आईएमई पे र टुटलबीच सम्झौता

काठमाडौं/रास– टुटलका सेवाग्राहीले आफूले प्रयोग गरेको यात्रा सेवा शुल्क अबदेखि ‘आईएमई पे’मार्फत भुक्तान गर्न सक्ने भएका छन् । टुटल सेवामार्फत सम्पर्कमा आएका यात्रु एवं चालकले कुनै पनि आईएमईका व्यावसायिक साझेदार वा ‘आईएमई पे’बाट सेवा शुल्क संकलन तथा भुक्तानी गर्न सक्ने छन् । सम्झौतापत्रमा ‘आईएमई पे’का तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले हस्ताक्षर गरेका हुन् ।  १३ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आईएमई पे आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्याैट विनियमावली, २०७२’ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने मुलुककै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको सो कम्पनीले जनाएको छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्ने छन्  । यसले व्यक्तिव्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तानी गर्ने कार्यमा सहयोग गर्ने सो कम्पनीले बताएको छ ।