राजपा नेपाल राजनीतिक समिति बैठकः बिधान टुंग्याउने जिम्मा अध्यक्ष मण्डललाई

राजधानी समाचारदाता
काठमाडौं
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) को राजनीतिक समिति बैठकले पार्टीको बिधान, संसदीय दलको बिधान लगायतका महत्वपुर्ण बिषयमा सुझाव दिदै त्यसलाई अन्तिम टुंगो लगाउँने जिम्मा अध्यक्ष मण्डललाई दिएको छ ।
तीन दिन देखी पार्टी केन्द्रीय कार्यालयमा जारी राजनीतिक समिति बैठक शनिबार समापन गर्दै बैठकले अध्यक्ष मण्डललाई जिम्मेवारी दिएको हो ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले बैठकमा पार्टी र संसदीय दलको बिधान, महाधिबेशन तयारी लगायतका बिषयमा छलफल भएको बताए । छलफलका क्रममा नेताहरुले महत्वपुर्ण सुझाव दिदै सो सम्बन्धमा अन्तिम टुंगो लगाउँन अध्यक्ष मण्डललाई नै जिम्मा दिने निर्णय भएको उनले बताए ।
‘तीन दिन देखी जारी राजनीतिक समितिको बैठक सम्पन्न भएको छ, नेताहरुले महत्वपुर्ण सुझाव दिनुभएको छ’ मण्डलले भने, ‘सो सुझावहरुलाई समेटदै अब अध्यक्ष मण्डलले नै अन्तिम निर्णय गर्नेछ ।’
पार्टीको बिधानमा अब हुने एकता महाधिबेशन बहुपदिय व्यवस्था अनुसार गर्ने र अध्यक्ष मण्डल खारेज गर्ने सुझाव नेताहरुले दिएका छन् । राजनीतिक समिति सदस्यहरुले दिएका सो सुझाव बिधानमा राख्ने की न राख्ने त्यसको अन्तिम निर्णय अब अध्यक्ष मण्डलले नै गर्नेछ ।
एक नेताका अनुसार अध्यक्ष मण्डल असफल भएकाले सो व्यवस्था खारेज हुनैपर्ने बताए । अधिकांश नेताहरुले समेत अध्यक्ष मण्डल खारेज हुनुपर्ने सुझाव दिएकाले सो व्यवस्था पुन बिधान गरिए त्यसलाई अस्वीकार गरिने उनले बताए । यसैगरी बैठकमा पार्टीमा केन्द्र देखी गाउँसम्म ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित हुने व्यवस्था हुनुपर्ने माग पनि उठेको छ ।
यसैगरी संसदीय दलको नेता लगायतका पदाधिकारी छनौट गर्न नसकेको राजपा नेपालले दल नेता कहिले छान्ने अन्योल बढदै गएको छ । राजनीतिक समितिमा दलको बिधान पारित गर्दै नेता लगायतका पदाधिकारी छनौट गर्ने एजेण्डा राखिए पनि त्यसरी हुन सकेन् । दलको नेता छनौट गर्ने पटक पटक बसेको अध्यक्ष मण्डलको बैठक असफल भए पनि पुन सो कार्य अध्यक्ष मण्डललाई नै दिए पछि नेता छनौट अन्योलमा परेको हो ।