कविता महोत्सव र पुरस्कार बहिष्कार

कविता महोत्सव र पुरस्कार बहिष्कार

घनेन्द्र ओझा

 

नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान)ले हरेक वर्ष २ असारमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । विगतमा राजा कुलपति हुने यस निकायले गर्ने कविता महोत्सवमा पनि दरबारबाटै कविताको शीर्षक दिइन्थ्यो । देशभरका कविबाट प्राप्त कवितामध्ये ‘उत्कृष्ट’ (सिर्जनाको ‘उत्कृष्टता’बारे व्यक्तिपिच्छे धारणा हुन सक्छन्)लाई प्रथम, द्वितीय र तृतीय घोषित गर्ने परम्परा अद्यापि कायम छ ।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि राज्यद्वारा स्थापित भएको हुँदा प्रज्ञा प्रतिष्ठानले यस सम्बद्ध गोष्ठी, अन्तक्र्रिया, महोत्सव, प्रतियोगिता आयोजना गर्नु उसको कार्यक्षेत्रभित्रै पर्ने कर्महरू हुन् । तर, यसले आयोजना गर्ने हरेकजसो यस्ता कार्यक्रममा शासकको वा राज्यसत्ताको प्रभाव रहिरहन्थ्यो ।

राजा नै कुलपति हुनु, दरबारले नै कविताको विषय दिनु र पुरस्कृतलाई राजाकै हातबाट पुरस्कार वितरण गर्ने परम्परा रहनुले पनि सोझै राज्य वा शासकको प्रभाव रहन्थ्यो भन्ने बुझ्न गाह्रो हुँदैन । त्यसैले भनिन्थ्यो, ‘कविता महोत्सव शासकको स्तुति गाएर दरबारका कवि उत्पादन गर्ने बहाना मात्र हो ।’ यो धेरै हदसम्म तथ्य पनि हो । पछि बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् भने कविताका विषय खुला गरियो, । यद्यपि, कवितामा प्रयोग हुने शब्द, भाषाशैली र प्रस्तुतिमा सीमा राखियो ।
सर्जकलाई र सिर्जनालाई निश्चित सीमामा बाँध्नु सिर्जना र सर्जकलाई न्याय गर्नु कदापि होइन तर प्रज्ञा प्रतिष्ठानले आजपर्यन्त त्यसलाई तोड्न सकेको छैन । जे भए पनि प्रज्ञा प्रतिष्ठानले निरन्तर आफ्नो धर्म निर्वाह गरिरहेकै छ, कहिले नाटक महोत्सव त कहिले कविता महोत्सव गरेर । भन्न मन लाग्छ– यसो पनि नगरे त राजनीतिक र व्यक्तिगत प्रभावका कारण नियुक्त प्राज्ञहरूको जागिरमा देखिने काम पनि त नहोला । त्यसो त प्रज्ञा प्रतिष्ठानले विभिन्न लेखकलाई लेखनवृत्ति पनि दिने गरेको छ । विभिन्न विषयमा पुस्तक लेख्न, अनुसन्धान गर्न निश्चित रकम लेखक÷अनुसन्धातालाई दिँदै आएको छ । यसबाट पनि नेपाली भाषा साहित्यले केही न केही उपलब्धि त पाएको छ नै, त्यसभन्दा बढी केही प्राज्ञका आसेपासे ‘लेखक’÷‘अनुसन्धाता’लाई जाउलो जोड्ने मेसो पनि भएको छ ।

सन्दर्भ कविता महोत्सवतिरै मोडौं । प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष कविता महोत्सव गर्छ÷गरिरहेको छ (बीचमा दोस्रो जनआन्दोलनपछिको संक्रमणकालमा केही समय रोकिएको भए पनि) । तर, यस महोत्सवको र महोत्सवपछि घोषित नतिजाबारे प्रायः सबैजसो महोत्सवमा विवाद भइरह्यो, मदन पुरस्कारमा जस्तै । यसको प्रमुख कारण थियो– प्रज्ञा प्रतिष्ठानको अव्यवस्था । बिरालो बाँधेर श्राद्ध गर्ने परम्परा जस्तै परम्परा धान्न मात्र महोत्सव गरिएको आभास हुन्थ्यो । निर्णायकको नाम सार्वजनिक गरिँदैनथ्यो भने प्रतिष्ठानमै कार्यरत कर्मचारीलाई समेत प्रतियोगितामा सहभागी गराएर पुरस्कृत गरिन्थ्यो । यसले आमजनमा शंका स्वाभाविक रूपमै उत्पन्न गराउँथ्यो । त्यसो त निर्णय हुनुपूर्व नै फलानो फलानो पुरस्कृत हुँदै छन् भनेर सार्वजनिक बहस हुन्थ्यो र हुनेवाला पुरस्कृतले जाँड पार्टी गर्न भ्याइसक्थे । यस्तो लापर्बाहीपूर्ण स्थिति लामो समयसम्म कायम रह्यो कविता महोत्सवका सन्दर्भमा ।

सन्दर्भ थियो, १९ माघ २०६१ पछिको । राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई अक्षम घोषणा गरेर राज्यको कमान आफ्नो हातमा लिएका थिए । राजाको निरंकुशताप्रतिको विरोध विस्तारै विद्रोहका रूपमा उठ्दै थियो । प्रज्ञा प्रतिष्ठानले कथा महोत्सव, नाटक महोत्सव र कविता महोत्सव जारी राखेको थियो । त्यही वर्ष कथा महोत्सवमा चंकी श्रेष्ठ (अहिले अभय), सविना सिन्धुलगायत पुरस्कृत भए । त्यसअघिको कविता महोत्सवमा स्वागत नेपाल, मायामितु न्यौपाने, बुद्धिसागर चपाईं (अहिले बुद्धिसागर)लगायत पुरस्कृत भएका थिए ।
केही क्रान्तिकारी र कम्युनिस्ट विचारधारामा विश्वास गर्ने भएकाले मैले कथाकार चंकी श्रेष्ठलाई पुरस्कार बहिष्कार गरेर प्रज्ञा प्रतिष्ठानमा सुधार गर्न चुनौती दिनुहोस् भनेर अनुरोध गरें । उनले गर्वका साथ पुरस्कार थापे तर चुनौती दिन र लिन दुवै चाहेनन् । यही प्रस्ताव बुद्धिसागर, स्वागत नेपाल र मायामितु न्यौपानेसँग पनि राखें, उनीहरूले पनि यो चुनौती दिन÷लिन चाहेनन् । हुन सक्छ, त्यसबेलाको निरंकुश ज्ञानेन्द्र सरकारको डर भयो उनीहरूमा वा पुरस्कारप्रतिको लोभ ।

मलाई लाग्यो– हरेक वर्ष आयोजना हुने राष्ट्रिय कविता महोत्सवमा एक महिला कवि र एक छन्दकविता पुरस्कृत हुने गर्छ । मैले यस्तो गज्जबको चुनौती किन नउठाऊँ र प्रज्ञा प्रतिष्ठान सुधारका लागि प्रयास किन नगरूँ ? त्यसो त चुनौती भने निरंकुश शासनको उत्तिकै थियो । कारण, पुरस्कृत भएर पुरस्कार बहिष्कार नै गर्दा त राजाको हातबाट दिइने पुरस्कार लिन्नँ भन्नु झनै खतरनाक थियो ।
मलाई प्रज्ञा प्रतिष्ठानमा धेरैले चिन्थें र फरक नाममा कविता दर्ता गराउँदा सुरुमै प्रश्न उठ्न सक्थ्यो । यसर्थ, मेरा अनन्य मित्र, जो अहिले अमेरिकामा छन् र साहित्यका क्षेत्रमा खासै चिनिएका थिएनन्, निदेश अधिकारीलाई विभूति शर्मा नामबाट ‘चराहरू’ शीर्षकको कविता दर्ता गर्न अनुरोध गरें । उनले दर्ता गरिदिए । ठेगाना सुभाङ, पाँचथर राखेको थिएँ ताकि कसैले त्यो कवि म हुँ भन्ने अगाडि अनुमान नगरून् र मेरो जन्मस्थल पनि हो सुभाङ, पाँचथर ।
मैले कविता दर्ता गर्नुअघि नै केही साथीलाई भनेको थिएँ कि यो कविता वाचनमै निस्कँदैन, वाचनमा निस्कियो भने पुरस्कृत भएर मात्र निस्कन्छ । नभन्दै कविता वाचनमा निस्कियो, म लगभग विश्वस्त भइसकेको थिएँ कि कविता पुरस्कृत भयो । तर, कुन स्थान हासिल ग¥यो भन्नेचाहिँ परिणाम सार्वजनिक भएपछि मात्र थाहा हुने भयो ।
मैले यसो भन्नुको तात्पर्य थियो । कविता पुरै र स्पष्ट रूपमा राजा ज्ञानेन्द्रको शासनविरुद्ध केन्द्रित थियो । शीर्षक ‘चराहरू’ थियो भने भित्र यस्तो थियो–
बुझो लगाएर चुच्चोमा
काटिएका पखेटा
कहिले पलाउलान् ?
कहिले थुतिन्छ बुझो ?
कहिले सुन्न पाइएला
मधुर चिरबिराहट– चराहरूको ?

नजरबन्द गरेर चराहरूलाई
यातनार्पूवक हत्या गरिन्छ
जब सपनाको कालो दिनको स्वागतमा ढोल पिट्नेहरूलाई
थाहा हुर्नुपर्छ यत्ति
– चराहरूको कुनै देश हुँदैन
– सपनाहरूको कुनै जात हुँदैन ।

यो कविता त्यसबेलाको निरंकुश राजा ज्ञानेन्द्रको शासनमा, त्यसमाथि राजा नै कुलपति भएको र राजाले नै पुरस्कृत गर्ने महोत्सवमा वाचनमा छनोट हुनु नै आश्चर्यको विषय थियो । महोत्सव चलिरहँदा हलभित्र कवि प्रोल्लास सिन्धुलीय र मसँगै थियौं ।
कविता वाचनका निम्ति उद्घोषकले विभूति शर्माको नाम बोलाइन् । विभूति उपस्थित थिइनन् (यद्यपि, म उपस्थित थिएँ तर घनेन्द्र ओझा), त्यसपछि कवि सन्ध्या पहाडीले उक्त कविता वाचन गरिन् । मैले छेवैमा रहेका कवि प्रोल्लास सिन्धुलीयलाई भनें सुटुक्क– दाजु, मेरो एउटा कविता पुरस्कृत भयो । उनले पत्याएनन् । म त्यहाँबाट उठेर हिँडें– मैले अब पुरस्कार बहिष्कारको विज्ञप्ति निकाल्नु थियो ।

मेरा त्यसताकाका नजिकका मित्र थिए कवि पदम गौतम र सुरेश सुवेदी । मैले तत्काल खबर गरें र अनामनगरमा भेटियौं । मैले मेरो उक्त कविता महोत्सवमा पठाउनुको उद्देश्य बताएँ उनीहरूलाई । उनीहरूले पनि खुसी व्यक्त गरे र तीन भाइ बसेर पुरस्कार घोषणा हुनुपूर्व नै पुरस्कार बहिष्कारको विज्ञप्तिको ड्राफ्ट तयार पा¥यौं । विज्ञप्तिमा प्रज्ञा प्रतिष्ठानका कमी कमजोरी र शासकमाथि प्रहार एकैपटक गर्ने तयारी ग¥यांै ।
माथि पनि भनियो कि प्रतिष्ठानले हरेक वर्षजसो एक महिलालाई प्रायः तृतीय बनाउँथ्यो भने एउटा छन्द कवितालाई द्वितीय, चाहे कविता उत्कृष्ट होस् वा कमजोर । अनि आफ्नै प्रतिष्ठानकै कर्मचारीलाई सहभागी गराएर महोत्सवमा पुरस्कृत पनि गथ्र्यो । सँगसँगै यसको निर्णय प्रक्रियामाथि पनि शंका गर्ने ठाउँ दिएको थियो– निर्णायकको नाम सार्वजनिक नगरेर ।
यी महŒवपूर्ण कमजोरी थिए प्रतिष्ठानका । जसका कारण प्रायः महोत्सव विवादरहित हुन सकेनन् । त्यसै वर्ष प्रतिष्ठानमै कार्यरत कर्मचारी भरत भारद्वाजलाई द्वितीय बनाइयो (जसका दाजुहरू यसअघि पनि पुरस्कृत भइसकेका थिए) ।
विज्ञप्तिमा यिनै विषय उठाएर त्यसमा सुधारका लागि चुनौती दिइयो । सँगसँगै ‘पुरस्कारबापत कविले प्राप्त गर्ने रकम तत्कालीन शासकको वार्षिक भत्तामा गाभियोस्’ भनेर उल्लेख गरियो, जुन त्यस समय अत्यन्तै खतरनाक र जोखिमपूर्ण थियो ।

मिडियामा निकै चर्चा भयो यस सन्दर्भको । कारण– पाँच दशकको प्रज्ञा प्रतिष्ठानको इतिहासमा पहिलोपटक पुरस्कार बहिष्कार भएको थियो । तर, पुरस्कार खोसिएको घटना भने यसअघि पनि भएको थियो– अहिलेका दुई जना प्रतिष्ठानकै प्राज्ञ श्रवण मुकारुङ र शशि लुमुम्बूको । मुकारुङको पुरस्कार पूर्वप्रकाशित कविता भएका कारण खोसिएको थियो भने लुमुम्बूले कला राईको नाममा सहभागिता जनाएको कविता भएकाले । त्यसबेलाका काव्य विभाग प्रमुख वैरागी काइँलाले भनेका थिए रे लुमुम्बूलाई ‘यो त महिलाका लागि छुट्याएको कोटा पो हो हौ †’ यसबाटै प्रस्ट हुन्थ्यो कि महोत्सवमा कविता होइन, लिंग, व्यक्ति, भाइ, भतिज, बहिनी, नातिनी पुरस्कृत हुन्थे ।

अँ, पुरस्कार बहिष्कारपछि बहिष्कार गर्ने कवि विभूति शर्माबारे व्यापक खोजी भयो । बाध्यता थियो कि मैले भूमिगत नै रहनुपर्छ । साथीहरूले अनेक व्यक्तिमाथि शंका गरे, चर्चा अनेक व्यक्तिको भयो । अन्ततः दोस्रो जनआन्दोलन सफल भयो र देश गणतन्त्रमा प्रवेश ग¥यो । त्यसपछि प्रतिष्ठानका कुलपतिसमेत जनताकै छोरो बन्ने परम्परा बस्यो । वैरागी काइँला कुलपति र गंगाप्रसाद उप्रेती उपकुलपति बने । २०६२ को महोत्सवको पुरस्कार वितरण गर्ने कार्यक्रम बनायो प्रतिष्ठानले । राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गर्ने परम्पराको सुरुवात भयो फेरि ।
प्रज्ञा प्रतिष्ठानबाट एक दिन फोन आयो, कवि सन्ध्या पहाडीले गरेकी रहिछन् । भनिन्, ‘विभूति शर्मा तपाईं हो रे नि ?’ मैले ‘हो’ भनें । उनले उपकुलपतिले एकपटक भेट्न चाहेको बताइन् । म भेट्न गएँ । उपकुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘अब राजाले होइन, राष्ट्रपतिले पुरस्कार दिने हो । लिनुहोस्, हामी नाम पठाउँछौँ ।’
मैले भनें, ‘मैले व्यक्तिका लागि होइन, समग्र प्रतिष्ठानको पद्धति र प्रक्रियाप्रति र शासन व्यवस्थाप्रति चुनौती दिएको हुँ । व्यक्ति वा व्यवस्था परिवर्तन हुँदैमा प्रवृत्ति र पद्धति परिवर्तन हुँदैन । म यो पुरस्कार लिन सक्दिनँ ।’

उपकुलपतिबाट कुनै प्रतिक्रिया आएन । म हिँडें । पछि राष्ट्रपतिकहाँ पुरस्कार वितरणका समयमा विभूति शर्माको नाम पनि लिइएन रे भन्ने सुनें ।र, यस घटनापछि नै हो प्रज्ञा प्रतिष्ठानका घैंटामा घाम लागेको, तर त्यो पनि पूरा लागिसकेको रहेनछ भन्ने पछिल्ला महोत्सवबाट थाहा हुन्छ । यस घटनापछि प्रतिष्ठानले केही सुधार अवश्य गरेको छ । जस्तो कि कविको पूरा हुलिया माग्न थालेको छ । निर्णायकहरूको नाम सार्वजनिक गर्न थालेको छ । प्रतिष्ठानकै कर्मचारीलाई प्रतियोगितामा सहभागी गराउन छाडेको छ तर पनि अझै विश्वसनीयता कायम गर्न भने सकेको छैन । प्रत्यक्ष कविता वाचन सुनेर निर्णय गर्ने परम्परा सुरु नगरुन्जेल यसमा सुधार हुन नसक्ने देखिन्छ । यसरी नै ‘भित्री सेटिङ’का सन्दर्भ आइरहनु, निर्णायक नजिकका पुरस्कृत भएका आलोचना भइरहनु, योग्य र क्षमतावान् निर्णायक भएनन् भन्ने आलोचना हुनु, पार्टी, लिंग र वर्गका आधारमा पुरस्कृत गरियो भनिइरहनु प्रतिष्ठानले सुधार गर्नुपर्ने अहं कमजोरी हुन् ।