निषेधितक्षेत्र तोडेपछि विवेकशील साझाका ९ जना पक्राउ

काठमाडौँ, १६ असार । विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले विवेकशील साझा पार्टीका संयोजक उज्वल थापासहित ९ जनालाई नियन्त्रणमा राखेको छ ।

नियन्त्रणमा लिएर हिरासतमा राखिएको संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् । माइतिघरमा निषेधित क्षेत्र तोडेपछि पक्राउ गरिएको हो । पार्टीका नेता–कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

‘बिनाकारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुन्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो,’ मिश्रले फेसबुकमा लेखेका छन् । सरकारले विरोध प्रदर्शनका लागि ७ वटा स्थान तोकेर अन्यत्र यस्तो कार्य गरेमा कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।