नागरिक शिक्षा चेतनाको स्रोत

नागरिक शिक्षा चेतनाको स्रोत

रमेशप्रसाद गौतम

शिक्षित सभ्य र सिर्जनशील नागरिकबिना देशको विकास सम्भव हुँदैन । नागरिक शिक्षाले नै प्रजातान्त्रिक आचरण, आपसी सद्भाव र सामाजिक दायित्वको बोध हुने हो । असल शिक्षाले सभ्य, सुसंस्कृत र शालीन व्यवहार निर्माणमा मद्दत पु¥याउँछ । हरेक नागरिकलाई व्यक्ति, घर, परिवार, समुदाय समाज र राष्ट्रिय जीवनको यथार्थ जानकारी नभई हुँदैन । यसो भएपछि मात्र व्यक्तिले आफू र आफ्नो समाजको यथार्थ थाहा पाउँछ ।

समाजको सदस्यका हैसियतले मानिसले मिलेर बस्न सिक्छ । हरेक नागरिकले यस्ता व्यावहारिक पक्षको ज्ञान र सिप नागरिक शिक्षाको स्रोतबाट नै प्राप्त गर्ने हुँदा नागरिक शिक्षालाई जीवनको अभिन्न अंगका रूपमा स्वीकार गरिएको छ । आज स्कुलमा अध्ययनरत बालबालिका भोलिका समाज निर्माणका बाहक हुन् । यिनलाई देशको भविष्य पनि भनिन्छ । आजका बालबालिकाले भोलि देशको विभिन्न तह, तप्का क्षेत्र र राज्यको ठूलो जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । आज सिकेका ज्ञान र सिपका आधारमा नै भोलिको जिम्मेवारी बहन गर्ने हुन् । आज राम्रो शिक्षा दिनसके मात्र भोलिको भविष्य राम्रो हुने हो ।
अहिले हाम्रो समाजमा लोकतान्त्रिक आचरण र व्यवहारको अभावले गर्दा प्रजातान्त्रिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन । नेपालको समाजिक राजनीतिक वस्तुस्थिति तथा परिवर्तनका मोडहरू सकरात्मक ढंगले अघि बढ्न सकेनन् । लोकतान्त्रिक सुदृढीकरण र दिगो विकासका कुरा अझै न्यून र अनिश्चित देखिँदै आएको छ । नागरिक समाजको महŒव र उपयोगिता कम देखिन थालेको छ । नागरिकमा समीक्षात्मक चेतनाको स्तर ज्यादै कमजोर भान हुँदै छ । नागरिक अन्तरनिहित प्रज्ञालाई उजागर गराउने शिक्षा पनि हामीले दिन सकेनौं । राजनीतिले पनि आफ्नै निहित मान्यता, धारणा, विचार वा मन लाद्ने काम मात्र गरेका छन् । साझा सोच र साझा चासोका विषय कमैले ध्यान दिने गरेका छन् । राष्ट्रिय विषयवस्तुमा भन्दा निहित दलगत स्वार्थमा रमाउने प्रवृत्तिले मलजल पाएको छ । हाम्रो समाजका स्वयंसेवी, समाजसेवी, व्यक्ति, विकासवादी शिक्षक प्राध्यापकका साथै राजनीतिकर्मी सबैमा लोकतान्त्रिक संस्कार र संस्कृतिको अवधारणाबारे यथोचित ज्ञान हुनु जरुरी छ ।

लोकतान्त्रिक शासन पद्धतिमा सक्रिय रूपमा भाग लिन सिकाउने शिक्षा नै नागरिक शिक्षा हो । मानिस स्वभावैले सामाजिक प्राणी भएकाले ऊ आफ्नो समाजको सदस्य हुन्छ । यसको अर्थ हरेक नागरिक लोकतान्त्रिक समाजको सदस्य हो । त्यहाँ नागरिकले रचनात्मक सोच र विचार राखी समीक्षात्मक दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्छ । साथै अरू आज्ञा आदेश वा माग बुझी ठीक बेठीक के हो बुझी स्विकार्ने वा अस्विकार्ने बानी सिकाउने शिक्षा नै नागरिक शिक्षा हो । मानिसको जीवनका विभिन्न पक्षमध्येको अत्यन्त महŒवपूर्ण पक्ष भनेको नै राजनीति हो । यसलाई सही रूपले बुझ्न र राजनीतिलाई सुदृढीकरण गरी व्यावहारिक अभ्यासमा उतार्न नागरिक शिक्षाको मद्दतबाट मात्र सम्भव हुन्छ । विद्वान् ब्रान्सका अनुसार लोकतन्त्रमा राजनीतिको खेल खेलिए पनि यस खेलमा कसैको हार जित नभई शक्ति, स्रोत र उत्तरदायिŒवलाई सबै ठाउँमा समानुपतिक ढंगले बाँड्न सकेमा सबैको जित हुने हो । अहिले राजनीतिलाई सक्भावनाको खेल भनि पुष्टी गर्न खोजिएको छ । नागरिक शिक्षाले यही राजनीतिक खेलको यथार्थ सैद्धान्तिक र व्यावहारिक जटिलताबारे ज्ञान दिलाउँछ । कयौं विकासोन्मुख मुलुकले राजनीतिक खेल खेल्दा गम्भीरतापूर्वक सोची कदम नचालेकाले लोकतान्त्रिक संस्कार र संस्कृतिको अवमूल्यन भइरहेको छ । यसको मूलकारण राजनीतिकको नियम नबुझ्दा नै हो । राम्ररी नबुझेमा राजनीतिक खेल खेल्न नसक्ने हुँदा राजनीतिक जटिलतालाई सुल्झाउन नागरिक शिक्षाको बोध हुनु जरुरी छ ।

नेपालमा २०६२÷६३ को जनआन्दोलनपूर्व तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीचको १२ बुँदे समझदारीका आधारमा भएको थियो । यही समझदारीले आन्दोलन सफल भई लोकतन्त्र स्थापना भएको पनि १२ वर्ष पुगिसकेको छ । उक्त १२ बँुदे समझदारीले निर्दिष्ट गरेका अधिकांश कार्यभार पूरा भएका छन् । विभिन्न तहका निर्वाचन पनि सम्पन्न भई संघीय संविधान कार्यान्वयनको चरण प्रवेश गरिसकेको छ । लोकतन्त्रले आमनागरिकमा सुशासन विकास र आर्थिक समृद्धिको आकांक्षा जगाएर पनि व्यवहारमा साकार हुन सकिरहेको छैन । संविधान निर्माण, राज्य पुनःसंरचना, परिवर्तित शासकीय प्रणालीअनुरूप सम्पन्न निर्वाचन भई सबै तहका जनप्रतिनिधिको बहाली भई स्थानीय, प्रदेश र केन्द्रीय सरकारको समेत गठन भई कार्य दिशातर्फ उन्मुख छ । तर, राजनीतिक वृत्तमा देखिएका व्यक्तिगत, दलगत स्वार्थ केन्द्रित राजनीतिक गतिविधिले आमनागरिकमा निराशा र कुण्ठा मात्र उपलब्धि ठान्न थालेका छन् । मुलुकमा व्याप्त भ्रष्टाचारलगायत अनियमित र अनुचित क्रियाकलापले बढावा पाइरहेको छ । जनताले चाहेको राजनीतिक रुपान्तरण केवल अहिलेसम्म आशातित नै रहेको छ । जनताको निर्वाचित सरकार र राजनीतिक दलको गतिविधिले विश्वास लिन सकिरहेको छैन । हाम्रो सरकार र राजनीतिक दलमा लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा ठोस प्रतिबद्धता देखिँदैन । हरेक राजनीतिक नेता र कार्यकर्तामा लोकतान्त्रिक आदर्शका बारेमा उचित ज्ञान र सिपको विकास गराउन सकेमात्र लोकतन्त्र दिगो र मजबुत बन्न सक्छ । लोकतान्त्रिक चेतनाबिनाको समाजमा स्वतन्त्रताको वास्तविक सदुपयोग हँुदैन । चेतनशील नागरिक सहभागिताबाट मात्र मानवअधिकार, कानुनी शासन र उत्तरदायी कार्य हुन सक्छ । नागरिक चेतनाको स्तर वृद्धिका लागि पनि नागरिक शिक्षा नभइनहुने विषय हो ।

अहिले हाम्रो समाजमा लोकतान्त्रिक आचरण र व्यवहारको अभावले गर्दा प्रजातान्त्रिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन। नेपालको समाजिक राजनीतिक वस्तुस्थिति तथा परिवर्तनका मोडहरू सकारात्मक ढंगले अघि बढ्न सकेनन्। लोकतान्त्रिक सुदृढीकरण र दिगो विकासका कुरा अझै न्यून र अनिश्चित देखि“दै आएको छ

लोकतन्त्रमा प्रभावकारी सहभागिता अत्यन्त महŒवपूर्ण पक्ष हो । यहाँ कुनै संगठनले आफ्नो नीति निर्धारण गर्नुपूर्व सो नीति के हो ? कुन प्रयोजनका लागि हो ? यसमा के हुनुपर्छ ? भन्ने विषयमा सबै आफ्ना संगठनका सदस्यलाई आ–आफ्नो धारणा र विचार राख्ने अवसर प्रदान गरिनुपर्छ । ठीक ढंगले आफ्नो मतसमेत जाहेर गर्न मौका दिनुपर्छ । मतगणना गर्नुपर्ने अवस्थामा सबै मत बराबरी रूपमा गणना हुनुपर्छ । यस किसिमले लोकतान्त्रिक अभ्यास तल्लो निकायदेखि सर्वोतम निकायसम्मका गतिविधि क्रिययाकलापमा स्वतन्त्र ढंगले लागू गर्न सक्नुपर्छ । हरेक संगठनका गतिविधिको सञ्चालनमा सबै सदस्य राजनीतिक रूपमा समान हुन्छन् । यी सबै लोकतान्त्रिक परिपाटी मुताविक नै चल्ने चाहना पनि राख्छन् ।

आमनागरिकले सरकारका बारेमा कुरा गर्दा आफू जहाँ बसेका छन् । त्यो ठाउँ आफ्नो अधिकार क्षेत्र हो र त्यो सम्बन्धित राज्यका सरकार जो सीमित भूभागमा बसोबास गर्ने जनताउपर आफ्नो क्षेत्राधिकार मान्दै आएको ठानिन्छ । केही दशक अघिसम्म पनि मानवजातिको ठूलो संख्या अप्रजातान्त्रिक शासकहरूका अधिनमा थिए । यी अप्रजातान्त्रिक शासनका प्रमुखहरू त्यही पुरानो अप्रजातान्त्रिक शासनलाई नै उत्तम शासन भन्न पछि पर्दैनथे । यस्ता पुराना धारणा अझै कतिपय अल्पविकसित मुलुकमा कायम छ । यहाँ समाज वैज्ञानिक एलेक्स डी टविभिलले भनेझैं हरेक नयाँ पिडी नयाँ जनता भएकाले उनीहरूले व्यक्तिगत तथा सामाजिक जीवनका गुण तथा अवगुणलाई राम्ररी छुट्टाएर जीवनमा उतार्न सक्छन् । वास्तवमा यी कुरा जीवनका सदगुणहरूको सिकाइका निरन्तर प्रक्रिया पनि हो । आदर्श र सफलीभूत जीवनका हरेक पाटालाई सूक्ष्म विश्लेषण गरी जीवनोपयोगी ढंगले अघि बढाउन नागरिक शिक्षाको माध्यमले नै सम्भव गराउँछ । हरेक नागरिकलाई लोकतान्त्रिक आदर्शबारेको ज्ञान र सिप प्रदान गरी कुशल राजनीतिक संस्कारको विकास पनि नागरिक शिक्षाले नै गराउँछ ।

राजनीतिमा सामान्य भनाइ छ, राजनीतिमा देश र जनताको चाहना त्यहाँ प्रतिबिम्बित हुन्छ, जहाँ राजनीतिक दलहरूले सही ढंगले नेतृत्व लिन सक्छन् । यस्ता दलहरूले संयुक्त रूपमा आफूलाई राष्ट्रिय हितमा समर्पित गराएका हुन्छन् । हाम्रा नामधारी नेताबाट जनताका काम विरलै भएका छन् । जनताले कुरा होइन, काम चाहेका छन् । व्यवस्थित योजना कार्यान्वयन खोजेका छन् । विकास र समृद्धि जनताको घरदैलोमा पु¥याउने नेता चाहेका छन् । सर्वत्र गुणस्तरीय सेवा खोजेका छन् । राजनीतिक नैतिकता, इमानदारी, उत्तरदायित्व नभएमा नेता केवल ढोंगीहरूको जमात मात्र हुन्छ । लोकतान्त्रिक पद्धति, विधि र प्रक्रियाबाट बनेको सरकार जनताको वा नागरिक सरकार हो । त्यो सरकार एउटा दल विशेषको मात्र नभएर समग्र देशको सरकार भएकाले सरकारमा बसुन्जेल सम्पूर्ण देशवासीकै सेवा गर्नुपर्छ । त्यहाँ कुनै पक्षपातपूर्ण कार्य हुनुहुँदैन । लोकतन्त्रमा बहुमतले शासन गर्ने भएता पनि अल्पमतको कदर गर्नैपर्छ । अल्पमत रहेको प्रतिपक्षको पनि लोकतान्त्रिक व्यवस्था महŒवपूर्ण भूमिका हुन्छ । नागरिक शिक्षाले सत्तापक्ष र प्रतिपक्ष दुवैको दायित्व बोध गराउँछ । सबैले राजनीतिक प्रणालीबारे यथार्थ ज्ञान हासिल गर्न नागरिक शिक्षालाई प्रभावकारी स्रोतका रूपमा स्विकार्नुपर्छ ।

(गौतम शिक्षाविद् हुन्)