जलाशययुक्त तनहुँ हाइड्रोको पीपीए सम्झौता

शिव दुवाडी/काठमाडौं।

१४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए)मा शुक्रबार हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको हो । तनहुँ जलविद्युत् आयोजना कुलेखानी निर्माण भएपछि पीपीए हुने पहिलो जलाशययुक्त जलविद्युत् आयोजना बनेको छ ।


जलाशययुक्त आयोजनाको पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले हस्ताक्षर गरे । पीपीएअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) मा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाम (१६ जेठ–१५ मंसिर) मा प्रतियुनिट ६ रुपैयाँ ८ पैसामा खरिद गर्नेछ । सो दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले आठपटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्था छ । आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुनेछ ।

२०१७ मै निर्माण सुरु गरेर २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य भए पनि आयोजनाको ठेक्का सम्झौता अझै भएको छैन । आयोजनाले विद्युत् उत्पादन गरेपछि चितवनस्थित सबस्टेसनमा पु¥याइनेछ । त्यसका लागि २२० केभीको प्रसारण लाइन पनि आयोजनाले नै बनाउनेछ । १८ किलोमिटर क्षेत्रफलमा आयोजनाको जलाशय फैलिनेछ । उक्त जलाशयमा २९ करोड ५१ लाख लिटर पानी भण्डारण गर्न सकिनेछ । आयोजनाको बाँध १४० मिटर अग्लो हुनेछ ।
आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिएको छ । यसअघि डिसेम्बर २०२२ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पीपीएको सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन कम हुन्छ त्यही समयसम्म कायम रहने बताइएको छ ।
आयोजनाको सुख्खा र वर्षायामको क्रमशः १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ । व्यापारिक उत्पादन सुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिक रूपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा ऊर्जाको खरिद दर समायोजन गरिने व्यवस्था गरिएको छ ।

कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको ऊर्जाको ३५ प्रतिशतभन्दा कम भएमा उक्त वर्षका लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध जलाशययुक्त आयोजनाका लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था गरिएको छ ।
प्राधिकरणले अर्ध जलाशययुक्त आयोजनाका लागि सुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमशः १० रुपैयाँ ५५ पैसा र ४ रुपैयाँ ८० पैसा खरिद दर निर्धारण गरेको छ । प्राधिकरणले व्यापारिक उत्पादन सुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको उर्जा खरिद गर्नुपर्नेछ ।
आयोजनाले सम्झौताभन्दा धेरै ऊर्जा उत्पादन गरेमा ५० प्रतिशत मूल्य घटाएर प्राधिकरणलाई बेच्नेछ । आयोजनाको मुख्य संरचनाको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट तनहुँ जिल्लाको ब्यास नगरपालिकासहित भीमाद, छाङ, माझकोट, रिसिङ, कोटदरबार, जामुने, साभुङलगायतका क्षेत्र प्रभावित हुनेछन् ।

आयोजनामा जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका), एसियाली विकास बैंक (एडीबी), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) र नेपाल सरकारको संयुक्त लगानी रहेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यद्यपि अमेरिकी डलरको विनिमय दर बढेका कारण आयोजनाको लागत बढ्ने अनुमान गरिएको छ ।
यसमध्ये एडीबीले १५ करोड डलर, जाइकाले साढे १८ करोड डलर र ईआईबीले ८ करोड ५० लाख डलर ऋण उपलब्ध गराउनेछन् । यस्तै, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । नेपालको उर्जा संकट निवारणका लागि यस किसिमका जलाशययुक्त आयोजनाको महŒवपूर्ण भूमिका रहन्छ ।