सामुदायिक वन र अगुवाको इतिवृत्तान्त

सामुदायिक वन र अगुवाको इतिवृत्तान्त

एकराज पाठक

सामुदायिक वन नेपालका  थोरै सफलताका कथामा पर्ने एउटा सफलता हो । यस विषयमा नेपाल र विश्वका अरू देशका पनि कैयौं व्यक्तिले विद्यावारिधि गरिसकेका छन् । यस्ता अनुसन्धाता यो सफलताको चुरो खोज्दै जाँदा ठोकिने ठाउँ हो ठोकर्पा । अनि ती अन्वेषणकर्ताको शोध नीलप्रसाद भण्डारीको अन्तरवार्ताबिना पूर्ण पनि हुँदैन । अनि उनको रेडिमेड एउटा जवाफ आउँछ, ‘ठोकर्पाको वन रोपेको मैले नै हो र जीवनभर वनपाले भएर यसलाई हुर्काएको हुँ ।’ यो उनको करिब ४ दशक लामो योगदानको सम्मान नेपाल सरकारले दुई वर्षअघि गरेको छ । नेपालको पहिलो सामुदायिक वन ठोकर्पा र यसका पहिलो अभियन्ता नीलप्रसाद भण्डारी नै भनेर नेपाल सरकारले निर्णय गरेको छ । यसले आफ्नो जीवनको अथक प्रयास सार्थक भएकोमा उनी पुलकित छन् ।

यही विषयवस्तुको सेरोफेरोमा रहेर हालै प्रकाशन गरिएको पुस्तक हो, ‘ठोकर्पा सामुदायिक वन ः विश्वको पहिलो अभियान’ । हामी नेपालीहरू अनुसन्धानमा पछाडि छौं । विश्वविद्यालय होस् वा अन्यत्र अनुसन्धानले खासै स्थान पाएको हामी देख्दैनौं । सामुदायिक वनको हालत पनि यस्तै हो । यसमा अनुसन्धान गर्नेहरूका लागि नेपालको पहिलो यस्तो वन कुन हो र यसका अभियन्ता को हुन् भन्ने बारेमा निकै नै द्विविधामा उनीहरू हुन्थे । तर, ढिलै भए पनि सरकारले यसको खोजी गरेर सार्थक प्रयासहरूको सम्मान गरेको छ । यस पुस्तकमा भण्डारीको व्यक्तित्व, उनको राजनीतिक जीवन र समाजसेवीका रूपमा गरेका योगदानहरूलाई समेटिएको छ । २०३० बाट उनले राजनीतिक जीवनसँगसँगै किन र कसरी सिन्धुपाल्चोकको ठोकर्पा क्षेत्रलाई हरियाली बनाउने अठोट गरे भन्ने इतिहास यसमा छ । उनले आफ्नो वन आफैं लगाऊँ आफंै हुर्काऔं भन्ने भावनाका साथ २०३१ सालमा ठोकर्पाबाट यो अभियान सुरु गरेका हनु् । नेपालमा सुरुवातै नभएको जनताको रेखदेखमा वन हुर्काउने उनको पहिलो प्रयासलाई सरकार र वन प्रशासनले कसरी मान्यो होला त ? तपाईंहरू व्यक्तिले नै वन हेर्ने हो भने हामी कर्मचारीको के काम भयो त भनेर उनलाई वन कार्यालयका हाकिम अथवा समग्र वन प्रशासनले नै दिएको दुःखका कैयौं कथाव्यथा यसमा समेटिएका छन् । आजभन्दा करिब ५० वर्ष नै अघि वनको महŒव थाहा भएर आफ्नो जिल्ला गाउँठाउँ र त्यसपछि देशलाई नै हरियाली बनाउनुपर्ने प्रेरणा उनमा कसरी आयो, कसले दियो भन्ने विषयका रोचक प्रसंगहरू यस पुस्तकमा समेटिएका छन् । सदरमुकाम र राजधानी काठमाडौंको वस्ती प्रतिदिन घना बन्दै गएपछि राम्रा रुख काटेर त्यतातिर लाने प्रवृत्ति देखेका नीलप्रसादले अब आफ्नो जंगल आफंैले लगाउने, हुर्काउने व्यवस्थापन पनि आफंैले नगर्ने हो भने भोलि आफ्ना गाउँपाखा उजाड बन्दै जाने देखेर उनले यो अभियान थालेका हुन् । अहिले यसैले नेपालको पहिलो सामुदायिक वनको मान्यता पाएपछि त झन् खुसी नहुने कुरै भएन ।

पुस्तकलाई तीन प्रमुख खण्डमा बाँडिएको छ । पहिलो खण्डमा ठोकर्पा सामुदायिक वनकै बारेमा आवश्यक खोज अनुसन्धान गरी लेखिएको छ । ठोकर्पा वन हुर्काएदेखि यो विश्वकै पहिलो अभियान कसरी बन्यो भन्ने प्रसंग छ । दोस्रोमा नीलप्रसाद भण्डारीको व्यक्तित्व र उनको अभियानबारे समेटिएको छ  र तेस्रो खण्डमा नीलप्रसादलाई मानिसहरू कसरी हेर्छन् र चिन्छन् भनेर उनको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारिएको छ । यसरी उनी प्रधानपञ्च, जिल्ला पञ्चायतको नेतृत्वसम्मबाट गरेका सामाजिक सेवा, आफू अस्ट्रेलिया पुग्दा त्यहीँका एक प्राध्यानाध्यापकबाट ठोकर्पा सामुदायिक वनबारे चर्चा सुनेपछि नेपाल फर्किएर राजा वीरेन्द्र आफूले हुर्काएको वन हेर्न ठोकर्पा नै पुगेको प्रसंग र नेपालको सामुदायिक वनको अध्ययनका क्रममा पुग्ने विश्वका विद्यार्थीका कारण उक्त वन एक सुप्रसिद्ध अनुसन्धान स्थल बनेको प्रसंग कुनै पनि मानिसको जीवनका लागि अत्यन्तै प्रेरणादायी छ । एक जना व्यक्तिले गरेको यो प्रयासबाट देशको लागि केही गरौं भन्ने भावनाका मानिसले प्रशस्त मात्रामा प्रेरणा लिन सक्नेछन् ।

२०७२ को भूकम्पले सिन्धुपाल्चोकलाई अरू भन्दा बढी दुःख दियो । घरगोठ भत्किए, जनता बेघर भए । यस्तो बेलामा जनताले घर बनाउने काठका लागि सरकारको मुख ताक्न परेन । आफ्नै गाउँमा हुर्किएको वनबाट उनीहरू लाभान्वित भए, घरबास बनाएर बस्न पाए । आफ्नो जीवनको यो पनि एक खुसीको क्षण हो भन्छन् भण्डारी । मेरो प्रयासलाई ढिलै भए पनि राज्यले आत्मसात गरेकोमा आफू खुसी भएको उनको अनुभूति छ । उनी अहिले पनि अनुसन्धाताको प्रश्नको जवाफका लागि हरदम तयार नै भएर बस्छन् । घरमा पुग्ने यस्ता अनुसन्धाताहरूका लागि उनी एक व्यक्ति नभएर संस्थाका रूपमा रहेका छन् त्यसैले यो पुस्तक उनको जीवनीमा मात्र केन्द्रित छैन कि वन अध्ययनका विद्यार्थी र शोधार्थीका लागि पनि उपयुक्त छ । नेपालको सामुदायिक वनको इतिवृत्तान्त समेटेर ५ सय पृष्ठको पुस्तक तयार पारेकोमा पूर्वमन्त्री दीनबन्धु अर्याल संयोजक रहेको पुस्तक प्रकाशन समितिका सदस्य तथा पदाधिकारीहरू धन्यवादका विशेष पात्र बनेका छन् । नेपालमा सामुदायिक वनको सफल अभ्यास प्रत्यक्ष रूपमा देखिए पनि यसको सुरुवात र विगत खोतल्न निकै गाह्रो भइरहेका बेला यस क्षेत्रका विद्यार्थी, शोधार्थी र अध्येताहरूले पनि यस पुस्तक प्रकाशन समितिलाई विशेष धन्यवाद दिनैपर्ने हुन्छ ।