नेता पुल्पुल्याउने जनता

नेता पुल्पुल्याउने जनता


पवन मधुश्री

‘जापानमा रेल यात्रामा रहँदा सँगै रहेका एकजना जापानी युवासँग त्यहाँका प्रधानमन्त्रीको नाम उच्चारण गरेर उनका विषयमा कुरा गर्न खोजेँ । नाम सुन्ने बित्तिकै ती युवाले उहाँ हाम्रो कम्पनीको कुन विभागमा काम गर्नुहुन्छ ? भनेर उल्टै प्रतिप्रश्न गरे । मैले ‘उहाँ कम्पनीमा होइन, राजनीतिमा काम गर्नुहुन्छ र हाल उहाँ तपाईँको देशको प्रधानमन्त्री हुनुहुन्छ’ भनेर प्रष्ट्याएँ । ती युवाले चिन्न त परै जाओस् नाम नै पहिलोचोटि सुनेको भनेपछि मेरो आश्चर्यजनक मनोविज्ञान थाहा पाएर झर्केर भने, ‘जब आफ्नै योग्यता र सीपले मेरोे जीवन सकुशल चलिरहेको छ भने किन मैले राजनीतिमा काम गर्ने मान्छेलाई चिनिराख्नु प¥यो र ?’
माथिका उदगारहरू कुनै समय पत्रकार विजय पाण्डेद्वारा अभिव्यक्त संवादका अंशहरू हुन् । विश्व महाशक्ति अमेरिकाका ४४ औं राष्ट्रपति बाराक हुसैन ओबामा २० जुन, २०१७ मा सेवा निवृत्त हुने भएपछि स्पोटिफाई नामको एउटा निजी कम्पनीमा काम गर्ने ईच्छा गरे । ओबामाको योग्यताले कम्पनीको मापदण्ड पूरा गर्छ वा गर्दैन बुझ्न स्पोटीफाइका सीईओ डेनियल इकले ९ जुन, २०१७ मा उनलाई कम्पनीको वेबसाइट हेर्न अपिल गर्दै ट्वीट गरे । ओबामा पदमा आसिन रहँदा उनको जीवनशैली सामान्य देखिन्थ्यो । दर्किरहेको पानीमा छाता ओडेर हिँडिरहेको, रेष्टुरेण्टमा लञ्चका लागि लाइनमा पर्खिरहेको, वासिङटनको गल्लीमा सपिङ गरिरहेको, तरकारी बजारमा किनेको फर्सी हातेगाडामा राखेर आफैँले घिसारिरहेको लगायत ओबामाका जनमैत्रीे उपस्थितिका भिडियोहरू युट्युबमा अझै भेटिन्छन् । सन् २०१६ मा अमेरिकाको मार्था विनेडास्थित एउटा रेष्टुरेण्टमा उनकी कान्छी छोरी साशाले काम गरिरहेको समाचारसमेत चर्चित बन्यो ।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुत्ते साइकल चढेर कार्यालय जाने आउने गर्छन् । १५ अक्टुबर, २०१७ मा संयुक्त राष्ट्रसंघका लागि नेदरल्याण्डका स्थायी प्रतिनिधि क्यारेल वन वस्टिरमले साइकलमा सवार प्रधानमन्त्री मार्क रुत्तेको फोटोसहित उनी नयाँ सरकार गठनका विषयमा कुरा गर्न राजा विलियम अलेक्जेण्डरको दरबारमा पुग्नुभएको समाचार ट्वीट गरे । हालै एउटा रेष्टुरेण्टमा आफ्नो हातबाट कफी पोखिएपछि स्वयं आफैंले भुइँमा पोखिएको कफी सफा गरिरहेको रुत्तेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ट्रान्सप्यारेन्सी इन्टरनेशनलका अनुसार उरूग्वे ल्याटिन अमेरिकी देशहरूमा सबैभन्दा कम भ्रष्टाचार हुने र सबैभन्दा उच्चमानव विकास सूचकांक देश हो । सन १६८० देखि पोर्चुगलको उपनिवेशमा रहेको उरुग्वे १८२५ यता स्पेन, अर्जेन्टिना र ब्राजिलको उपनिवेशविरुद्ध पटकपटक युद्ध झेलेर १९२८ मा स्वतन्त्र भएको देश हो । यस्तो समृद्ध देशका पूर्वराष्ट्रपति जोसे मुजैका संसारकै गरिब राष्ट्र प्रमुखका रूपमा परिचित छन् । उनले चाहेका भए राष्ट्रले विलासी जीवनको सुख दिन सक्थ्यो । तर जोसेले राज्यबाट प्राप्त सुविधाको ९० प्रतिशत गरिब असहायको कल्याणमा लगानी गर्दै आफू कुखुरापालन गरेर सामान्य जीवन व्यतीत गरिरहेका छन् । संसारले सबैभन्दा गरिब राष्ट्रपति भने पनि उनी स्वीकार गर्दैनन् र भन्छन्, ‘म सबैभन्दा गरिब राष्ट्रपति होइन, बाँच्नलाई धेरै चाहिने मानिस सबैभन्दा गरिब हो । मेरो जीवनशैली मेरा घाउहरूको प्रतिफल हो । म मेरै इतिहासको पुत्र हँु । म एउटा चकटी मात्रमा रमाउन थालेको वर्षौँ भइसक्यो ।’
नेल्सन मण्डेला संसारमै सबैभन्दा लामो समय राजनीतिक बन्दी जीवन व्यतीत गर्ने विश्वका सम्मानित नेता हुन् । रंगभेदविरूद्ध सतिसालझैं अविचलित मण्डेला रंगभेदी स्वेत शासनको बर्को च्यातेर सन् १९९४ मा दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भए । दक्षिण अफ्रिकी जनताका लागि दोस्रोपटक पनि निर्विकल्प बनेका मण्डेलाले लोकतान्त्रिक पद्धतिका लागि नेतृत्व विकास र सत्ता हस्तान्तरणलाई अनिवार्य शर्त मानेर राजनीतिक सन्यासको घोषणा गरेर दोस्रो पुस्तालाई स्थान दिए । उनको त्याग र प्रजातन्त्रप्रतिको निष्ठा विश्वसमुदायका लागि अनुकरणीय मानिन्छ ।

मान्छेमा अन्तरनिहित मनोवैज्ञानिक स्वभाव यस्तै ससाना क्रियाकलाप तथा हाउभाउबाट अभिव्यक्त हुन्छ । आफूलाई ठूलो ठानेर आफ्नो वैयक्तिक जीवनको भारी अरू कसैलाई सानो मानेर बोकाउनु सामन्तवादी अहंकार हो, जुन नेपालका लगभग सबै नेता र ब्यूरोक्याटहरूमा पाइन्छ

छिमेकी देश भारतका पूर्वराष्ट्रपति (२००२) अब्दुल कलाम सेवा निवृत्त हुँदाको बखत दुई ट्रक आफ्ना निजी पुस्तकबाहेक राज्यबाट कुनै सुविधा नलिई घर फर्के । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छाता ओडेर मुसलधारे वर्षामा हिँडिरहेका तस्बिर सञ्चारमाध्यममा देखिन्छन् । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पका पनि सरल उपस्थितिका तस्बिर र भिडिओ देखिन्छन् । स्वीटजल्याण्ड, डेनमार्क र जापानजस्ता विकसित देशहरूका राष्ट्रपतिको जीवनशैली त्यहाँका नागरिकको भन्दा खासै भिन्न देखिँदैन । २०६३ मा कान्तिपुर टेलिभिजनको सरोकार कार्यक्रममा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालको रोचक संवाद छ, ‘म जापानका राजाको दरबार गएर उहाँसँग हात मिलाएर कुराकानी गर्छु तर आफ्नै देशको राजासँग मैले हात मिलाउन नहुने ?’
अष्ट्रेलियाको सांसद भवनभित्र विदेशी पर्यटकले फोटो सेसन गर्न सक्छन् । मेरा मित्र सागर गैरेले एक हप्ताअघि मात्रै कठोर कानुन मानिएको मुस्लिम देश साउदी अरबका राजाको दरबारको प्राङगणमा फोटो सेसन गरेर आफ्नो फेसबुक वालमा त्यहाँ सहज प्रवेशको वृत्तान्त लेखेका थिए । संसारका कैयौं देशका राष्ट्रप्रमुखको जनमैत्री जीवनशैली गुगल सर्चमा भेटिन्छन् ।

विडम्बना, नेपालका नेताहरूको जीवनशैली फरक छ । उनीहरूका प्रत्येक पाइलामा सामन्तवादी अहंकार भेटिन्छ । देशको शैक्षिक, स्वास्थ्य तथा राजनीतिक व्यवस्थाले नेपालका नेतालाई छुँदैन । रुँघा लाग्दा दिल्ली र टाउको दुख्दा समुद्रपार उपचार गर्न जानुलाई उनीहरू आफ्नो लोकतान्त्रिक अधिकार मान्छन् । उनीहरूका छोराछोरी युरोप, अमेरिका र अष्ट्रेलियाका महँगा विश्वविद्यालयमा अध्ययन गर्छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटमा दुई रोपनी जग्गामा दुईवटा सुविधा सम्पन्न घर छन् । अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भाडामा बने विलासी घर केही समयअघि निकै चर्चाको विषय बन्यो । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल दुवैको राजधानीमा सुविधा सम्पन्न महल छन् । खनाल डल्लुस्थित एक रोपनी जग्गामा ठडिएको चारतले घरका सम्पन्न मालिक हुन । उनका एक मात्र छोरा निर्भिक खनाल विज्ञान विषयमा अमेरिकाबाट स्नातकोत्तर हुन् । माधवकुमार नेपालको कोटेश्वरमा आठ आना जग्गामा बनेका दुईवटा सुविधासम्पन्न घर छन् । उनका छोरा सौरभ भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ हुन भने मेडिकल साइन्सको विद्यार्थी छोरी सुमन अमेरिकामा छिन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा करिब १२ रोपनी जग्गासहितको भव्य महलमा राजसी ठाँटको बसाइँ छ । छोरा जयवीरसिंह देउवा बेलायतमा अध्ययनरत छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको काठमाडौं बोहराटारमा सात रोपनी जग्गामा दुईतले घर छ । छोरा चिन्तन पौडेल भारतीय दूतावासको छात्रवृत्तिमा बेङ्लोरबाट कम्प्युटर इन्जिनियरिङ हुन् भने छोरी अनुजा र अवज्ञा अध्ययनको सिलसिलामा अमेरिका छिन् । बुबाको राजनीतिक विरासतकै कारण छोरा चिन्तन २०७१ मा गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका कार्यकारी उपाध्यक्षमा नियुक्त भएका थिए । कांग्रेसका अर्का नेता प्रकाशमान सिंहका छोरा प्रभावमान सिंह अस्ट्रेलियाबाट इकोनोमिक्समा स्नातकोत्तर हुन् । भारतीय दूतावासको सहयोगमा चेन्नाईमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका छोरा श्यामप्रसादको भारतमा ठूलो व्यापार व्यवसाय रहेको सुनिन्छ भने छोरी रितदीप्ति अमेरिका बस्छिन् ।

यी केही प्रतिनिधिमूलक दृष्टान्त मात्र हुन् । कुनै पनि पार्टीका कुनै पनि नेताहरूको पारिवारिक प्रोफाइल कोहीभन्दा कमजोर छैन । काठमाडौंमा घर नहुने र छोराछोरी विदेश नपढाउने पार्टीका केन्द्रीय सदस्य औंलामा गन्न सकिन्छ । काठमाडौं घर नहुने जिल्लास्तरीय नेताको पनि तडकभडकशैलीको काठमाडौंमै व्यवस्थित बसाइँ देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति डा.रामवरण यादवले राजधानीमा दुई करोड मूल्य बराबरको महल हुँदाहुँदै सरकारी कोषबाट घरभाडा, गाडी र भौतिक सुविधा भोग गरिरहेका छन् । नेपालमा एकपटक प्रधानमन्त्री र गृहमन्त्री हुनेबित्तिकै आजीवन अगुवापछुवा सुरक्षा गार्डसहित राज्यकोषबाट भौतिक सुविधाको दान प्राप्त हुने थिति बसिसक्यो । हालै व्यवस्थापिका सांसदले पूर्व भिपिआईपीलाई सुविधा दिने विधेयक नै पारित गरेर राज्यकोषको दोहनलाई कानुनी मान्यता प्रदान गरेको छ ।

केही समयअघि नयाँ पुस्ताका आशालाग्दा नेता तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई एकजना सिपाहीले उनको कोटसमेत बोकेर सकी नसकी छाता ओडाइरहेको तस्बिर सार्वजनिक भयो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि यस्तै तस्विर सार्वजनिक भएको थियो । विषय सामान्य लाग्ला, तर मान्छेमा अन्तरनिहित मनोवैज्ञानिक स्वभाव यस्तै ससाना क्रियाकलाप तथा हाउभाउबाट अभिव्यक्त हुन्छ । आफूलाई ठूलो ठानेर आफ्नो वैयक्तिक जीवनको भारी अरू कसैलाई सानो मानेर बोकाउनु सामन्तवादी अहंकार हो, जुन नेपालका लगभग सबै नेता र ब्यूरोक्याटहरूमा पाइन्छ ।

हामी सामन्तवादी सत्ता ध्वस्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्छौं । पृष्ठभूमिमा महान् जनयुद्ध र मधेस आन्दोलनका बिगुलको ध्वाँस देखाउँछौं । लोकतन्त्र, समावेशिता, धर्म निरपेक्षता र समानुपातिक शासकीय स्वरुपलाई महान् उपलब्धिको रूपमा लिन्छौं । के साँच्चै सामन्तवादको अन्त भएकै हो त ? के समावेशिता र धर्म निरपेक्षताबाट हामीले महान उपलब्धि प्राप्त गर्दै छौं त ? अहँ दृष्टान्तमा टल्किरहेका तथ्यहरूले यी प्रश्नहरूको आशालाग्दो उत्तर दिँदैनन् । बरू तथ्यहरूले बोलिरहेका छन्ः नेताहरू राज्यकोषको ढुकुटीलाई निजी बपौती बनाउन निरपेक्ष विकासको भ्रम छरिरहन्छन् । उत्पादनमूखी उद्योगहरू लिलाम गरेर फलिफाप भएको उपभोगमुखी राजनीतिक उद्योग प्रालिबाट प्राप्त फल व्यावसायविना उकासिएको नेताहरूको जीवनस्तर र उनका काठमाडौँस्थित निजी घरमा देखिन्छ । तर पनि जनता नेतालाई भगवान मान्न अभिसप्त छन् ।