विपद् सतर्कता बढाऊ

विपद् सतर्कता बढाऊ

यस वर्षको मनसुन सक्रिय हुँदा देशभर अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन निरन्तर वर्षा जारी रहने सम्भावना छ । भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । ठाउँ ठाउँमा वर्षाका कारण पहिरो गएको छ । पहिरोमा बस्तीहरू डुबेका छन् । बाढीले गाउँबस्ती नै बगाएको छ । सडक आवागमनमा अवरोध खडा हुँदा हजारौ यात्री बीचबाटोमै अलपत्र परेका छन् । अविरल वर्षाले विभिन्न सहर जलमग्न बनेका छन् । यतिखेर अविरल वर्षा सास्ती बनेर उभिएको छ ।
आइतबार र सोमबार परेको झरीमा परी निधन हुनेको संख्या दर्जन नाघिसकेको छ । यो क्रम बढ्न सक्छ । यसपाली मात्रै बाढी र पहिरोका कारणले झन्डै तीन सयको ज्यान गइसकेको छ । बाढी पहिरोमा परी बर्सेनि हजारौंको निधन हुने गरेको छ । अविरल वर्षा, बाढी, पहिरो मावनीय क्षमताभन्दा बाहिरको कुरा हो । तर समयमै सचेतता अपनाउन सकियो भने यसबाट हुन क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । गम्भीर हुनुपर्ने कुरा नै यही हो । बाढीबाट बच्नका लागि पूर्वतयारी र सचेतना भएमा धनजनको क्षतिलाई कम गर्न सकिन्छ ।

मानवीय अतिक्रमणका कारण धेरै ठाउँमा पहिरोको जोखिम बढाउने काम भइरहेको छ । पर्याप्त प्राविधिक अध्ययनविना मनलाग्दी हिसाबले विकास निर्माणका संरचनाहरू खडा गर्ने लहरले पनि नेपालका पहाडी क्षेत्रलाई पहिरोको मुखमा पु¥याउनु काम गरेको छ । प्राकृतिक सन्तुलनलाई बेवास्ता गरी जथाभावी वन फडानी गर्नाले धेरै भूभागमाथि अन्याय भएको छ । यसले पनि प्राकृतिक विपत्ति निम्त्याउने काम गरिरहेको छ ।
अविरल वर्षा भइरहेको यो बेला जुनसुकै भागमा जेसुकै पनि हुन सक्छ । यस्तो अवस्थामा सरकारले उद्धार र राहतका लागि खडा गरिएका सबै संयन्त्रहरूलाई ‘अलर्ट’ राख्नुपर्छ । यसका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था हुनुपर्छ । स्थानीय प्रशासन चनाखो भएर परिस्थितिलाई हेर्नुपर्छ । आपत आइलागेको स्थानमा तत्काल टोली परिचालनका लागि तम्तयारी अवस्थामा राख्नुपर्छ । यसअघिका थुप्रै घटनाहरूमा तत्काल उद्धार टोली पठाउन नसक्नाले धेरैले ज्यान गुमाउनुपरको तीतो अनुभव छ । यसबाट पाठ सिकेर त्यस्ता कमीकमजोरी दोहोरिन नदिनु बुद्धिमानी हुनेछ ।

यतिखेर सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो । सानोतिनो भूमिकाका लागि पनि केन्द्रको मुख ताकेर बस्नाले अनावश्यक रूपमा क्षति बेहोर्नुपर्ने स्थितिको अब अन्त्य हुनुपर्छ । यसर्थ स्वाभाविक रूपमा यस्तो आपतविपतका बेला उसको उपस्थिति र सक्रियता बढी अपेक्षित हुन्छ । उद्धार र राहतका लागि आवश्यक सबै सामग्रीको जोहो गरी स्थानीय सरकार चनाखो भएर रहनुपर्छ

यसैगरी देशभर स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू पनि सक्रिय हुनु आवश्यक छ । प्राकृतिक विपत्तिकै कारणले नागरिकले दुःख नपाओस् भन्नेमा उनीहरूको ध्यान जानुपर्छ । यतिखेर सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो । सानोतिनो भूमिकाका लागि पनि केन्द्रको मुख ताकेर बस्नाले अनावश्यक रूपमा क्षति बेहोर्नुपर्ने स्थितिको अब अन्त्य हुनुपर्छ । यसर्थ स्वाभाविक रूपमा यस्तो आपतविपतका बेला स्थानीय जनप्रतिनिधिको उपस्थिति बढी अपेक्षित हुन्छ । उद्धार र राहतका लागि आवश्यक सबै सामग्रीको जोहो गरी स्थानीय सरकार चनाखो भएर रहनुपर्छ । जोखिमयुक्त बस्तीहरूमा स्थानीय नागरिकलाई पूर्व सचेत गराउन सक्दा पनि क्षति घटाउन सकिन्छ । यसपालीको वर्षायाम बल्ल सुरु भएको छ । मध्ये झरी अझै बाँकी छ । यस्तोमा थप सचेतताको खाँचो छ । बाढी पहिरोकै कारणले हरेक वर्ष धनजनको क्षति बेहोर्नुपर्ने नियति रोक्न सबै तहबाट पर्याप्त तयारी गर्न सक्नुपर्छ ।