तपार्इं कति धनी ?

तपार्इं कति धनी ?

 

अलेक्जेन्डर महान् विश्व विजय गर्दै भारतसम्म आइपुगेका थिए । भारतबाट फर्कन लाग्दा त्यहाँबाट सोभिनियरको रूपमा एक ज्ञानी सन्त लैजाने उनले विचार गरे र आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरू खोज्दै डन्डामिसको झुपडीमा पुगे । र सम्राटले बोलाएको कुरा राखे ।

डण्डामिस एक महान् सन्त थिए । उनलाई कुनै कुराको लोभ थिएन । त्यसर्थ उनले जान इन्कार गरे । सैनिकले धेरै प्रयास गर्दा पनि डन्डामिस जान नमानेपछि स्वयं अलेक्जेन्डर त्यहाँ पुगे र भने, ‘म आधा राज्यको सम्राट हुँ, मसँग हिँड्नुहोस् ।’ यो सुनेर डण्डामिसले भने, ‘सम्राट अरे, हेर्दा त तँ भिखारी देखिन्छस् नि ?’

यो वाक्य सुनेर सम्राट रन्थनिए । यद्यपि आफूलाई सम्हाल्दै उनले च्याप्प डण्डामिसको हात समातेर भने, ‘मलाई भिखारी त भन्नुभयो, अब प्रमाणित गरेर देखाउनुस्, अन्यथा म जे पनिगर्न सक्छु ।’

डण्डामिस हाँस्दै भने, ‘सत्यलाई प्रमाणित गर्नु कुन ठूलो कुरा भयो र ? सोच्नुस्, मानौं तपाईं र म मरूभूमिमा हरायौं, तपाईंका सेना, तपाईंका मान्छे सबै हराए । कयांै दिनसम्म खान पाइएन । पानीसमेत पिउन पाइएन ।

त्यस्तो अवस्था जहाँ अर्को एक घण्टा पनि पानी पिउन पाउनुभएन भने तपाईं मर्नुहुन्छ । तपाईं पानी, पानी, भन्दै तड्पिरहनुभएको छ । त्यो अवस्थामा मैले एक लोटा पानी लिएर दिएँ भने त्यसको बदलामा के दिनुहुन्छ मलाई, भन्नुहोस् त ?’

सिकन्दर सोचमग्न भए र जवाफ दिए, ‘म सम्राट हुँ, जे पनि दिन सक्छु, त्यहाँ एक लोटा पानी भनेको पानी मात्र नभएर जिन्दगी हो ।’ उनले अझै सोच्दै भने ‘म एक घण्टापछि मर्छु, पानीबिना…’ तर त्यो घण्टा पनि घट्दै थियो । अनि उनले हाँस्दै भने, ‘म आधी राज्य दिन्छु । नत्र मरिन्छ’ भन्ने उनलाई थाहा थियो । तर डण्डामिसले लोटालाई घोप्ट्याउँदै भने, ‘अहँ आधी राज्यले पाइँदैन पानी, भन्नुस् के दिनुहुन्छ ?’

हाय, सबै पानी पोखिरहेको छ । उनी साह्रै निरीह बने । धेरै सोचे र सम्हालिदै भने, ’पानी सकिँदै छ । मेरो मृत्यु नजिकिँदै छ, जम्मा आधी घण्टा…’ सिकन्दर कम थिएनन् उनले भने, ’म एक लोटा पानीका लागि मेरो जीवनभर कमाएको सारा राज्य दिन्छु ।’

डण्डामिसले हाँसेर भने, ‘महाराज, मैले अघि नै भनेको होइन ? तपाईं भिखारी हुनुहुन्छ । जीवनभर कमाएको सम्पत्ति त एक लोटा पानी बराबर प्रमाणित भएन त ?’

सिकन्दर राजाहरूका राजा, एक जना भिखारीकासामु खुट्टा समाउन झुके उनी । उनले भने, ‘यो सिकन्दर नभएको भए तपाईंको चेलो बन्थ्यो…। उनले मर्नुअघि सबैलाई भने, ‘म मरेपछि मेरो हात अर्थीबाट बाहिर निकालिदिनू । उनको मृत्युमा त्यसै गरियो । अर्थीबाट हात लमतन्न बाहिर निकालियो । सबै अचम्म परे । उनको यो अन्तिम सन्देश थियो, ‘उनले सम्पूर्ण संसारलाई जिते तर मरेर जाँदा उनी रित्तो हात फर्किरहेका छन् । यो कुरा सबै मान्छेहरूले बुझून् ।