जुँगे झाँक्रीको भूत सार्वजनिक

धादिङ /रास– पत्रकार एवं साहित्यकार केशव दुवाडीको बाल कथासंग्रह ‘जुँगे झाँक्रीको भूत’ सार्वजनिक भएको छ । धादिङबेंसीमा भएको एक कार्यक्रममा दुवाडीको कथासंग्रहको विमोचन भएको हो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले उक्त कथासंग्रहको संयुक्त रूपमा विमोचन गरेका थिए ।

नौवटा कथा समावेश भएको बाल कथासंग्रह ‘जुँगे झाँक्रीको भूत’का विषयमा धादिङका अग्रज साहित्यकार बद्रीप्रसाद दाहालले टिप्पणी गरे । कथासंग्रहमा समावेश भएका कथाबाट सामाजिक सन्देशका साथसाथै भरपुर मनोरञ्जन पनि पाउन सकिने दाहालले बताए । उनले साहित्यको क्षेत्रमा अग्रसर दुवाडीका कथा रोचक तथा मनन योग्य रहेको बताउँदै सबै उमेर समूहका लागि पठनीय सामग्रीले भरिपूर्ण रहेको पनि उल्लेख गरे । छोटो समयमा प्रकाशित कृतिबारे टिप्पणी गर्नु ज्यादै जटिल काम भएको बताउँदै साहित्यकार दाहालले कथा सरल, छोटो र मीठो रहेको पनि बताए । मूलतः यो पुस्तक बालबालिकाहरूका लागि अति उपयोगी हुने समेत उनले टिप्पणी गरे ।

यसैबीच पुस्तकबारेमा बोल्दै कथाकार केशव दुवाडीले बाल अधिकार र संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा बाल साहित्यप्रति पनि रुचि बढ्दै गएको र सोही क्रममा लेखिएका कथा त्यति बेला विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित र सोही फुटकर कथाहरूको एकीकृत रूपबाट पुस्तक तयार भएको बताए ।

त्यतिबेला कथाका अंशहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा शुभेच्छुकहरूले यसलाई पुस्तक संग्रहका रूपमा प्रकाशित गर्न दिएको सुझावबाट पुस्तक तयार भएको उनले कार्यक्रममा बताए ।

४० पृष्ठको कथा संग्रहमा नौवटा कथा समावेश छ । आवाज अभियान नेपाल नीलकण्ठ नगरपालिका धादिङले प्रकाशन गरेको कथासंग्रहको भूमिका नेपाल बाल साहित्य समाजका उपाध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले लेखेका छन् । नेत्रावती छापाखाना गल्छी धादिङले प्रकाशन गरेको पुस्तकको मूल्य १०० रुपैयाँ छ । यसैबीच कथामा देवेन्द्र थुम्केलीले चित्रांकन गरी कथालाई अझै जीवन्त पारिदिएका छन् ।