषधी पसलमा पुग्छन् र औषधी किन्ने गर्छन् । रोग निको हुने आशाले निःसंकोच औषधी प्रयोग गरिरहेका हुन्छन् । उसले रत्तिभर पनि यस्ता पसलप्रति शंका गरेको हुँदैन । तर यस्ता औषधी पसलहरू समेत अनियमित तरिकाले सञ्चालनमा रहेको पाइनु र जथाभावी औषधी बिक्री वितरण भइरहेको देखिनु जनविश्वासमाथिको चरम खेडवाड नै हो

लमजुङमा प्रक्रिया नपु¥याइकन औषधी पसल सञ्चालन भइरहेको देखिनुले देशका अन्य जिल्लामा पनि यस्ता पसल रहेको सहजै बुझ्न सकिन्छ । कमजोरी यस्ता पसल सञ्चालनकर्ताहरूको मात्रै होइन । औषधी विभागले जसरी अनुगमनको प्रक्रियालाई जारी राख्नुपर्ने थियो, त्यसो नहुँदा पनि समस्या देखिने गरेको छ । कतिपय अवस्थामा अनुमगनलाई औपचारिकतामा सीमित राख्नु, यसलाई समय समयमा नियमित नगरिनु, अनुगमनलाई सुगम ठाउँमा मात्र सीमित गर्नाले पनि खराब नियत बोक्नेहरूले छुट पाएका हुन् ।

यसैगरी विधिसम्मत् ढंगलाई सञ्चालनका लागि कडाई नगरिनु, दोषीलाई कार्बाही गर्न फितलो कानुन हुनु, भएका नियम कानुनलाई पनि व्यवहार उतार्न उदासिन हुनु, कर्मचारी प्रशासनको परम्परागत कार्यसम्पादन शैलीले निरन्तरता पाइरहनु, नियमबमोजिम अघि बढ्न चाहनेलाई पनि झन्झटिलो प्रक्रियाले अल्झाइनु जस्ता कारणले पनि आँखा छल्नेहरूले उन्मुक्ति पाउने गरेका छन् । यसर्थ यो प्रकरणमा औषधी पसल सञ्चालकहरूलाई मात्र दोषारोपण गर्न मिल्दैन । कमजोरी जहाँबाट भएपनि अन्तिममा त्यसको असर पर्ने भनेको जनस्वास्थ्यमा नै हो । यसैले यो सवालमा कुनै पनि विलम्ब नगरीकन प्रभावकारी कदम चाल्न सक्नुपर्छ ।